|

भाग एक पहिलो र अन्तिम थियो। जसरी मेडिटेसन दि फस्ट एण्ड लास्ट फ्रिडम जे. कृष्णमुर्तिका लागि थियो, त्यही धूनलाई ओशोले सुनेका थिए र ठीकसँग ठम्याएका थिए तर मैले लेखकको पाइजामा लगाएपछि सुरुवालको रङमा सूरभित्रका रतिक्रीडाहरूको डाहाले डामिनुपूर्व लगाएको अनुमानको आधार थिएन। स्यान्ड क्यासल, तासको घर, मरुभुमिको मिराज, राजमार्गको तृष्णा तलाउ- के नाम दिऊँ विवेक लुप्त भएको कामकाजी प्रहर त्यो। पारिलो रङ पोतेर पनि हाँस्न नसकेको अपारदर्शी ओठ दोषका बारेमा चाल पाउन सकिएन। अहिले त्यो रंगिला सिलको गाथा मनको सिलोटमा कुँदिरहेको छु- मानौँ, ब्रथेलबाट तीस बर्षा खाएकी कुमारी षोडसी भर्खरै अमृतजलले स्नान गरी घरजमका लागि तयार रहन केराको थामले बेरिएको जग्गेमा बसेकी छ। अस्तित्वमा रहेको लाटो श्रीमान् अनि टाठाबाठा दुई छोराछोरीको संयोगमा चाहेजति खुलिरहेकी आइमाईका लागि प्रजातन्त्र र लोकतन्त्रको असली भोक्ता थिई ऊ।

मार्ग र सुमार्ग जस्तो, पीत प्रार्थना गरिरहेकी परचक्री आइमाईको जोवनको कथा उसले आफ्नो वृद्ध उमेरमा पढ्नेछ र थपथपाउनेछ, आफ्नो प्याउली फूललाई, जुन के मध्यरात, के मध्याह्न, के घर, के डेरा, जहाँतहीँ खुल्दथ्यो, फूल्दथ्यो र एअर फ्रेसरको काम गर्दथ्यो। बन्नुपर्ने रामलीला हो, तर भइदियो रासलीला।

पीत पत्रकारिताका बारेमा धेरैले थाहा पाएका छन्, सुनेका छन् तर बिर्सिई पीत प्रार्थनाका बारेमा। तन्त्र र मन्त्रको प्रभाव जस्तो। मार्ग र सुमार्ग जस्तो, पीत प्रार्थना गरिरहेकी परचक्री आइमाईको जोवनको कथा उसले आफ्नो वृद्ध उमेरमा पढ्नेछ र थपथपाउनेछ, आफ्नो प्याउली फूललाई, जुन के मध्यरात, के मध्याह्न, के घर, के डेरा, जहाँतहीँ खुल्दथ्यो, फूल्दथ्यो र एअर फ्रेसरको काम गर्दथ्यो। बन्नुपर्ने रामलीला हो, तर भइदियो रासलीला। यही विजयको कथा भाग दुईमा अवतरण भएको छ। यो आत्माको विस्तारित पुकार धेरै आत्माको सङ्कलित पुकार होला। अँध्यारोमा कालो अनुहार लिएर हिँड्नेहरुलाई चिन्न गाह्रो हुन्छ किनकी उनीहरूलाई ठम्माउनका लागि आँखा छोप्नुपर्दछ। मन खोल्नुपर्दछ।

सुरु कथा

उसका आगमन र गमन दुवै सुनियोजित थिए। रंगोली थियो याम, जहाँ युवक बालुवाको शृङ्गार मध्यरातमा उठी गर्दथ्यो र रात एउटा टुकीमा समाहित भई निचोरिएर सकिन्थ्यो।

