|

काठमाडौं : बिभिन्न १० विद्यार्थी संगठनले फागुन १४ गते हुन लागेको स्ववियु निर्वाचनलाई १ दिन भएपनि अघि वा पछि सार्न अनुरोध गरेका छन्। त्रिभुवन विश्वविद्यालयले तीन ठूला दल निकट विद्यार्थी संगठनसँग मात्रै छलफल गरेर मिति घोषणा गरेकोले त्यो मिति अमान्य भन्दै उनीहरुले उपकुलपति प्रा. डा. तिर्थ खनियाँलाई मिति सार्न अनुरोध गरेका हुन्।

शुक्रबार नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरम नेपाल, नेकपा क्रान्तिकारी माओवादी निकटको अखिल (क्रान्तिकारी), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी निकटको अखिल (क्रान्तिकारी), संघीय विद्यार्थी युनियन, नेपाल विद्यार्थी मञ्च, तराई मधेस विद्यार्थी फ्रन्ट, समाजवादी विद्यार्थी संघ, विद्यार्थी मञ्च र नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्टले उपकुलपतिलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाउदै त्रिविले विद्यार्थी संगठनहरुसँग छलफलमा आफूहरुलाई समेत संलग्न गराई अनेरास्ववियू, नेविसंघ र माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को सिन्डिकेट तोड्न आग्रह गरेका हुन्।

नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) का महासचिव दिपेन्द्र चलाउनेले फागुन १४ गते भएको स्ववियु चुनावको मिति घोषणामा १० संगठनको अपनत्व नभएकोको बताए। 'स्ववियु चुनावको मिति फागुन १४ जुन गरेको छ त्यसमा हाम्रो सहभागिता भएन', चलाउनेले भने, 'सबै संगठनको स्वामित्व स्थापित गर्न चुनाव १ दिन भएपनि सार्नुपर्छ।' उनले पार्टीको महाधिवेशनको बेलामा स्ववियु निर्वाचनको मिति राखेकोले चुनावमा भाग नलिने जानकारी दिए। उनले भने, 'त्रिविले जानाजान समय जुधाएकोले स्ववियुमा सहभागी हुने वातावरण बनेन।'

त्यस्तै नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठनका संयोजक सेवन्तराज भण्डारीले त्रिविले जानाजान आफूहरुलाई बाहिर राखेर चुनाव गराउन खोजेको बताए। उनले भने, 'मिश्रित प्रणालीमा हुने चुनावमा भएपनि जाने भनेर पोजेटिभ भएका थियौं, तर हामीलाई सोध्दै नसोधी चुनावको मिति घोषणा गर्‍यो।'

समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राईले त्रिविले प्रहरी प्रशासन लगाएर चुनाव गराउन नसक्ने बताए। उनले उपकुलपतिलाई भने, 'तपाईको सुरक्षा हामी गर्छौं, तर यो निर्वाचनमा हाम्रो स्वामित्व स्थापित होस्।' नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्टका अध्यक्ष जेपी यादवले भने, 'त्रिविले हामीहरुलाई बाहिर राखेर ज्ञानेन्द्रले नगर निर्वाचन गरेको जस्तै झल्को दिएको छ।'

त्यस्तै विद्यार्थी नेताहरुले स्ववियुमा पूर्ण समानुपातिक प्रणाली लागु गर्नुपर्ने र विभिन्न क्याम्पसहरुमा भइरहेको भर्ना प्रक्रिया रोक्नका लागि उपकुलपतिलाई आग्रह गरेका थिए।

उप कुलपति खनियाँले भने स्ववियु चुनावको मिति नसर्ने बताए। उनले भने, 'फागुन १४ गते चुनाव हुने भन्ने १ वर्ष पहिल्यै घोषणा भएको हो। त्यसैले यो मिति सर्दैन।' उनले विप्लव माओवादीको महाधिवेशन र स्ववियु निर्वाचनको मिति संयोगवश जोडिएको बताए। उनले सबै विद्यार्थीहरुसँग अगामी दिनमा छलफल गर्ने बताए। उनले भने, '१३ विद्यार्थी संगठन दर्ता भएका छन्, अरु पनि होलान्। २ वा ३ संगठनसँग छलफल गर्दा त यस्तो भीड हुन्छ। तैपनि मिलाउछौं।'

१० विद्यार्थी संगठनका ३ माग:

१. हाल निर्णय गरी ल्याइएको मिश्रित निर्वाचन प्रणालीले सही अर्थमा समानुपातिक निर्वाचन प्रणालीको मर्म बोध गर्न नसक्ने हुनाले यस वर्षको निर्वाचन मार्फत पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गरियोस्।

२. सिनेट लगायत अन्य महत्वपूर्ण बैठक र निर्णय प्रकृयामा रहेको अमुक संगठनहरुको सिन्डिकेट तत्काल अन्त्य गरी सबै निर्णय प्रक्रियामा क्रियाशिल सम्पूर्ण विद्यार्थी संगठनहरुको सहभागिता र स्वामित्व कायम गरियोस्।

३. चुनावको कार्यतालिका आउने पूर्वसन्ध्यामा भर्नाको नाममा भएका सम्पूर्ण एकमुष्ट भर्ना तत्कालै खारे गरी नियमित विद्यार्थीहरुको मात्रै सहभागितामा निर्वाचन गर्ने वातावरण तयार गरियोस्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.