|
फाइल फोटो

काठमाडौं : तराई केन्द्रित मेची महाकाली अभियानका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फागुन २१ देखि मधेस झर्दैछ। सुखानी हत्याकाण्ड भएको दिनदेखि सहिदहरुको सम्झनामा १४ दिने अभियान सञ्‍चालन गर्ने एमालेको तयारी छ।

एमालेले झापाको काँकडभिट्टाबाट अभियान सुरु गर्दैछ। अभियानमा तराई–मधेसका जिल्लामा ३४ वटा आमसभा गरेर चैत ५ गते सुर्खेतमा समापन गर्ने कार्यतालिका छ। 

नेपाली समाजमा सामाजिक सद्‍भाव विथोलेर विभाजनको बीउ रोप्ने छुद्र प्रयास भइरहेकाले मधेसका देशभक्त जनताको बीचमा अभियान सञ्चालन गर्न लागेको एमाले सचिव प्रदीप ज्ञवाली बताउँछन्। 'यो पार्टीको अभियान त हो नै। सँगसँगै राष्ट्रिय अभियान, सामाजिक, सांस्कृतिक अभियान हो' नेता ज्ञवाली भन्छन्, 'राष्ट्रिय एकता र सामाजिक सद्‍भावलाई प्रबर्द्धन गर्ने कार्यक्रम हुनेछ।'

कार्यकर्ता र नेता गरी १५ लाख जना परिचालन 

मधेसका जिल्लाहरुमा एमालेले अभियानको तयारी सुरु गरिसकेको छ। अभियानका क्रममा कोही पनि पार्टी सदस्य निश्क्रिय नबस्ने सचिव प्रदीप ज्ञवाली बताउँछन्। 'अभियानमा हामी हाम्रा सबै तहका कमिटीहरु तथा नेता, कार्यकर्ताहरु परिचालन गरेका छौं। हाम्रा एकजना पनि पार्टी सदस्य अभियानको क्रममा खाली बस्ने छैन' ज्ञवालीले भने, 'देश यस्तो अभूतपूर्व संकटमा परेको बेलामा पनि काम नलाग्ने हाम्रा संगठन वा हाम्रा सदस्यहरु कुनै कमिटीहरु ती एक किसिमका बहिरा जस्तै हुन्।'

अभियानका झण्डा, ब्यानर र झाँकी सहित प्रदर्शन र सांस्कृतिक कार्यक्रमहरु पनि सञ्चालन हुन्छन्। स्थानीय समुदायलाई लक्षित गरेर एमालेले नेपाली, मैथिली, भोजपुरी, डोट्याल लगायतका भाषाहरुमा प्रचार सामग्री तयार पारेको छ।

अभियान सञ्चालनका तीन कारण

अभियानमा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि सबै शीर्ष नेताहरु सहभागी हुनेछन्। मेचीको काँकडभिट्टादेखि महाकालीको महेन्द्रनगर हुदै सुर्खेतको वीरेन्द्रनरसम्म अभियानमा अध्यक्ष ओली झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल लगायतका नेताहरु सहभागी हुनेछन्। 

अभियानको प्रमुख तीन उद्देश्य रहेको एमाले सचिव ज्ञवाली बताउँछन्। जसमध्ये पहिलो-संविधान कार्यान्वयनका लागि जन दबाव सिर्जना गर्ने। दोस्रो-राष्ट्रियता प्रवर्द्धन गर्ने। तेस्रो- मधेसमा एमालेको जनाधार देखाउन। पार्टीका वरिष्ठ नेताहरुको भूमिगत जीवन बितेको ठाउँ मधेस भएको र त्यहाँ अहिले पनि एमालेसँग जनाधर छ भनेर देखाउन यो अभियान चलाउन लागिएको ज्ञवाली बताउँछन्। यो अभियानपछि मधेसमा एमाले बहुमतसहित पहिलो पार्टी बन्ने एमालेको दावी छ। 

मधेसमा होली र आठ मार्च

एमाले अभियानकै क्रममा अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) र मधेसमा महत्वका साथ मनाइने होली पर्व पर्छ। मधेसका जनताको घर घर पुग्ने र वस्ती सरसफाइदेखि होली पर्व र महिला दिवस मधेसकै वस्तीहरुमा मनाउने सचिव ज्ञवाली बताउँछन्। अभियानकै क्रममा बिभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, जेष्ठ नागरिक, शहीद परिवारको सम्मान गर्नेदेखि विकास निर्माणका क्रममा श्रम शिविर लगायतका गतिविधि सञ्चालन गर्ने एमाले तयारी छ। 

आमसभा कहिले र कहाँ ?

फागुन २१ गते : काँकडभिट्टा, बिर्तामोड र दमक 

फागुन २२ गते : विराटचोक, इटहरी 

फागुन २३ गते : इनरुवा, राजविराज, कञ्चनपुर 

फागुन २४ गते : गोलबजार 

फागुन २५ गते : जनकपुर, बर्दिवास 

फागुन २६ गते : हरिपुर, गरुडा, चन्द्रनिगाहापुर

फागुन २७ गते : जितपुर, हेटौंडा 

फागुन २८ गते : भण्डारा, भरतपुर, कावासोती

फागुन २९ गते : भुमही, भैरहवा, बुटवल

फागुन ३० गते : चन्द्रौटा, लमही, घोराही 

चैत १ गते : नेपालगञ्ज, गुलरिया 

चैत २ गते : राजापुर, टीकापुर, लम्की 

चैत ३ गते : धनगढी, महेन्द्रनगर 

चैत ४ गते : महेन्द्रनगर -पत्रकार सम्मेलन

चैत ५ गते : सुर्खेत

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.