प्रभात फेरी सन्ध्याको हिलोमा लडेर उठेको बालक फेरि युवक बनेर पूजाको बाहुबलीमा लहरिएको थियो। र कथा लेख्यो, वास्तविक प्रार्थना। ओशोको बोसो पग्लन निकै समय लाग्छ, यदि त्यो यौनिकताको गुफामा साधनाका लागि प्रवेश गर्यो भने वा द्रव्यमोहको पिशाचले हान्यो भने कुनै कालो बोका, कुखुराले अन्माउन सकिँदैन। त्यस्तै लीलाले वास पायो। पूजाको पहिलो बसाई उसको कथा, पूर्वकथा, गोचर प्राणी, कलिला आँखा, सुललित सुकेको वैँश तर रङरोगनको मादकताले छरछिमेकमा रौनकता थप्ने उसको वैरङ्गी चालमा बालुवाटारमा बर्षौँदेखि सुल्पा लिएर हिँड्ने ७० को दशकको हिरोले समेत उसलाई पछ्यायो र छोरीसहित अन्माउने बाचा गर्नसम्म भ्यायो। त्यसपहिले पनि कथा बुनिएका थिए, मधेश आन्दोलनको चेपमा जन्मिएको बालक उसको सेतो हिलोमा लडेको थियो। जब म उसलाई उठाउन गएँ, मैले गरेको कर्म परोपकार भयो तर म भने निस्सारतामा घाम तापिरहेको रिटायर्ड सैनिक थिएँ। काँधमा फुली थिएन, किरमिर बुट्टा धमिलो हुँदै गरेको पोशाक जस्तो शरीरमा सम्झनाहरू टाँसिएका थिए। सबै हिलोमा फुल्ने कमलको पराग आउने दिन गनेर एउटा ऋतु खाएँ, अहँ, त्यो आएन तर उसले अर्को कथा रची, त्यो पटकथाको बलमा युवक नेपथ्यमा रह्यो, म दुवैलाई नियाली यो शास्त्र लेखिरहेको छु।

मीठा सपनाहरूको भारी बोकेर ओरालो हिँड्ने यात्रीहरू निकै हुन्छन् तर युवक विपनाहरूको ताँती बोकेर तारेभीरको उकालो उक्लिरहेको छ। हरेक सम्बन्ध एउटा भारी हो मान्ने हो भने अन्यथा कोसेली सम्झेर छायाको तीरैतीर एकबारको जीवनडुङ्गालाई खियाउन उती सास्ती नहोला।

त्यो कथामा चित्रण गरिएकी युवतीको व्यथा सामु युवकले धेरै जिज्ञासा राखेको थियो, उसको महाप्रस्थानपछि। प्रत्येक पल्ट घोटिएको द्रव्यबुटी एटिएम कार्डले छोडेका पदचापहरू अनि तिनमा कोरिएका मधुरा धर्सामा स्मृति बाक्लो गरी कुँदिएको छ। त्यो कामबुटीको घर्षण र द्रव्यपात्रोको चित्कार भन्दा पनि पर सम्बन्ध झुल्केको छ, जहाँ युवक एक्लै उही अन्दाजमा बाँचिरहेको छ। मीठा सपनाहरूको भारी बोकेर ओरालो हिँड्ने यात्रीहरू निकै हुन्छन् तर युवक विपनाहरूको ताँती बोकेर तारेभीरको उकालो उक्लिरहेको छ। हरेक सम्बन्ध एउटा भारी हो मान्ने हो भने अन्यथा कोसेली सम्झेर छायाको तीरैतीर एकबारको जीवनडुङ्गालाई खियाउन उती सास्ती नहोला। गन्धको गन्थनमा भएको उत्साह सकियो अब आत्मज्ञानको भोक लागेको छ, त्यसलाई चर्मरोगीहरूले कसरी साम्य पार्न सक्लान्? सर्वशक्तिमान तथ्य हात्तीको स्वरूपमा अगाडि उभिएको छ।

