'प्रचण्ड, देउवा र ओलीजी सत्ताको खेलमा अल्झनुभयो'

|

भूतपूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई अहिलेको राजनीतिमा धेरै गाली खाने र आलोचना गरिने नेतामध्येमा पर्छन्। सामाजिक सञ्जालदेखि विभिन्न मञ्चहरुमा उनको आलोचना भइरहन्छ। त्यो आलोचना संविधानसभाले संविधान जारी गरेको दिनदेखि नै सुरु भएको हो। तर भट्टराई टसको मस छैनन् बरु एउटा ध्रुवमा उभिएर आफ्नो धारणा राखिरहेका छन्।

भट्टराईले केही समयअघि अमेरिकामा ट्रम्जपस्तै नेपालमा ओलीवादको खतरा हावी रहेको भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका थिए। देश राष्ट्रियताको मुद्दामा ओलीको नेतत्वमा ध्रुवीकृत भइरहेका बेला भट्टराईले किन 'एन्टी करेन्ट' राजनीति गरिरहेका छन्? के उनी एमालेसँग डराएका हुन्? यसै विषयमा रेडियो थाहासञ्चारका लागि दीपेन्द्र कुँवरले गरेको कुराकानी : 



तपाईं पछिल्लो समय एमालेसँग डराउनु भएको हो?

डराउने प्रश्नै होइन। अग्रगामी सोच राख्ने मान्छेहरुले यथास्थितिवाद विरुद्द लडनैपर्छ। हिजो पञ्चायत, राणा शासन विरुद्द लड्नेहरुलाई पनि डराएको भन्न मिल्दैन, त्यो भन्दा अघि जान खोजेको हो। हिजो जनयुद्ध सुरु गर्दा पनि मलाइ पीएचडी गरेको मान्छे जनयुद्ध गर्छु भन्छ, असम्भव छ भन्थे त्यो हामीले गरेर देखायौं। अहिले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगिसकेपछि यसको रक्षा गर्दै समृद्द नेपाल हाम्रै पालामा बनाउनुपर्छ भन्ने जुन सपना देखेर म अगाडि बढिरहेको छु। यो कसैसँग डराएको होइन बरु ठूलो साहस लिएर अगाडि बढेको अवस्था हो।

एमालेले चुनाव जित्छ भनेर आत्तिएको हो कि भन्ने प्रश्न छ नि?

हिजो पनि कोही न कोहीले त चुनाव जितिराखेकै थिए नि। २००७ सालमा क्रान्तिपछि पनि मोहनसमशेर प्रधामन्त्री भए। २०३६ सालमा पञ्चायतले जनमत संग्रह जित्यो। बहुदलपछि कांग्रेस र एमालेलाई कसैले चलाउनै सक्दैन भनेकै थिए। माओवादी आएपछि उसले नै सधैँ लान्छ क्यारे भनेकै थिए। फेरि माओवादी पनि कहाँ पुग्यो हामीलाई थाहै छ। अहिले क्षणिक रुपमा को अगाडि आउँछ भन्ने कुरा प्रमुख होइन। हामी दीर्घकालिन सोच राख्ने मान्छेले वैज्ञानिक र सही कुरामा अडान लिनुपर्छ। त्यसैले हामी कसैसँग डराएर होइन, साहस गरेर अगाडि बढ्दैछौं।

यो एन्टी करेन्ट राजनीतिक जोखिम किन ?

कुनै परिवर्तनकारी राजनीति त एन्टी करेन्टमा जानैपर्छ नि। एउटा भनाइ छ नि - मरेको माछा पानीको धारसँग बग्छ तर जिउँदो माछा पानीको धार विपरीत बग्न सक्छ। एउटा परिवर्तनकारी र अग्रगामी शक्ति विपरीत धारतिर बग्ने साहस गर्नैपर्छ, हामी बग्न खोजेकै हो।

मेरो कसैप्रति पनि आग्रह, पूर्वाग्रह छैन। मैले अहिले अन्तर्राष्ट्रिय रुपमा नै जुन प्रवृत्ति अगाडि आइरहेको छ र त्यसको प्रतिबिम्ब नेपालमा परेको छ। त्यसको बारेमा बेलैमा आम जनतालाई सचेत गराउनुपर्छ भनेर भूमिका खेलेकै हुँ। एक्काइसौं शताब्दीको सुरुवातसँगै २० औं शताब्दीका वैचारिक, राजनीतिक, आर्थिक डिस्कोर्सहरुको चाहीँ करिब करिब अन्त्य भयो। नयाँ डिस्कोर्सहरु सुरु भइराखेका छन्।

