बैतडी : मदिरा पिएका एक व्यक्तिले बैतडीको पुर्चौडी नगरपालिकाका वडाअध्यक्षमाथि आइतवार कुटपिट गरेका छन्। पुर्चौडी नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रामबहादुर ऐरमाथि कुटपिट भएको हो ।
वडाअध्यक्ष ऐरलाई सोही वडाका ३७ वर्षीय धर्मानन्द बडुले कुटपिट गरेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।
उक्त वडास्थित गलिनाथ मावि वडगाउँमा स्थापना गरिएको क्वारेन्टाइनमा मदिरा पिएर हल्ला गरिरहेका बडुलाई सम्झाउन खोज्दा वडाअध्यक्ष ऐर कुटिएका हुन्। 'कुटपिट गर्ने बडुलाई नियन्त्रणमा लिइएको छ', पाण्डेयले भने, ‘मदिरा पिएर मातेका बडुले वडाअध्यक्षमाथि कुटपिट गरेको भन्ने खुल्न आएको छ।’
वडाअध्यक्षलाई कुटपिट गर्ने बडुलाई कानुन बमोजिम कार्बाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । वडाअध्यक्षको अवस्था सामान्य रहेको छ।
यसअघि चैत १२ गते राति पुर्चौडी नगरपालिका-५ स्थित कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामी पनि क्वारेन्टाइनमै कुटिएका थिए। अहेब धामीलाई स्थानीय नरेन्द्र जागरीले राति साढे १० बजेतिर कुटपिट गरेका थिए। जागरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।