पटकथाको पदछायामा जन्मेको पूजाको प्रभुत्व प्रसाद बन्न नपाउँदै उडेर गयो।

कहाँ जान्छन् होला मान्छेहरू, जो एकफेरको साँघुरो गोरेटोमा सँगै हुन्छन् तर बाटो चौडा भएपछि हराएर जान्छन्। त्यो बाटोको दोष थियो या सहयात्रीको? भित्री व्यथाको पर्दा कहिल्यै खुल्न सकेन। उताकाले यता बात लगाए, यताकाले उता बात लगाए। पूजाको रीत यही थियो। टाउकोका सेता रौँलाई उखेल्नु उसको स्वभाव थियो, दाह्रीलाई बुट्टामा कुद्ने उसको रहर थियो। उमेर दुई बीसको हुँदै थियो तर चञ्चलता कुरकुरे थियो। समोसा उसको प्रिय खान्की, चिया र कफीका लागि सानदार रेष्टुरेण्टमा हात समाई गाइड गर्ने ऊ, गतिलोसँग गिफ्टका लागि फर्माइस पनि गर्दथी। लक्का जवान छोराको आडमा परपुरुष गमनका लागि आमाको लामो कथामा श्रवणकुमार कमण्डलु लिएर जल खोज्लान्, नखोज्लान्, त्यो गर्भको कुरा भयो तर दुईबीच बडो तामझामको बन्धन थियो। एकले अर्कोलाई बचाउ गर्ने कुराको मिलेमतो गज्जबको थियो। अबेर रातमा चम्कने सबै ताराहरू सत्यवादी हुँदैनन् र त्यति चम्किला पनि हुँदैनन्, जसको सहाराले अँध्यारोलाई चिर्न सकियोस्। हो, ऊ त्यही परजीवी मीमांसा बोकेकी निख्खर सिपालु नर्तकी थिई, रातलाई वसमा पार्न सक्ने कला सिकेर दिनमा हिँड्न सक्ने सामर्थ्य उसमा थियो।

नगरबधु भन्दा अलि माथि देवदासिनी नाम दिऊँ उसलाई सायद, अथवा यसपछि आउने कालो कालमा कालसर्पले बेरिएका उन्मादशाली लेखकहरूले नयाँ शब्द क्वाइन गर्लान्, तबसम्म म रहनेछैन यहाँ- यी कुरा भन्नलाई। उसको विशेषता र व्यक्तित्व झल्काउने त्यस्तो कुनै मण्डित शब्द छैन। ऊ निख्खर उत्ताउलोपन शरीरमा बोकेर हिँड्ने चर्मझोली चमारपुत्री थिई र त यो रासको राख हुन सक्यो।

मूर्त कला हो सबैले बुझ्छन्, तर बुझ्नेछैन उसले। ऊ त बजारमा छालाको झोला बोकेर रातोदिनको मोलमोलाइमा लीन छे। उसको उत्पातको इमान सडक किनारमा धागो, चक्कु र थोत्रा जुत्ता चप्पल लिई बसेको सार्की शालीन सार्कीको हृदय बरु ठूलो छ, यहाँ मूल्याङ्कन जो दृश्यमा खरिद हुन्छ।

