|

डडेल्धुरा : डडेल्धुराका दुईवटा अस्पतालमा आइसोलेसन वार्ड (अलग कक्ष) तयार गरिएको छ। 

कोरोना भाइरसको संभावित संक्रमण फैलिन नदिन र कोही संक्रमित भइहाले उपचार र रोकथामका लागि अलग कक्षा व्यवस्था गरिएको हो। जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ स्थित डडेल्धुरा अस्पताल र परशुराम नगरपालिका–१२ मा रहेको जोगबुडा अस्पतालमा अलग कक्षा व्यवस्था गरिसकिएको छ। 

जोडबुडा अस्पतालमा ३ बेड क्षमताको अलग कक्ष निमार्ण गरि आवश्यक औषधि पनि स्वास्थ्य कार्यालयले व्यवस्थापन गरिसकेको जनाएको छ। यस्तै जोगबुडा अस्पतालले खुल्लामञ्च अगाडिको दुई कोठे भवन र रेडक्रसको भवन आवश्यक तयारीका लागि खाली गरिएको अस्पतालका प्रमुख जितेन्द्र चौधरीले बताए।

सीमा क्षेत्रमा ‘'हेल्थ डेस्क'’

डडेल्धुराका दुई सीमा क्षेत्रमा स्वास्थ्य सहायता कक्ष ‘'हेल्थ डेस्क'’ स्थापना गरिएको छ। परशुराम नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढ्दै गएपछि नगर क्षेत्रका दुई ठाउँमा 'हेल्थ डेस्क' स्थापना गरेको हो। नगरपालिकाले स्वास्थ्य कार्यालय डडेल्धुरासँगको समन्वयमा नगरपालिकाको वडा नं ५ परिगाउँको बाङ्घाट र वडा नं ६ तातापानीको सिसमजाला घाटमा 'हेल्थ डेस्क'को स्थापना गरेको हो। 

सीमावर्ती क्षेत्रमा कडीकडाउ गर्नुका साथै स्वास्थ्य परीक्षण केन्द्र स्थापना भइरहेका बेला डडेल्धुराको भारतीय सीमासँग जोडिएका नाकामा कुनै पनि गतिविधि सञ्चालन भएनन् भन्ने जनगुनासो बढेपछि 'हेल्थ डेस्क' स्थापना गरिएको हो। 

भारतबाट नेपाल भित्रिने यात्रुहरुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको परशुराम नगरपालिका उपप्रमुख कलावती बोहराले जानकारी दिइन्। 'हेल्थ डेस्क'मा हाललाई एक–एकजना स्वास्थ्यकर्मी खटाइएको छ। आवश्यकताअनुसार थप जनशक्ति परिचालन गरिने उपप्रमुख बोहराले बताइन्।

सीमा नाकामा स्वास्थ्य परीक्षण केन्द्र स्थापना नभएको भन्दै दुखेसो गर्न थालेपछि परशुराम नगरपालिका उपप्रमुख कलावती बोहरा, प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने, सशस्त्र प्रहरीका डीएसपी भुवनराज पन्तलगायतको उपस्थितिमा 'हेल्थ डेस्क' स्थापना गरिएको हो। हेल्ड डेस्कमा सीमा नाकाबाट आवत-जावत गर्ने सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिनेछ।

सिसमजाला घाट र बाङ्घाटबाट दैनिक १५० देखि २०० को हाराहारीमा मानिसहरू नेपाल–भारत आवतजावत गर्छन् । दैनिक उपभोग्यका सामग्रीदेखि अन्य लत्ता कपडासमेत किनबेच गर्न स्थानीय यीनै नाकाबाट जानेआउने गर्दछन्। त्यहाँका स्थानीयहरू डुंगा र ट्युबको प्रयोग गरी महाकाली नदी तरेर भारतबाट सामान ल्याउँछन्।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भारतसँग जोडिएका सीमानाकामा हेल्प डेस्क स्थापना गर्न स्थानीय तहलाई फागुन २२ गते लिखित रुपमा पत्राचार गरेको थियो। प्रशासनले जिल्लाभित्र सार्वजनिक स्थानहरूमा धेरै भीडभाड नगर्न, अति आवश्यक कामको लागि मात्र बाहिर जान, हात मिलाउनुको साटो नमस्कार गर्न, भेला, जमघट तथा मेला महोत्सवजस्ता कार्यक्रमहरू नगर्न सबैमा यसअघि नै अनुरोध गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.