|

  • पेमा लामा-

काभ्रे : जिल्लाको विकट क्षेत्र डाँडापारिको च्याम्राङवेशी–८ का सीताराम तिमल्सिनाले आफ्नै बलबुताले भूकम्प प्रतिरोधी घर निर्माण गरे। सरकारले दिने भनेको अनुदान समयमा नपाएपनि उनले आफैले लगानी गरेर घर निर्माण गरे।

तिमल्सिनाले भने ‘सरकारले अनुदान दिन्छ भनेपछि धेरै समय पर्खाइमा नै बिते, तर समयमा रकम नपाएकै कारण चिसोमा परिवारलाई राख्नुपर्ने अवस्थालाई हेरिरहन सकेन र आफैले सकेनसकेको रकम जुटाएर घर बनाएँ।’

उनको घरको धुरी उठाइएको छ, तर जस्ता किन्ने पैसा नभएका कारण उनी अलमलमा परेका छन्। ‘जग खन्ने काम त गाउँलेहरुबाट पर्ममा सकाएँ, खासै पैसा लागेन, धेरैजसो त ढुङ्गा, काठ र कर्मीको ज्यालामा नै गयो’तिमल्सिनाले थपे, ‘अहिलेसम्म ३ लाख खर्च भइसक्यो, सबै ऋण गरेर बनाइरहेको छु।’

अहिले उनी जस्तापाता किन्ने रकमको खोजीमा छन्। तिमल्सिनाले सरकारले दिएको भूकम्प पीडित आवास अनुदानको पहिलो किस्ता रकम मात्रै पाएका छन्।

भूकम्पले घर भत्काएदेखि तिमिल्सिना परिवारले टहरामा नै गुजारा गर्दै आएका थिए। ‘सरकारले घर बनाउने अनुदान दिन्छ भन्ने सुनेकाले पर्खेर बसिरहे, टहरामा बुढाबुढी र बालबच्चालाई चिसो, घाम–पानी र हुरीबतासबाट धेरै समयसम्म सुरक्षित राख्न नसक्ने भएपछि आफू बस्ने घर आफै बनाउँछु भनेर लागेको हुँ’ तिमल्सिनाले भने ।

उनले बनाएको सो घर गाविसभरिकै पहिलो भूकम्प प्रतिरोधी हो। घरको जग राख्ने बेलादेखि अहिलेसम्ममा इञ्जिनियर ३ पटक गएर नापजाँच गरिसके। ‘सबै ठीक छ, हामी दोस्रो किस्ताको लागि सिफारिस गर्छौं त भन्नुभएको छ तर कहिले आउने हो। ऋण तिर्दैमा हैरान हुनेभयो’तिमल्सिनाले गुनासो गरे।

सरकार गैर जिम्मेवार बनेकै कारण भूकम्प पीडितहरुको बेहाल भएको उनको गुनासो छ । उनी भन्छन् ‘यस्तै प्रकारले त सरकारको सहयोगबाट घर बन्छ भन्ने त लागेको छैन, तैपनि नेपाल सरकारको स्टिमेट अनुरुप नै घर बनाएको छु, आए दोस्रो किस्ता लिन्छु, नभए घर बनाउँदा लागेको ऋण भारी बोकेरै भएपनि तिर्नुपर्ला।’

गाविस सचिव भरत बस्नेतले घर बनाएकाहरुबाट पुनर्जाँच गरी पाउँ भन्ने निवेदन गाविसमा दिएपछि त्यसको आधारमा दोस्रो किस्ता माग गर्ने बताए। ‘अहिलेसम्म त्यसरी निवेदन गाविसमा आएको छैन, आएपछि त्यसको प्रक्रिया अगाडि बढाउँछौं’बस्नेतले भने। उनका अनुसार सो गाविसमा ३ सय १६ जना पीडितको नाम लाभग्राहीको सूचीमा निस्केकोमा ३ जनाको जग्गा लालपूर्जा नभएको कारण रोकेको र ३ सय १३ जनाले पहिलो किस्ता रकम लिइसकेको छ।

गाविसमा पुनर्निर्माणको लागि खटिएका इञ्जिनियर मोहन अर्यालले च्याम्राङवेशीमा पुनर्निर्माणको कामले गति लिइरहेको बताए। ‘अहिले प्रोग्रेसमा नै छ, ८ नम्बर वडाको एक जनाले बनाइसकेका छन्, उनको घर बनाएको सबै कागजपत्र कार्यालयमा आइसकेको छ, निरीक्षणको लागि अब छिट्टै जाँदैछौं, त्यो काम सकेपछि उहाँको दोस्रो किस्ता मागको काम छिट्टै हुन्छ’अर्यालले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.