शहरमा धेरै नाम थिए, उसबाट ठगिएका, च्यातिएका, फालिएका। लाइनमा उभिने धैर्य रहेन मेरो र आफ्नै मर्जीमा उसको पाइला छाडेँ। त्यो छायाको बयान गर्ने बल ममा छैन। उत्तेजनाको शिकार, रकमी हाँसोको चिप्लेटी, भाडाको घरमा बफाइएका निरस सपनाका थानहरू लाटो भई त्यहीँ कतै रामकोटको गोठसम्मुखमा थन्किएका होलान्। विवाहको १६ वर्षपछि कोही नगरकोट, पोखरा र इलामको चिया बगान गोड्यानमा लागेको कालखण्ड गौरवशाली इतिहास आश्चर्यको आँखीभौँ उठाउँदै ऐनामा मलाई खोपिरहेको, मानौँ मेरो अनुहारमा बारुलाको खिल गढेको छ। मैले त जानेरै बिर्सिएँ तर तिनले बिर्सिएका छैनन्, जसको गन्धमा बेरिएर म लडेको थिएँ। बिस्तारै हिँडे गोरेटो मूलबाटो बन्दोरहेछ, पैतालाले बनाएको बाटो भन्दा अनाथ तृष्णाहरूले पोतेको रङ्गिला बाटो बढी गहन र प्रगाढ हुन्छ नै, जो सर्जकहरू परे ती मार्गका क्राफ्टम्यानहरू। सामान्य सृजना पनि असामान्य तौल बोकेर ग्यालरीको भित्तामा झुण्डिरहेको हुन्छ। मूर्त कला हो सबैले बुझ्छन्, तर बुझ्नेछैन उसले। ऊ त बजारमा छालाको झोला बोकेर रातोदिनको मोलमोलाइमा लीन छे। उसको उत्पातको इमान सडक किनारमा धागो, चक्कु र थोत्रा जुत्ता चप्पल लिई बसेको सार्की शालीन सार्कीको हृदय बरु ठूलो छ, यहाँ मूल्याङ्कन जो दृश्यमा खरिद हुन्छ। अनामनगरको जयश्रीरामको तस्वीर द्वारमाथि फ्रेममा सजिएको छ। जगत बाह्य जातको उत्पातमा रुमल्लिरहेको छ, आफूलाई हरेक सतहमा सेतो देख्ने अमेरिकामा कालो साथीले चियर गरेको छ। धेरै गोरा प्रहरी धेरै काला नागरिकको खुलेआम नरसंहारमा उत्रेका छन्। विभेदको पराकाष्ठा कागजमा हैन, व्यवहारमा देखिएको छ। ती तमाम विकसित देशहरू र तमाम रिचविचहरूका तुलनामा हाम्रा महान् सार्कीहरूको गाथा स्तुतियोग्य छ।

छोडी आएका टुहुरा उच्छवासका बबल्सहरूको माया लागेर आउँछ। खोलामा डुबुल्की लगाएको पहिलो भेलको याद आउँछ, गहुँको पहिलो खेपमा पोलेका उमीहरूको प्यासले अत्याउँछ, हरिया चना पोलेको धूवाँको गन्ध नाकका नासापोटाहरूमा व्याकुलता थप्छन्, जामुनको रूख, वन कुसुमको टुप्पा, कैनका झुप्पाहरूमा, घिउकुमारीका सेता फलहरू, पट्याउलासरि मनभरी पटपट फुर्किरहेका छन्। तीमध्ये कुनै एक वयष्कको काम कोशेली बनेर स्मृतिको गलैँचामा झुण्डिरहेको एउटा रसविहीन झोल्लिएको तस्वीर, जसलाई पातलो फलामले शरीरको मध्यभागमा अड्याइराखेको छ। मेरा आत्मीय विश्वास र उच्छवासका गाछहरू त्यही अस्थायी तारमा अडेका छन्, खिपमा अडेका छन्। देवदासिनीका लागि देवदास बनेर बोतलको सहारा लिनु काजीको स्वभाव भएन, ओशोको दर्शनलाई ओभानो ठाउँमा बसेर हेरिरहेकाले पूर्णत: भिज्न पाएन। छुपछुपे हिलोमा म स्मृतिलाई हिल्याइरहेको छु, यसमा कमल फुलाउने इच्छा छैन। म चाहेर पनि केही गर्न सक्दिनँ, जब अस्तित्वको इशारा आउँदैन। सुषुप्तीमा मकैका फूलहरू उछिट्टिन्छन् र म आफैँलाई झकझकाउँछु। जाग जोगिरा जाग।

एकाबिहानै त कहिले सम्साझै छालाको जर्किन बोकेर हिँडिरहेकी सर्किनी सुस्त आवाजमा ढोका उघार्छे, सुख्खा आँखाको खिपले खिल निकाल्दै सुम्सुम्याउन थाल्छे। एक आइमाईको उदेकलाग्दो दृश्य मध्यरातमा आएर टोक्छ। बिषालु कालो सर्प बरु सारा नगरको वायुमा भएको बिष सोसेर आफूलाई सिँगार्छ तर कहिल्यै त्यसको विकिरण गलत बाटोमा लाउँदैन। मान्छेहरू मान्छे हुनबाट बञ्चित भएका छन्। व्यवहारले त्यो देखाएको छ।

