|

'को हो र रौनक मेरो? आखिर कोही पनि त होइन ऊ मेरो। फेरि म यति व्यग्र किन छु?' सोफामा बसिरहेकी शालिनीले मस्तिष्कमा बारम्बार लडिबुडी खेलिरहेको एउटै प्रश्नलाई पन्छाउने प्रयास गर्न सोफाबाट उठिन् र गएर झ्याल खोलेर झ्यालबाट बाहिर हेर्न थालिन्। झ्यालबाहिर क्षितिज मनमोहक सिम्रिक रङ्गमा रङ्गिएको थियो। केही क्षण बिराउँदै विभिन्न जातका चराहरू क्रमशः गुँडतर्फ फर्कंदै थिए। शालिनीले किंकर्तव्यविमूढ भएर उड्दै जान लागेका चराहरूलाई हेर्न थालिन्।

शालिनीले आफैँले आफैँलाई मनमनै प्रश्न गरेर फेरि आफैँलाई छाम्न थालिन्। छाम्दा उनले भित्र खोक्रो, एकदम खोक्रो छाती पाएर चारैतिर नियाल्न थालिन्। वरिपरिका भित्ताहरू मौन थिए, माथिको छत चुपचाप थियो। अनायास शालिनीलाई छातीभित्र कतै केही सल्के सल्केझैँ हुन थाल्यो, भित्र कतै केही दन्दनाएर बल्न थालेको झैँ लाग्न थाल्यो।

'अब यिनीहरू सबै आआफ्ना गुँडमा गएर बस्नेछन्, सायद दिनभरिका यावत् कुराहरू एकअर्कासँग साट्नलाई हो, एकछिन धीत मारेर चिर्बिराउनेछन् अनि गुँडमा सन्तोषले गुँडुल्किएर सुत्नेछन्। गोधूलिका धुलिकाहरू धरामा खस्दा नखस्दै आकाश पनि सुत्नेछ। आकाश सुत्नेबित्तिकै क्षितिजको छेउबाट चन्द्रमा चाँदनीका पोको खोल्दै धरातिर चिहाउँछे।। शनैशनै चन्द्रमाका चाँदनी फैलनेछ र फैलिएको चाँदनी देख्नेबित्तिकै सागर मोहित हुँदै उर्लिएर चाँदनी समेट्नलाई दगुर्नेछ। सागरका फैलिएका अंगालाहरू किनारमा आएर ठोकिनेछन् र अनुपलब्धिमा लाज मानेर फर्कनेछन्। तर सागरको उर्लाइको क्रम यहीँ रोकिँदैन। सागर अनुरागी भएको छ चन्द्रमाको, मोहित छ चाँदनीमा। ऊ फेरि अँगाल्ने चेष्टा गर्नेछ, लहरसँगै गड्गडाएर बोलाउनेछ। मिलन हुन्छ कि हुँदैन, कसलाई थाहा? तथापि, समुद्रको लहरको आवाज मध्यरातसम्म पनि अनवरत् आइ नै रहन्छ', सन्ध्या, पङ्क्षी र सागरले शालिनीका मस्तिष्कमा विचारका तरङ्गहरू एकपछि अर्को गर्दै ल्याउन थाल्छन्, 'कति अनुराग राख्छ सागर, कति व्यग्र भएर चाँदनीलाई प्रेम गर्छ। मलाई पनि यसरी नै व्यग्र प्रेम गर्ने कोही छ ?'

शालिनीले आफैँले आफैँलाई मनमनै प्रश्न गरेर फेरि आफैँलाई छाम्न थालिन्। छाम्दा उनले भित्र खोक्रो, एकदम खोक्रो छाती पाएर चारैतिर नियाल्न थालिन्। वरिपरिका भित्ताहरू मौन थिए, माथिको छत चुपचाप थियो। अनायास शालिनीलाई छातीभित्र कतै केही सल्के सल्केझैँ हुन थाल्यो, भित्र कतै केही दन्दनाएर बल्न थालेको झैँ लाग्न थाल्यो। भित्र केही पग्लिन थालेर कताकता भर्भराएर फेरि लावा जस्तै बग्न थालेझैँ भयो। 'उफ्फ, यो लावा छाती चिरेर एकै पटक बाहिर निस्के पनि त हुन्थ्यो नि! निर्दयी पानी बनेर मात्र किन आँखाबाट बग्छ?' सोच्दासोच्दै अत्ताल्लिएर शालिनीले आफ्ना औँलाहरू गहमा पुर्याइन्, गह शुष्क थिए। फेरि आँखा छामिन्, ती पनि भिजेका थिएनन्। 'लगातार कति बर्सिऊन् यी आँखा पनि! थाकेछन्', शालिनीले आफैँलाई आस्वस्त पारिन् र सन्तोक मानिन्।