जब पुरानो प्रणालीले काम गर्दैन सङ्कट पैदा हुन्छ त्यसको समाधान गर्ने बेलामै यस्ता डिस्कोर्सहरु सुरु हुन्छन्। यसलाई समग्रमा 'प्याराडाइम सिफ्ट' पनि भनिन्छ। 'प्याराडाइम सिफ्ट' हुन लागेको अवस्थामा पुरानो सोंच, विचार, शैली र प्रवृत्तिले काम गर्न नसक्ने र त्यसमा सङ्कट पैदा भएको हुन्छ। तर नयाँले चाहिँ पूर्ण आकार ग्रहण गर्न सकिरहेको हुँदैन। यस्तो अवस्थामा दुईथरी प्रवृत्ति देखा पर्छन्। एउटा, अत्यन्त भावनात्मक आवेगका कुरा गरेर जनताको पिछडिएको सेन्टिमेन्टल असन्तुष्टीलाई दोहन गरेर घुमाइ फिराइ यथास्थितिवादमा अल्झाइराख्ने। यसले अन्तत चरम अधिनायकवाद, फासीवादको अभ्यास गरेर देश र संसारलाई नै ठूलो सङ्कटमा होम्ने दिशातर्फ लिएर जान्छ।

अर्को प्रवृत्ति भनेको यस्तो बेलामा अग्रगामी, प्रगतिशील, वैज्ञानिक चिन्तनलाई अगाडि सारेर समस्याको समग्र समाधान खोज्ने र मानव जातिलाई अग्रगमनतिर लैजाने, आफ्नो देशका समस्या पनि अग्रगामी ढङ्गले हल गर्ने राजनेताको दृष्टिकोण पैदा हुन्छ। अहिले अमेरिका, रुस, युरोप, टर्की, फिलिपिन्समा हेर्नुस्, हाम्रा छरछिमेकमै पनि हेर्नुस् यस्तो दुईखालको प्रवृत्ति देखापरिरहेको छ।  

तपाईँले पहिलो प्रवृत्ति भनेर नेकपा एमालेका अध्यक्ष ओलीतर्फ लक्षित गर्नुभयो। तर उहाँले अगाडि सारेकै मुद्दामा मुलुक एकीकृत र ध्रुवीकृत भइरहेको छ।

भावनात्मक र आवेगात्मक कुरा गरेर जनतालाई क्षणिक ढङ्गले भ्रमित पार्न बढी सजिलो हुन्छ। अमेरिकामा ट्रम्प भन्नुस्, टर्कीका शासक भन्नुस् चाहे रुसकै भन्नुस्। उनीहरु आफ्नो देशको सङ्कट बाह्य कारणले गर्दा भएको हो भनेर बाह्य दुश्मनी सिर्जना गरेर आफ्नो देशभित्रको सबभन्दा ठूलो भोकल शक्ति लिएर शासन सत्ता सञ्चालन गर्ने काम गर्छन्। यो प्रवृत्तिलाई पपुलिजम् पनि भन्ने चलन छ।

यस्तो बेलामा एउटा राजनेता चाहिँ जनतालाई यथार्थ कुरा चाहिँ यो हो सङ्कट समाधान यो हो, हाम्रा आन्तरिक कारणहरु यी छन्, बाहिरी कारण यी छन् भन्ने वस्तुसङ्गत विश्लेषण गरेर वैज्ञानिक समाधान दिने काम गर्छ। त्यसले चाहिँ थोरै समय लिन्छ। नेपालमा पनि ओलीजी, जो मेरा मित्र हुनुन्छ र उहाँसँग अत्यन्तै सौहार्दपूर्ण कुराहरु हुन्छ, म उहाँलाई पूर्ण सम्मान गर्छु। उहाँले पुरानो इतिहासको कुरा गरेर पछाडितिर फर्काउने र जनतालाई क्षणिक रुपमा ध्रुवीकरण गर्ने प्रयत्न गर्न खोजिराख्नुभएको छ।

