पदाधिकारीबीच अरोप प्रत्यारोप

|

नवलपरासी : रामग्राम नगरपालिकाले वितरण गरेको खाद्यान्न गुणस्तरहीन पाइएको छ। नगरपालिकाले वितरण गरेकोे चामल र सोयाबिन गुणस्तरहीन भएको सर्वसाधरणले गुनासो गरेका छन्। नगरपालिकाले पहिलो चरणमा वडा नम्बर १ देखि १३ वडामा राहात वितरण कार्य सुरु गरेको हो। सुरुकै चरणमा राहात सामाग्री गुणस्तरहीन र उपभोग गर्न समेत नमिल्ने भएको सर्वसाधरणको गुनासो छ।

राहातमा प्राप्त गरेको खाद्यान्न गुणस्तरहीन भएपछि वडा नम्बर ६ का स्थानीयले वडाध्यक्ष जितेन्द्र अग्रहरीको घरमै  लगेर पालिदिएका छन्। कतिपयले  नगरपालिकाको गेटमा नै लगेर फालिदिएका छन्। यस्तै, चामलको तोकिएको भन्दा तौल पनि कम भएको पनि उनीहरुले गुनासो गरेका छन्। 

नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले राहत सामग्री गुणस्तरहीन भएको स्वीकार गर्दै आवश्यक छानविन अगाडि बढाएको बताए। उनले कमसल चामल फिर्ता गरेर गुणस्तरीय चामल लैजान आग्रह गरेका छन्। 

नगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका वडा नम्बर १५ का अध्यक्ष धनपत यादवले नगर प्रमुख र प्रमुख प्रशासकीय  अधिकृतले सबै काम आफैँ गर्ने र विषयगत समितिहरुलाई क्रियाशील नबनाउँदा अहिलेको परिस्थिति आएको आरोप लगाएका छन्। आफू विपद व्यवस्थापन समितिको संयोजक भए पनि हरेक पटकको बैठकमा नगर प्रमुख गुप्ताले नै संयोजकको भूमिका निर्वाह गरी आफूलाई जिम्मेवारीविहीन बनाएको समेत गुनासो गरे।

उनले पनि राहात सामग्री गुणस्तरहीन भएका स्वीकार गरेका छन्। वडा नम्बर १५ मा भने अहिलेको राहत सामाग्री वितरण नगर्ने उनले बताए। नगर प्रमुख गुप्ताले वडा नम्बर ६ का अध्यक्ष जितेन्द्र अग्रहरीसँग मिलेर पटवारी बनियामार्फत चामल खरिद गरेको  बताए। वडा अध्यक्षहरुसहितको बैठकमा छलफल गर्दा र चामलको गुणस्तर हेर्न खोज्दा राम्रो चामल देखाएको र वितरण गर्ने समयमा नराम्रो चामल वितरण भएको उनको दाबी छ।

उप प्रमुख रम्भा कुँवरले भने चामल प्याकेजिङ गर्ने बेलामा आफूले अनुगमन गर्दा गुणस्तरहीन र कालो भएको पाइएपछि त्यस सम्बन्धमा जानकारी गराए पनि प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद रेग्मीले नगर प्रमुखले हेरिसक्नुभएको भनेर जानकारी गराएको बताइन्। उनले नगर प्रमुख गुप्तासँग चामल गुणस्तरहीन भएको र वितरण गर्न नहुने बताए पनि सुनुवाइ नभएको दाबी गरिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.