बागलुङ : बजारमा कानुन व्यवसाय गरी बस्दै आएका रमेश खड्का यतिखेर आफ्नो जन्मघर रहेको तित्याङ गाउँ फर्केका छन्। चाडपर्वबाहेक अन्य समयमा खड्का बिरलै मात्र गाउँ पुग्ने गर्छन्।
विश्वव्यापी महामारीको रूप लिएको कोरोना संक्रमण रोकथाम गर्न सरकारले देशभर 'लकडाउन' घोषणा गरेपछि खड्का यतिखेर गाउँ पुगेका हुन्। गाउँमा उनको घर छ। तर लामो समयदेखि बस्न छाडेको घर कतै भत्किएको त कतै झार उम्रिएको अवस्थामा छ।
कोरोनाको त्रासले सदरमुकाम छोडेर गाउँ फर्किएका खड्का दुई दिनयता आफ्नै पुरानो घर सिंगार्न व्यस्त छन्। ‘गाउँ आइयो, काम केही छैन,’ खड्काले भने, ‘भत्किएका संरचना बनाउँदै छु।’
संघीय राजधानी शहर काठमाडौंमा गाडीभरि स्टेशनरीका सामान लिएर बिक्रीका लागि दिनभर दौडधुप गर्ने जीवन आचार्य पनि यतिखेर बागलुङको जैमिनी नगरपालिका १ कुश्मीशेराका खेतबारीमा व्यस्त भएका छन्। कोरोना त्रासकै बीच काठमाडौंमा साविकको दैनन्दिन व्यवहार रोकिएपछि उनी गाउँ फर्किएका हुन्।
चाडवाड र अरू सामान्य अवस्थामा गाउँ पुग्दा साथीभाईसँग गफिन रूचाउने आचार्यलगायत कसैलाई पनि अहिले सो छुट छैन। मानिसबाट मानिसमा सर्ने (ह्युमन ट्रान्समिटेड) जिवाणु भएका कारण भेटघाट, भोजभतेर र भौतिक निकटताले निकै ठूलो जोखिम निम्त्याउन सक्छ। त्यसैले उनी स्वास्थ्य सजगताका उपाय अपनाउँदै हिउँदेखेती भित्र्याउने र बर्खेखेती लगाउने चटारोमा छन्।
कुश्मीशेरामा यतिखेर मकै लगाउनुपूर्व खेतमा मल पुर्याउन युवाहरू कस्सिएर लागिपरेका छन्। अरू बेला त यस्तो कहाँ पाउनु र? घरबास त्यागेर हिँड्न नसकेका र नपाएका वृद्धवृद्धाहरूले घिस्रिँदै मुस्किलले मलजल र सिञ्चन गरिरहेको जमिन न पर्यो! कोरोनाले तर्साएपछि गाउँ हान्निएका युवाहरू खटिँदा खेतीबारीको काममा ठूलो सहायता मिलेको छ। केही युवाहरू खेतबारीमा मल ओसार्दै छन्, केही युवाहरू जोत्ने, मकै लगाउने, खेत र घर वरपर झाडी सफा गर्ने काममा व्यस्त छन्।
बागलुङ बजारमा होटल व्यवसाय गरेर बसेका जीतबहादुर थापा अहिले पुर्ख्यौली गाउँ रेश फर्केका छन्। केही दिन पहिले रेश पुगेका उनका तीनैभाई बागलुङ बजारमै स–परिवार बस्ने भएकाले गाउँको घरको रुपरंग नै फेरिएको थियो। कोरोनाको सन्त्रासले गाउँ फर्केका जीतबहादुरको दैनिकी घर पोत्ने, भाँडा धुने ठाउँ बनाउने, वरिपरि बार्ने लगायतका काममा बितिरहेको छ।
कामको चटारो चल्ने समयमा वयस्कहरू गाउँ फर्किएकाले बुढापाकालाई निकै सहयोग पुगेको काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछानेले बताए। ‘दशैंमा आएभन्दा बढ्ता भएको छ, गाउँ सिंगारिँदै गएका छन्, छोडेका घर मर्मत भएको छ,’ लामिछानेले भने, ‘त्रास एकातर्फ होला, तर गाउँका दिन आए नि!’ बजारमा बस्नेहरू अधिकांश गाउँ फर्केका कारण शहर भने सुनसान छ।
ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार यतिखेर दशैंको समयमा भन्दा धेरै सर्वसाधारण शहर-बजारबाट गाउँमा पुगेका छन्। एकिन तथ्यांक संकलन भइनसकेपनि 'लकडाउन' पूर्वका केही दिन सवारीमा देखिएको चाप हेर्दा गाउँ फर्कनेहरूको संख्या सजिलै अनुमान लगाउन सकिन्छ।
भूकम्पका बेला छोडेका घरहरूले समेत यो समय सुसार पाउन थालेका छन्। गाउँमा एक्लो बनेका वृद्धवृद्धाले सहाराको अनुभूति गरेको स्थानीय तहका प्रतिनिधि बताउँछन्। ‘बाँझिएका खेतमा गोरु नार्ने कोही थिएन, कसरी कमाइ गर्ने होला भन्ने थियो,’ बागलुङको बलेवाका धनपति पौडेल भने, ‘युवा गाउँ आएका छन्, जोत्ने गोरुलाई घाँस मात्रै हाल्न सक्दापनि अब मकै त सजिलै छरिन्छ। ’
देशभित्रै रहेका युवाहरू गाउँ पुग्नुअघि विदेशबाट फर्किएका युवाहरूसँग भने गाउँलेहरू डराइरहेका थिए। नेपालमा हालसम्म भेटिएका सबै कोरोना संक्रमित विदेशबाट आएका व्यक्तिहरू भएकाले उनीहरू डराएका हुन्। तर काठमाडौं, पोखरा र बुटवल/भैरहवालगायत शहरबाट युवाहरू गाउँ पुगेपछि भने स्थानीय डराउन छाडेका छन्।
'लकडाउन' पूर्व र 'लकडाउन' भएकै दिन बजारबाट बाहिरिनेको संख्या उच्च हुँदा सदरमुकाम बागलुङ बजार भने सुनसान बनेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।