|

बुटवल :  जनान्दोलन २०६२÷०६३ मा नागरिकस्तरबाट संकलन गरी आन्दोलनमा घाइतेको उपचारबाट बचेको रकम कोरोना विशेष अस्पताललाई प्रदान गरिएको छ।

बुटवलका समाजसेवी बावुराम भट्टराईको संयोजकत्वमा गठित जनआन्दोलन आकस्मिक राहत कोष व्यवस्थापन समितिले उक्त रकम बुटवल धागो कारखानामा निर्मित कोरोना विशेष अस्थायी अस्पतालका लागि बुधबार हस्तान्तरण गरिएको हो। संयोजक भट्टराईले सो रकम प्रदेश सरकारका उदोग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीलाई हस्तान्तरण गरे।

उक्त समयमा कोषमा जम्मा भएको रकममध्ये जनान्दोलनका घाइतेको उपचार गरेर केही बचत रहेको थियो। तत्कालीन अवस्थामा घाइतेको उपचारबाट बचेको रकमबाट लुम्बिनी अंचल अस्पतालमा बिरामी प्रतीक्षालय निर्माण गरी बाँकी  पाँच लाख ८७ हजार ४९५ कोरोना उपचारका लागि बनाइएको कोषमा हस्तान्तरण गरिएको हो।

उक्त रकम बैंकमा रहिरहनाको कुनै औचित्य नरहेकाले अहिलेको विशेष परिस्थितिमा अस्पताल निर्माणका लागि बाँकी रकम हस्तान्तरण गरिएको अध्यक्ष भट्टराईले बताए।

यस्तै कोभिड–१९० को जोखिम नियन्त्रण तथा रोकथामका लागि खटिएका सुरक्षाकर्मीका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा सङ्गठन राष्ट्रिय युवा सङ्घ पश्चिम नवलपरासीले व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई) उपलब्ध गराएको छ।

भाइरसको जोखिमबाट नागरिकलाई जोगाउन विशेषगरी सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीका लागि ४१ थान पिपिई प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई हस्तान्तरण गरिएको र युवा सङ्घका जिल्ला संयोजक युवराज डुम्रेले जानकारी दिए।

यस्तै रुपन्देहीको भैरहवा क्याम्पसमा अध्ययनरत विद्यार्थीको संस्था राइजिङ क्लबले सिद्धार्थनगर नगरपालिकाको कोरोना विपद् कोषमा रु ११ हजार १११ जम्मा गरेको छ । क्लबले नगर प्रमुख हरिप्रसाद अधिकारीलाई उक्त रकम हस्तान्तरण गरेको हो। क्लबका अध्यक्ष सागर न्यौपानेले देश महासंकटमा परेको बेला सदस्यले पनि सकेको आर्थिक सहयोग गरौंँ भनेर उक्त सहयोग गरिएको बताए। पाल्पाको रामपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा पनि नेपाली कांग्रेस रामपुर नगरले रु एक लाख ७७ हजार बराबरको राहत सहयोग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.