|
गीता मानव, सडकमा(बायाँ) र पुनर्स्थापनापछि

  • नारायण ढुंगाना 

चितवन : हातमा पुरानो घाउ। घाउमा किरैकिरा। एउटा औला किरा परेरै झरेको। शरीरभरि कमिलैकमिला। दुर्गन्धले मान्छे छुन डराउँथे। सडकमै खानेकुरा खोज्ने र खाने। सडककै फोहोर खानेकुरामा गुजारा चल्थ्यो। नारायणगढ मुग्लिन सडकको रामनगर स्थित सडकपेटीको बास। 

प्रहरीको सूचनाका आधारमा मानवसेवा आश्रमका अभियान्ताहरू अनिता अधिकारी र रूपा केसी पुग्दा गीता मानव (पछि राखेको नाम) यस्तो अवस्थामा भेटिइन्। ठेगाना थाहा छैन तर विदेशी नागरिक हुन् उनी। आवश्यक उपचार र मनोविमर्श सेवा दिइयो।

‘२०७२ फागुन ११ गतेको त्यो दिन। ‘सम्झिँदा पनि आङ सिरिङ्ङ हुन्छ’, अभियान्ता रूपाले भनिन्। सडकपेटीबाट उद्धार गरिएको एक वर्षमा उनको ‘कायापलट’ भएको छ। जीवन नै फेरिएको छ। किरा परेका घाउमा खाटा बसिसकेको छ। मुहारमा चमक छाएको छ। आश्रमका अन्य असहायको सेवामा जुट्छिन्। सरसफाइ गर्छिन्।उनीजस्तै कष्टकर सडक जीवन विताउँदै थिइन्, जोया। उनको ठाउँ ठेगाना र थर अझै थाहा छैन । भरतपुर वीरेन्द्र क्याम्पसअगाडि सडकपेटीमा पुरुषको भेषमा थिइन्। रिसाहा स्वभावकी उनी कतिलाई पिट्थिन पनि। सडकमा फ्याँकिएका खानेकुराले पेट भरिन्थ्यो। उनलाई पनि आश्रमले २०७२ सालको पुस १४ गते उद्धार गर्यो । तर आश्रमबाटै ४ पटक भागिन् । पटकपटक सडकमा रातभर खोजेर ल्याई उनको मानसिक उपचार गरियो।

त्यसपछि विस्तारै परिवर्तन भएकी जोया अहिले सेवा गर्न थालेकी छिन् । कपडा धुन सघाउँछिन् । असहायहरुको सेवामा सहयोग गर्ने र सरसफाइ गर्ने काममा अग्रसर छिन्। ‘म घर जान्छु,भन्नुहुन्छ, आश्रमकी चितवन संयोजक रुपाले भनिन्, घर नै थाहा छैन कसरी पुर्‍याउने?’आश्रमले दशकौंदेखि घरैमा दाम्लोमा बाँधिएर बस्न बाध्य मनोरोगीदेखि बलात्कारपछि सडकमै आश्रय लिने गर्भवती सम्मलाई उद्धार गरेको छ। उनीहरुलाई ल्याएर सुत्केरी गराउने र बच्चा पनि हुर्काउँदै आएको छ।

अस्पतालमा आइपुगेका बेवारिसेदेखि विभिन्न जिल्लाबाट उद्धार गरेर पठाइएका अशक्त, अपांग र मनोरोगीको स्याहार सुसार गर्दै आएको छ। मानव सेवा आश्रमका संयोजक रामजी अधिकारी भन्छन्, ‘प्रेमले कुरा गर्छौं, स्याहार–सुसार गर्छौं अनि आफैँ जीवनमा परिवर्तन हुन थाल्छ।’ 

२०६६ बाट सुरु भएको अभियान सुरुमा स्कुल शिक्षा थियो। सर्वाेत्कृष्ट जीवन शाश्वत चिन्तनको नामबाट नैतिक शिक्षा सुरु भएको थियो। २०६९ बाट भरतपुरस्थित बाईपासरोडमा मानवसेवा आश्रम नै चलाएर मानसिक सन्तुलन गुमाएकाहरूलाई सहयोग गरिरहेको छ । सडकबाट उद्धार गरिएका महिलालाई ‘लक्ष्मी’ र पुरुषलाई ‘नारायण’ भनेर पुकारिन्छ ।

अभियन्ताहरू सडकमा भेटिएकालाई ‘जिउँदो देवता’ भएको बताउँछन् । कालिगढले बनाएको मूर्तिलाई दूध चढाउनुभन्दा सडकमा रहेका जिउँदो देवतालाई दूध पिलाउँदा धर्म मिल्ने आश्रमका संयोजक अधिकारीको भनाइ छ।मुठीदानबाट सुरु भएको सेवा अहिले देश विदेशमा रहेका नेपालीहरुले दिएको सहयोगबाट चल्छ।  स्वार्थसहितको सहयोग आश्रममा मान्य छैन । स्वतःस्फुर्त आएको सहयोगबाट उद्धार गरिएकालाई हेरचाह गरिन्छ । यहाँ विज्ञ प्राविधिक र मानसिक रोग विशेषज्ञले नियमित सेवा दिने गरेका छन्। आश्रममा ल्याइएपछि अकुपञ्चर र एक्युप्रेसर थेरापी गरिन्छ। डान्सिङ, क्लापिङ, लाफिङ तथा वाटर थेरापीबाट उनीहरूको उपचार हुन्छ। आवश्यक परेकालाई औषधि समेत प्रयोग गर्ने गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.