मेरो विचारमा उहाँले क्षणिक रुपमा त मानिसलाई भ्रमित पार्न र गोलबन्द गरी सफल पनि हुन सक्नुहुन्छ। तर अन्तत: त्यसले देशको गम्भीर राजनीतिक, आर्थिक, सामाजिक संस्कृतिक समस्याहरु हल हुदैन। केही वर्ष पछि चाहिँ देश चरम सङ्कटमा र विग्रहमा परिणत हुन सक्छ। त्यसैले मैले चाहिँ त्यसको विपरीत रुपमा वैज्ञानिक वस्तु सङ्गत समाधान दिनुपर्छ भनेको छु। देशको बहुजातीय, बहुभाषिक क्षेत्रीय विविधता र चरित्र छ यसमा सबैलाई एकताबद्ध गरेर  समानुपातिक समावेशी प्रतिनिधित्व गराएर राष्ट्रिय एकता कायम गर्नुपर्छ।

दोस्रो कुरा आर्थिक रुपमा देश जर्जर छ गरिबी र बेरोजगारी मुख्य समस्या बनेका छन्। त्यसले गर्दा युवा पुस्ता बडो बेचैन र निराश छ। हाम्रो देशको तिब्र आर्थिक विकासको वस्तुसङ्गत मार्गचित्र प्रस्तुत गरेर छोटो अवधिमा नै देशलाई एउटा आर्थिक फड्को मार्ने दिशामा लानुपर्छ।

तेस्रो कुरा, देशको जुन अत्यन्त जटिल भूराजनीति छ, भारत र चीन ठूला शक्तिको रुपमा उदय हुँदैछन्। उनीहरुको प्रतिस्पर्धा यो क्षेत्रमा बढेर जान्छ। त्यसको बेलैमा ठीक ढंगले अनुसन्धान गरेर हाम्रो देशलाई दुवै देशबीचमा सन्तुलित र गतिशील पुलको रुपमा विकास गरेर देशको स्वाधीनताको रक्षा गर्ने बाटो हिँड्नुपर्छ। हामीले यस्ता कुराहरु उठाउन खोजेका छौं। उहाँले चाहिँ क्षणिक रुपमा जनताको बेचैनी, आक्रोश र निराशालाई आकर्षण गरेर पछाडि फर्काउन खोज्नुभएको छ। यही विषयको चाहिँ वैचारिक द्वन्द्व हो। 

तर संविधान जारी भएपछि भारतीय हस्तक्षेप देखियो, त्यसले राष्ट्रिय स्वाधीनताको मुद्दा त स्वत: प्राथमिक भएर आउँछ नि। तपाईंले भनेको भन्दा पहिला त ओलीजीले भनेको कुरा आउने भो नि त

राष्ट्रिय स्वाधीनता र सार्वभौम सत्ता भन्ने कुरा त निर्विवाद कुराहरु हुन्। जबसम्म राष्ट्र र राज्यहरु रहन्छन् त्यति बेला राजनीतिको मूल तत्व भनेकै राष्ट्रिय स्वाधीनता र सार्वभैम सत्ता हुन्। त्यो कहिल्यै पनि विवादित विषय हुँदैनन्। खाली त्यसको संरक्षण ब्यवस्थापन कसरी गर्ने भन्ने कुराहरु फरक फरक हुन्छन्। एउटा बाह्य शक्तिप्रति घृणा पैदा गरेर जनताको भावनालाई क्षणिक रुपले दोहन गर्ने प्रवृत्ति छ जसलाई नेस्नलिजम वा राष्ट्रवाद भनिन्छ।

अर्को भनेको आफ्नो देशप्रति देशभक्तिको भावना जगाएर आम जनतालाई एकताबद्ध गर्ने र आफ्नो देशका समस्या हल गरेर आफूलाई बलियो बनाएर अनि बाह्य शक्तिको हस्तक्षेप र उत्पीडनबाट मुक्ति खोज्ने। त्यो चाहिँ देशभक्तिपूर्ण बाटो हो। राष्ट्रवाद र देशभक्तिबीच आनतान उत्तरदक्षिण ध्रुवको अन्तर नबुझेर यहा भ्रम भइरहेको छ। हामीले आफ्नो देशलाई माया गर्नु देशभक्ति हो भने अरु देशलाई घृणा गर्नु राष्ट्रवाद हो। हामी देशभक्त हुनुपर्छ, हामीले अरुलाई दोष देखाएर आफ्ना समस्यालाई पन्छाउने बाटो लिनुहुँदैन।

