|

कञ्चनपुर : लकडाउनबाट प्रभावित सुदूरपश्चिमका चार जिल्लाका २२५ अतिविपन्न मुक्त हलिया परिवारलाई राहत वितरण गर्न कञ्चनपुरबाट राहत सामग्री बोकेको ट्रक आज बिहान पहाडी जिल्लातर्फ पठाइएको छ।

लुथरन विश्व फेडरेसन नामक संस्थाको सहयोगमा राष्ट्रिय हलिया मुक्त समाज महासंघले राहत सामग्रीसहितको ट्रक पठाएको हो। डडेल्धुरा, बैतडी, डोटी र कञ्चनपुर जिल्लामा वितरणका लागि नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका राहत सामग्री पठाइएको महासंघका अध्यक्ष ईश्वर सुनारले बताए।

'६७ किन्टल ५५ किलो चामल, ६  क्विन्टल ७५ किलो दाल, चार क्विन्टल ५० किलो नुन, चार क्विन्टल ५० किलो चिनी, नौ सय थान सावुन र ४५० लिटर खाने तेल मुक्त हलियाका लागि पठाईएका छौं,' उनले भने, 'साँझ विहानको छाक टार्न समस्याका भएका अति विपन्न मुक्त हलिया परिवारका लागि राहत सामग्रीको व्यवस्था गरेका हौं।' स्थानीय तहका जनप्रतिनिधि र जिल्लास्थित मुक्त हलिया संघ संस्थाको समन्वयमा राहत सामग्री वितरण गरिने उनको भनाई छ।

कञ्चनपुरका ६५, डडेल्धुराका ६०, डोटीका ५०, बैतडीका ५० गरी दुई सय २५ परिवार मुक्त हलियाका प्रतिपरिवारलाई ३० किलो चामल, दुई किलो दाल, दुई लिटर खाने तेल, दुई किलो नुन, चार वटा सावुन र दुई किलोका दरले चिनी वितरण गरिने छ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम गर्नका लागि देशमा लकडाउन गरिएपछि त्यसको प्रत्यक्ष असर मुक्त हलिया परिवारलाई परेको छ। धेरै मुक्त हलिया परिवार भोक भोकै बसेको खवर र गुनासो आएकाले तत्काल राहतको व्यवस्था गरिनुपर्ने भएकाले दातृ संस्थालाई गुहारिएको सुनारले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.