कोषमा जम्मा भयो एक अर्ब ९८ करोड ६७ लाख ७६ हजार

|

काठमाडौं : सरकारले कोरोना भाइरस नियन्त्रणका लागि ६ 'टी' को रणनीति अपनाएको छ। कोराना भाइरस सक्रमितको संख्या बढिरहेका बेलामा सरकारले रोकथाम तथा नियन्त्रणका लागि नयाँ रणनीति अघि सारेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रका लागि अहिले मुख्य ६ वटा 'टी'को शुत्रसँगै आफ्ना रणनीतिहरु अगाडि सारिएको बताएका छन्।

सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक अर्ब ९८ करोड ६७ लाख ७६ हजार ७ सय ६० रुपैयाँ जम्मा भएको पनि जनाएको छ।

पहिलो टी : ट्राभल रेष्ट्रिक्सन

यसका लागि आवतजावत नै बन्द गर्ने हो। जसका लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्ग बन्द गरिएका छन्। नेपाल भित्र पनि गत चैत्र १० गतेदेखि लकडाउनको अवस्था छ।

यो अवस्थामा विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरु क्‍वारेन्टाइनमा रहनु जरुरी छ। जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्न पाउँदैन। हाल धेरैजसो देशहरुले यो रणनीति अपनाएका छन्। यो प्रभावकारी सावित भएको छ।

लकडाउनले सर्वसाधारणलाई केही असहजता भएको छ तर देशलाई संक्रमणबाट बचाउन यो कुरा अपरिहार्य रहेको भन्दै सबैभन्दा पहिले विदेशबाट आएका संक्रमितको संसर्गमा रहेकाको परीक्षण भइरहेको ढकालले बताएका छन्।

दोश्रो 'टी'  टेष्टिङ्ग   

यसअन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनका सबै व्यक्तिहरुको नमुना परीक्षण गरिन्छ। होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पनि आवश्यकता अनुसार नमुना परीक्षण गर्ने नीति लिइएको छ।

कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधिमा गर्ने भन्‍ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा हामीले कार्यविधि बनाई व्यवस्थित गरेका छौँ। हाम्रो हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरै भन्दा धेरै व्यक्तिहरुलाई सो दायरामा ल्याई परीक्षण गर्नु रहेको बताइएको छ।

तेश्रो टी : ट्रेसिङ्‍ग

ट्रेसिङ्‍ग भन्‍नाले संक्रमित व्यक्तिका परिवार नजिकका व्यक्तिहरु जोसँग ती संक्रमितहरु सम्पर्कमा आए, त्यस्ता व्यक्तिहरुलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो।

'हामीले धेरैजसो संक्रमितहरुको ट्रेसिङ्ग कार्य पुरा गरिसकेका छौँ', ढकालले भने, 'पछिल्लो समयमा पहिचान भएका संक्रमितहरुको ट्रेसिङ्ग भइरहेको छ। यो कार्य इपिडिमियोजलोजी तथा रोग नियन्त्रण महाशाखाले व्यवस्थित रुपमा गर्दै आइरहेको छ।'

चौथो टी :   ट्रयाकिङ्ग

सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा आवत जावत भएमा त्यसको एकिन गरी उनीहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्र्याकिङ्ग हो।

यसका लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु तथा स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेवसाइटमार्फत ट्रयाकिङ्गलाई थप व्यवस्थित गरिएको छ।

यस कार्यलाई अझ थप व्यवस्थित गर्न व्यक्तिहरु क्वारेन्टाइनमा रहे नरहेको अनुगमन गर्नुपर्ने हुन्छ। यस कार्यका लागि मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको छ।

त्यसका साथै स्थानीय तह तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, मिडियाकर्मीहरु र सम्बन्धित सबै सरोकावालाहरुलाई यस कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि मन्त्री ढकालले आग्रह गरेका छन्।

पाँचौ टी : ट्रिटमेन्ट    

हालसम्म नेपालमा १३ जना संक्रमितको संख्या रहेको छ। जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन्। १२ जना विभिन्‍न अस्पतालमा उपचाररत छन्। उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ।

सम्भावित संक्रमणको संख्या आँकलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले रणनीति तय गरेको छ। कोरोना संक्रमितको उपचारका लागि काठमाडौं उपत्यकाका र उपत्यका बाहिरका विभिन्‍न अस्पतालहरुलाई तोकिएको छ।

'कोरोना संक्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निशुल्क गर्ने प्रबन्ध गरेको छ', ढकालले भने, 'कोरोना संक्रमण बाहेकका आकष्मिक सेवा र निरन्तर उपचारका क्रममा रहेका बिरामी थप समस्यामा नपरुन् र उनीहरुलाई सर्वसुलभ सेवा प्रवाह होस् भन्‍नका लागि मन्त्रालय गम्भीर छ।' त्यस्तो सेवा प्रवाह गर्ने आवश्यक प्रबन्ध मिलाउन सरकार निरन्तर लागिपरेको ढकालले बताए। 

छैटौं टी :  टुगेदर    

'कोरोना संक्रमणको यो सम्भावित महामारी रोक्न स्वास्थ्य मन्त्रालय मात्र होइन सिंगो देश नै लागिपरेको छ', उनले भने, 'उच्चस्तरीय समितिदेखि लिएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विभिन्‍न तहमा कमिटी बनाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको छ। 

यसका अतिरिक्त अन्य मन्त्रालयहरु तथा निकायहरुमा समेत विषयगत समितिहरु सक्रिय रहेका ढकालले बताए। यस कार्यमा स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, अत्यावश्यक दैनिक उपभोग्य सामानहरुको व्यवस्था गर्नेहरु, सरकारी तथा गैह्रसरकारी संघसंस्था तथा सञ्चारमाध्यम लगायतसबै मिलेर कोरोना भाइरस संग लड्ने नीति रहेको मन्त्री ढकालले जनाएका छन्।

यस संक्रमणको नियन्त्रण र रोकथाममा आवश्यक पर्ने पीपीई, परीक्षणका लागि आवश्यक सामग्री लगायतका अन्य वस्तुहरुको विश्वव्यापी अभाव रहेको ढकालले बताए। 'महामारीको यो लडाईंमा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेण्टीको रणनीति अघि सारिएको छ', मन्त्री ढकालले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.