पोखराको फेवातालमा काठको डुङ्गा चढ्नेहरू धेरै छन्। आधा भन्दा धेरै त त्यहीँ मांस-मदिरा उन्मुक्त विहारका लागि पुग्छन्। नयाँ प्रेमीका लागि, प्रेमिकाका लागि नयाँ पात्र विल्कुलै नयाँ हुन्छ। अर्ग्यानिक मात लागेपछि पीत कामना गरी आफ्नो शरीर र संसारको घर चलाउनेहरू धेरै छन्, त्यही घानमा पूजा भेटिन्छे। प्रसाद खानेहरू ठमेलको गल्लीमा धूवाँ उडाउँदै मज्जाको आकृति आकाशमा फुकिरहेका थिए। भन्दै थिए, 'मैले त मस्तीले डुङ्गा खियाएँ, सायद अरू मेरा साथीहरू अहिले नित्यकर्ममा लागिरहेका होलान्। शौखको घोडा चढ्ने धेरै आवारा शरीरले गुनगुनाएको सस्तो गीत पान पसल वा सैलुनमा बज्ने गीत भन्दा भद्दा र फोसिल सुनिन्छ। जसमाथि भरोसा हुन्छ, विश्वास हुन्छ, त्यसको प्राण उडेपछि जीवन त्यहाँ रहँदैन। लेकसाइडको चौडा बाटोमा माछाको पुछारलाई बेवास्ता गर्दै रेष्टुरेन्टहरूमा लरबराइरहेको मस्तीराम बहादुर कुनै पनि प्रसादको लागि हिँडिरहेको छैन, बरु यो आफ्ना पुराना जन्महरूका बारेमा जातिस्मृति गरिरहेको छ। डेजाबुको ओभरकोटका खल्तीमा थपक्क बसेका जातक कथाहरू छोडाइरहेको छ।

आधुनिक समाज सुरक्षित, भरपर्दो 'कपर टी' नामले प्रचार गरिरहेको छ तर त्यो तामाको तारबाट आवाज आउँदैन। फेरि सुरक्षित अवतरणको खोजमा युवती पारिवारिक चिकित्सकको शरणमा पुग्छे, सायद चिकित्सकको पदयात्रा पनि लयात्मक थिएन, त्यसैले लाग्थ्यो- ऊ पनि आफूले गरेका कर्तुतहरूका कारण हिँडाइमा तारतम्य मिलाउन सकिरहेकी थिइन।

गुफाको गुम्फनभित्रका छालमाथि जलक्रीडासँगै सपाट कामक्रीडामा उत्रिरहेका ज्ञात-अज्ञात शरीरको रासलीला नीलो पानीमा मिसिइरहेका छन्। आउने प्रत्येक आगन्तुक ठान्छ, यो मेरो जीवनको पहिलो र अन्तिम दिवास्वप्न हो। एकजना पात्रको कारणले सिङ्गो पुस्तकलाई हल्लाउनसक्ने खलनायक/खलनायिकाको जब्बर जर्जर देहको कुमारी मास केवल सिनेमामा हुन्छ, जहाँ सुगन्ध रिलमा होइन, स्किनमा छर्कनुपर्छ र बनाउनुपर्छ- सुगन्धित छालाको थैली। तिनीहरूसँग त इमान थियो, एकजनाले खल्तीमा हात हाल्दा निस्केको सूर्तीको पोको मिच्दै जाँदा थपिएका आगन्तुकहरूका लागि 'नाइँ', 'छैन' भन्ने शब्द कहिल्यै निस्किएन। बरु ऊ गरीब भएकोमा सुर्ता छैन तर आममान्छेले बनाएको धारणाप्रति आपत्ति छ। गाउँ, पहाड सबैतिर सबै किसिमको गरिबी छ भन्नेमा उनीहरू मान्न तयार छैनन्। अँगेनाको चारैतिर बसेर गाउँखाने कथा हाली आलु पोलेर खाइरहेका भरभराउँदा आँखाहरूमा उम्रेको साज बिहानसम्म मर्दैन। स्टिलको गिलासमा चिया पिउन रसाइरहेको साइकल, पदयात्रा गन्तव्यमा रोकिन्छ।