दिनले अब आँखा पूरै चिम्लिसकेको थियो। शालिनीले झ्यालका खापा ढप्काएर बत्ती बालिन् र सोफामा गएर बसिन्। झ्याल ढप्काए पनि समुद्री छालको सङ्गीत मधुरो भएर भित्र चुहिन थाल्यो। पहिला सदैव प्यारो लाग्ने यो सङ्गीत शालिनीलाई आज केही कर्कश लाग्न थाल्यो। शालिनीलाई विगत एक वर्षदेखि हरेक साँझ बोझिल लाग्न थालेको थियो, यो साँझ पनि पृथक् थिएन, बोझिलै लाग्दै थियो। हो, परदेशमा प्रायशः हरेक साँझ बोझिला नै हुन्छन्। न त कतैबाट कोही फर्किने आशा हुन्छ, न कोही प्रतीक्षामा नै हुन्छन्। न त कोही भेटन आउँछन्, न कसैलाई भेट्न जानु नै हुन्छ। उदयाचलदेखि नै अशक्त स्याहारेर बसेको व्यक्तिलाई समय परिवर्तनको कुनै असर पर्दैन र पनि परदेशमा एक्लो मान्छेलाई साँझ बोझिल नै हुन्छ, सायद अरूलाई पनि।  

'अब?' शालिनीको हृदयमा फेरि प्रश्न उब्जियो। उनले नसम्झन खोज्दाखोज्दै पनि रौनकलाई फेरि सम्झिइन्, सपिङ कम्पलेक्समा रौनकसँग भएको पहिलो भेट सम्झिइन्, उसको मुस्कान सम्झिइन्, त्यसपछिका भेटहरू पनि सम्झिइन्। नारी नियति नजान्ली तर नियत ऊ खुब बुझ्दछे। शालिनीले पनि रौनकको आँखामा फैलिएका स्नेह बारम्बारको भेटमा छामी सकेकी थिइन्। आफूप्रतिको आकर्षणलाई बुझिसकेकी थिइन्। रौनकको हृदयमा छचल्किएको अनुरागको तातो बाफले शालिनीलाई द्रवित नपारेको हैन, तर कतै केही अवश्य थियो, अदृष्य, अगोचर, मिहीन तगारो।   

'तगारो?' कतै पाँच वर्षअघि सिउँदोमा परेको एक चिम्टी सिन्दूर त हैन तगारो? कतै धागोमा उनिएका स-साना काँचका गुच्चाहरू त होइनन् तगारो ? कि साक्षी राखिएको अग्नि? के हो तगारो? केको लागि तगारो?' सम्झिँदैमा शालिनीको अनुहार क्रोधले रातो भयो। उनी उठेर ऐना अगाडि उभिइन् र ऐनामा आफ्नो बञ्जर सिउँदो हेर्न थालिन्।

'तीन वर्ष भएछ यसले सिन्दूरको रङ नपाएको। पोतेको अस्तित्व मेटिएको पनि लगभग त्यति नै भइसकेको छ। तर त्यो साक्षी राखेको अग्नि भने किन अझै यो हृदयमा छ? तीन वर्षदेखि मलाई किन सुस्तसुस्त सल्काइराखेको छ त्यो आगोले? तगारो बनेर साँधमा उभिने आयुष आफैँ साँध नाघेर गैसक्यो, बाँध्ने डोरी आफैँले चुँडालेर। बाँधेको मान्छेले नै चुँडाइसक्यो भने बाँधिएर बस्नुपर्ने आवश्यकता कहाँबाट उम्रियो फेरि?' शालिनीले आफैँलाई कठघरामा उभ्याएर केरकार गर्न थालिन्।

शालिनीले केही अठोटका साथ रौनकको ओठमा आफ्नो ओठ जोड्न खोजिन्। रौनकका ओठका नजिक पुगेका शालिनीका ओठ जति जोडिन खोजे पनि थर्थराएर मात्र रहे। तेस्रो प्रयासमा पनि शालिनीका ओठ रौनकको ओठ नजिक पुगेर थर्थराएर मात्र रहे, जोडिन सकेनन्। 