जहाँसम्म भारतको कुरा छ, मैले सुरुदेखि नै भन्दै आएको छु, सुगौली सन्धीदेखि यता भारतसँग असमान सम्बन्धमा नेपालको बाँधिन पुगेको छ। त्यो जालोबाट कसरी उम्कने त्यो मुख्य कुरा छ। त्यसैले बुद्धिमान सचेत मान्छे यस्तो जालो काटेर निस्कने तरिका खोज्नुपर्छ र उम्किुन पर्छ त्यो बुद्धिमानी तरिका हो जालोभित्र बस्या छ उफ्रेको छ, उफ्रेको छ। जति उफ्रिएपनि अन्ततः आफै थाकेर माछा जसरी पछारिन्छ हाम्रो गति पनि त्यही हुन्छ। त्यसैले हामीले त्यो जालो काट्ने उपाय खोज्नुपर्छ।

भारत र चीनको बीचमा गतिशील पुल बन्ने, दुबै देशको बजारको लाभ लिएर अर्थतन्त्रको विकास गर्ने, आन्तरिक एकता सुदृढ गर्ने, हिमाल, पहाड, तराई मधेस जोडेर देशलाई तीब्र विकास र समृद्धिमा लैजानु नै सच्चा देशभक्ति हो।

अहिले दुईवटा दृष्टिकोण देखियो। एउटा ओलीजीको दृष्टिकोण, अर्को तपाईंको दृष्टिकोण। दुबै जनाले मेरो ठीक भने पनि तपाईंको होइन, ओलीजीको दृष्टिकोण ठीक भन्ने देखियो। तपाईंले आफ्नो दृष्टिकोण स्थापित गर्न सक्नुभएन नि?

नयाँ वैज्ञानिक कुरा ल्याउँदा त्यसलाई स्थापित गर्न समय लाग्छ। विज्ञानका ठूला ठूला विचार पनि तुरुन्त स्थापित हुँदैन। २००७ सालमा राणा शासन विरुद्ध लड्दा विदेशका एजेन्ट भनेकै हुन्। पञ्चायती व्यवस्था विरुद्ध लड्दा अराष्ट्रिय तत्व भनेर डामिएकै हो। हामी माओवादीहरुले जनयुद्ध सुरु गर्दा आतंकवादी भनेर टाउकोको मूल्य तोकिएकै हो। अग्रगामी विचार स्थापित गर्न समय लाग्छ। यति लामो संघर्षपछि नेपाली जनता धेरै प्रवुद्ध भएका छन्। युवाहरु सचेत भएर आएका छन्। उनीहरुले ढिलो छिटो यो कुरा बुझ्छन्, नेपालले अग्रगमनकै विकल्प खोज्छ। पश्चगमन र क्षणिक आवेगको बाटो रोज्दैनन्।  

ओलीजीको विचार घातक छ भन्नुभयो, यसको परिणाम के देख्नुहुन्छ

ओलीजीलाई मात्र नभनौं। अहिलेका विभिन्न पार्टीका ठूला नेता हुनुहुन्छ। उहाँहरुमा दीर्घकालीन हल दिने क्षमता र सोच छैन। आउँदो एक वर्षमा चुनाव हुँदैछ। त्यसैले जनताको आवेग भजाएर कसरी सत्तामा पुग्ने भनेर सचेत ढंगले प्रयत्न गरिरहनुभएको छ। कांग्रेस, एमाले माओवादी केन्द्रका मुख्य नेताहरुले त्यो खेल अहिले गरिरहनुभएको छ। हामी नयाँ शक्ति यसको विकल्प दिन चाहन्छौं। जनताको भावना भड्काएर सत्तामा पुग्ने फेरि उही संकट दोहोर्‍याउने पुरानो राजनीतिक फोहरी खेलको जुन प्रवृत्ति छ, हामी त्यसबाट मुक्ति दिन चाहन्छौं। त्यस हिसाबले अहिले राजनीतिक वैचारिक ध्रुवीकरण हुन लागेको म देख्छु। 