आम ग्रामीण मादकतालाई खाने पूजाको परपुरुष गमन गोमन सर्पको थैलीमा थपक्क बसेको बिष बरु मान्छेका लागि काम आउने भयो, तर ऊ हरदिन, हररात, हरपल बिष निकालिरहेकी छे, थैला बोक्नेहरूलाई बाँडिरहेकी छे। मान्छेले बनाएको बिष रसायनिक तत्त्व विकार जस्तै हो, त्यहाँ अहोभाव नभई कुविचारले बिउ गाढ्छ, व्यभिचारको बाली फस्टाउँछ र शहर शहर जस्तै बनेर दुर्गन्ध फैलाउँछ। हिनहिनाइरहेकी युवतीको साथ दिक्क श्रीमानहरूका निम्ति माथ दिने अस्थायी गाइडबुक हुन्छ। केरमेर गरिएका कुच्चिएका पृष्ठहरू मांसवृक्षमा मडारिन्छन्, अन्तिम स्वप्न यही हो, स्वर्गको द्वारमा पुग्छु भनेर दौडिएका छन्। युवती द्वारपाल नभएको सर्वाङ्ग अस्पतालमा सर्वाङ्ग भई चौधरी चिकित्सकसँग तामाको तारको मोलमोलाई गर्छे बाडाको भेषमा। आधुनिक समाज सुरक्षित, भरपर्दो 'कपर टी' नामले प्रचार गरिरहेको छ तर त्यो तामाको तारबाट आवाज आउँदैन। फेरि सुरक्षित अवतरणको खोजमा युवती पारिवारिक चिकित्सकको शरणमा पुग्छे, सायद चिकित्सकको पदयात्रा पनि लयात्मक थिएन, त्यसैले लाग्थ्यो- ऊ पनि आफूले गरेका कर्तुतहरूका कारण हिँडाइमा तारतम्य मिलाउन सकिरहेकी थिइन।

लास्ट फर द रोड

तामाको जालोले पोलेको नाविक फेरि तलाउमा डुङ्गा खियाउनेछैन भनी आफैँसँग प्रण गर्छ तर बाल्यकालको चिप्लेटीसँग भन्नलाई स्मृतिमा धेरै कथा छोपिएर बसेका हुन्छन्। ती अकथा बालसखा आएपछि मात्र खुल्छन्। शब्दका साधकहरूका लागि त यो बहादुर कथा पर्याप्त छ। सुदूरपश्चिमको भुरा राजधानीको मध्यभागमा बस्ने बासी आइमाईको पीत प्रार्थनाले जुर्मुराएर उठ्यो। भावनाहरूको सम्प्रेषण शब्दमा हुन्थ्यो त सबै महान् लेखकहरू महान् चिन्तक हुने थिए सायद!

ऐठन पार्ने रात्रीकालीन पूजाको प्रार्थनादेखि प्रसन्न विगत हिमताल फुटेको छ, कुमारीको प्रथम रजस्वाला जसै बाहिरिनुपरेको छ। विवेकको भारी गहुँगो भएपछि निरकलम थामिएको छ। स्तुतिभञ्जक साधनाबाट त्रसित, प्रौढ आत्मा एकाबिहानै नारायणहिटीको सार्वजनिक पार्कमा विचरण गरिरहेको भेटियो भने त्यो व्यक्ति नै अल्पायुमै स्वैच्छिक अवकास लिएको मिस्टर बिक्रम हुनेछ, जो आफ्नी मिस्टिक मिस्टरेसको खोजमा वर्षौँदेखि पर्खिरहेको छ। रोयल गार्डेन एन्जलको प्रतीक्षा गरिरहँदा एडनको सम्झना दिलाउँछ, युगल जोडीको पहिलो अवतरण। सारा जगतलाई पारदर्शी भई सर्वाङ्ग हेरिरहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.