बाहिर ढोकामा बिरालोले कोतरेको आवाजले शालिनीको ध्यान मोडियो। बाहिर जाडो थियो। त्यसैले त्यो बिरालोभित्र आउन खोज्दै थियो। त्यो पनि एक्लो छ, म जस्तै। त्यसलाई पनि त छतको जरुरी छ, त्यसलाई पनि त न्यानोको जरुरी छ। प्राणी हो त्यो पनि, छतविहीन चिसोमा एक्लै बस्न सक्दैन। शालिनीले ढोका खोलिदिइन्, बिरालो लुसुक्क आएर शालिनीलाई कृतज्ञ नजरले हेर्दै सोफामा उक्लिएर बस्यो। बाहिर चिसो थियो, शालिनीको हृदय जस्तै। शालिनीले बिरालोलाई हेरिन्। बिरालो सोफाको आडमा न्यानो मानिरहेको थियो। घरभित्र बिरालो सुरक्षित थियो, न्यानो पाइरहेको थियो। सालिनीलाई बिरालो देखेर इर्श्र्या लागेर आयो। 'मलाई पनि त छत चाहिएको छ, मलाई पनि त न्यानो चाहिएको छ। म पनि त…!'

'म पनि त के शालिनी? म पनि त के? मान्छे अन्तरयामी त होइन? कसरी बुझोस् अरूको मनका कुरा? बिरालोले जस्तै ढोकामा कोतरेकी भए पनि त हुन्थ्यो नि!'

अचानक शालिनी ढोका खोलेर बाहिर हान्निइन्। आधा घण्टाको ट्याक्सीको यात्राभरि शालिनी बाफिएकी थिइन्। त्यो बिल्डिङको भर्‍याङ उक्लँदासम्म शालिनीको अनुहारमा अठोटले साम्राज्य चलाइरहेको थियो। कलबेलको आवाजसँगै रौनकले ढोका खोल्यो। अगाडि शालिनीको उपस्थितिले उसलाई आश्चर्य र उदेकको करेन्ट लाग्न थाल्यो। रौनक जड भएर एकछिन ढोकैमा उभियो र ढोका पूरै खोलेर शालिनीलाई भित्र आउने बाटो दियो। शालिनीले भित्र पसेर ढोका लगाइन् र ढोकैमा अडेस लगेर उभिइन्। शालिनीले रौनकलाई नियालेर हेर्न थालिन्। रौनकका आँखाले अब आउन सक्ने परिस्थितिको आँकलन गर्न थाल्यो। दुवैबीचको दूरी छोटिन थाल्यो र रौनक र शालिनीबीच जम्मा दुई हातको दूरी बाँकी भयो। त्यसपछि शालिनीले हुत्तिएर रौनकलाई अँगालो हालिन् र केहीबेर रौनकसँग टाँसिइरहिन्।

रौनक हतप्रभ उभिइरह्यो, रौनकका लत्रिएका हातले शालिनीलाई अंगाल्न हिच्किचाए। शालिनीले केही अठोटका साथ रौनकको ओठमा आफ्नो ओठ जोड्न खोजिन्। रौनकका ओठका नजिक पुगेका शालिनीका ओठ जति जोडिन खोजे पनि थर्थराएर मात्र रहे। तेस्रो प्रयासमा पनि शालिनीका ओठ रौनकको ओठ नजिक पुगेर थर्थराएर मात्र रहे, जोडिन सकेनन्। शालिनीले आफ्नो कमजोरीमा अत्तालिएर रौनकलाई पर धकेलिन्, छड्किएर  ढोकामा ढाड टाँसिन् र फरक्क फर्केर ढोका खोलिन् र हुर्दुराउँदै भर्‍याङ ओर्लिन्।

तल रौनकको घर अगाडि शालिनीले अर्को खाली ट्याक्सी भेटिन् र त्यसैमा बसेर घर आइन्, ढोका खोलेर भित्र पसिन् र ढोका लगाएर ढोकैमा अडेस लगाएर रुन थालिन्। रोइरहेकी शालिनीका चेतनामा भर्भराएर बलिरहेका दुई जोडी ओठ नाच्न थाले, कामेका र अधीर ओठ देखिन थाले, जोडिन जोडिन खोजे पनि ओठमा भएका आगोले कहीँ कतै खिचिएको अदृश्य, अगोचर लक्ष्मणरेखा जलाउनै सकेन। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.