|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा २८ वर्षे उमेर हद मानेर भाग लिन नेविसंघका नेताहरुलाई निर्देशन दिएका छन्। पार्टीले स्ववियु निर्वाचनमा जाने निर्णय गरिसकेको भन्दै उनले त्यसविरुद्ध गतिविधि नगर्न पनि नेविसंघका नेताहरुलाई आग्रह गरे।

२८ वर्षे उमेर हदको विरुद्धमा नेपाल विद्यार्थी संघ काठमाडौं जिल्लाले काठमाडौं उपत्यकाका क्याम्पसहरुमा तालाबन्दी गरेकोमा देउवाले आक्रोश व्यक्त गरेका छन्। उनले त्यस्ता गतिविधिमा संलग्नहरुलाई पार्टीका अन्य निकायमा पनि अवसर नदिने चेतावनी दिए।

'सभापतिज्यूले कुनै पनि हालतमा चुनावमा जान निर्देशन दिनुभएको छ, त्यसमा दायाँबायाँ गरेमा पार्टीले मुल्याङ्कन गर्ने बताउनुभएको छ' छलफलमा सहभागी नेविसंघका एक नेताले भने।

देउवाले आफू पनि नेविसंघको राजनीतिबाटै आएको स्मरण गर्दै स्ववियु निर्वाचनमा भूमिका नपाउने नेताहरुलाई पार्टीले अन्य निकायमा समायोजन गर्ने आश्वासन समेत दिएका छन्। 'नेविसंघबाट रिटारयर्ड भएकाहरुलाई कहाँ कहाँ भूमिका दिनुपर्छ म दिन्छु' देउवाको भनाइ उधृत गर्दै नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले भने 'अहिले स्ववियु निर्वाचन जसरी भए पनि सफल पार्न भूमिका खेल्नुपर्‍यो।'

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेविसंघ महाधिवेशन निर्देशक समिति संयोजक प्रकाशसरण महत, नेविसंघका सभापति नैनसिंह महर, महामन्त्रीहरु सरोजकुमार थापा र कुन्दन काफ्ले, नेता मनोजमणि आचार्य लगायत सहभागी थिए।

शीर्ष नेतृत्वसँगको छलफलमा विद्यार्थी नेताहरुले अघिल्लो निर्वाचनमा मतदाता भएका विद्यार्थीहरु यस पटक उम्मेद्वार बन्न नपाउने त्रिविको निर्णयको विरोध गर्नु परेको आन्दोलित हुनु परेको बताएका थिए। उनीहरुले विगतमा अपनाइएका विधि र प्रक्रियाकै आधारमै निर्वाचनमा जानुपर्ने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.