|

काठमाडौं : चिकित्सा शिक्षा सुधारका बिभिन्न माग राखेर आइतबार आमरण अनसनमा बस्न लागेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीलाई रोक्न अस्पतालभित्रैबाट दबाब बढेको छ।

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डिन कार्यालय र त्रिवि शिक्षण अस्पताल कर्मचारी इकाइ संघले आइतबार विज्ञप्ती जारी गरी अस्पतालभित्र अनसन नबस्न केसीलाई आग्रह गरेका हुन्।

डिन कार्यालयका निमित्त प्रमुख विमलकुमार सिन्हाले जारी गरेको विज्ञप्तीमा आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ अनुसार चिकित्सा सेवा एवं अनसन र विरोध प्रदर्शन गर्न नपाइने भन्दै अस्पतालभित्र अनसन नगर्न आग्रह गरिएको छ। डिन कार्यालयले त्रिवि शिक्षण अस्पताल परिसरका सबै क्षेत्र संवेदनशील क्षेत्रभित्र पर्ने भएकाले विरोधको कार्यक्रम नगर्न आग्रह गरेको हो।

त्यस्तै त्रिवि शिक्षण अस्पताल कर्मचारी इकाइले पनि अस्पताल परिसरमा डा. केसीलाई अनसन रोक्न माग गरेको छ। त्रिवि शिक्षण अस्पताललाई केसीले अनसनस्थल बनाउँदा अस्पताल बन्द भइ नागरिकले स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारबाट वञ्चित हुनुपरेको इकाइले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

यसअघि बसेको अनसबाट अस्पतालमा भएको क्षतिको क्षतिपुर्ति हुन नपाउँदै फेरि अनसनस्थल बनाउन खोज्दा आफु कार्यरत संस्था धरासायी हुने भएकाले त्यहाँ अनसन नबस्न केसीलाई इकाइले सचेत गराएको छ। इकाइले डा. केसीको अनसनसमा सहयोग गर्ने चिकित्साशास्त्र अध्ययन संस्थानका कर्मचारी र विद्यार्थीलाई पनि केसीलाई साथ नदिन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.