तर तपाईंले भाँडिदिनु भयो भन्ने आरोप छ। संविधान जारी हुने वित्तिकै संविधानसभा छोड्नुभयो, अरु मुद्दा बोकेर हिँड्नुभयो

हिजो २००७ सालमा प्रजात्नत्र आउँदा पनि राणाहरुले देश भाँडिन्छ भनेकै हो। पञ्चायती शासकले बहुदलीय व्यवस्था आउँदा देश भाँडिन्छ भनेकै हो। गणतन्त्र धर्मनिरपेक्षता र संघीयताले देश भाँडिन्छ भनेर जनयुद्धकालमा हामीलाई भनिएको हो। यो कुरा पश्चगामी सोच राख्नेले भन्ने हो। आजको युगमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता अन्तर्राष्ट्रिय मुल्य मान्यताको सार्वभौम पक्ष बनिसक्यो। यसलाई टेकेर अगाडि जाने पो मुख्य कुरा हो।

म एउटा उदाहरण दिन्छु : पुरानो लुगा च्यातियो नयाँ लुगा सिउन ढिलाइ भइरहेको छ। बच्चाले पुरानै लुगा भएपनि देउ भनेर रुन्छ। अब पुरानै लुगा दिने कि छिटो नयाँ लुगा सिएर दिने? अहिले राजनीतिक परिवर्तनलाई संस्थागत गरेर देशलाई समृद्धिको दिशामा लैजान ढिलाइ भइरहेको छ। त्यतातिर जानु पो ठीक हो त। तर गणतन्त्र, धर्म निरपेक्षता, समावेशीताले समस्या आयो भनेर मानिसको पिछडिएको चेतनालाई दोहन गर्ने प्रवृत्ति घातक छ। 

बाबुरामले संविधान बनाएर छोड्यो भन्ने सत्य होइन। बाबुराम भट्टराई नै संविधानका लागि अग्रपंक्तिमा बसेर लड्यो। संविधानसभाबाट संविधान बनाउन अग्रणी भूमिका खेल्यो भन्ने कुरा इतिहासमा अंकित भइसक्यो। त्यसमा विवाद छैन।

यो रस्साकस्सी कहिलेसम्म चलिरहला? देश अब कता जाला

पानीको बेग केही समय रोकिन सक्छ। ठूलो ढुंगा वा पहिरोले छेकियो भने केहीबेर भुमरी पर्न सक्छ। अन्ततः पानीको प्रवृत्ति तल बग्ने नै हुन्छ। त्यसैले समाज पनि प्रगतितिर, परिवर्तनतिर बग्ने नै प्रवृत्ति हुन्छ। यस्ता प्रवत्तीले केही समय भुलभुलैयामा फसाएपनि अन्ततः त्यसलाई चिरेर समाज अगाडि बढ्छ। नेपाल संघीय गणतन्त्र हुँदै विकास र समृद्धिकै दिशामा अगाडि बढ्छ। कसैले रोकेर रोकिँदैन केही समय ढिला हुन सक्छ। कांग्रेस, माओवादी, एमालेको पुराना नेताहरुमा परिवर्तनप्रति विश्वास गुमेको जस्तो देखिएको छ। ठूलो आन्दोलनबाट थाकेको र त्यसैमा विश्राम लिन खोजेको प्रवृत्ति देखिएको छ। म त ६० वर्ष कटिसकेँ। युवाहरुलाई मेरो के आग्रह छ भने - हामीले नयाँ जोश र जाँगर सहित फेरि अर्को एउटा शान्तिपूर्ण क्रान्ति गर्नुपर्छ। परिवर्तन र समृद्धिको नेतृत्व गर्नुपर्छ। मुलुक त्यो दिशातिर जान्छ भन्ने विश्वास छ। 

अर्को माघ ७ सम्म तीनवटै तहको चुनाव गर्नुपर्छ, त्यतातिर मुलुक जान्छ कि जाँदैन?

नयाँ संविधान जारी भएको छ। यसको स्वामित्व र अपनत्व सबै नेपाली जनताको कसरी कायम गर्ने? खासगरी मधेसी, थारु र आदिवासी जनजातिहरु जो असन्तुष्ट भइरहेका छन्, उनीहरुलाई पनि विश्वासमा लिएर यो संविधानको सर्वस्वीकार्यता कसरी कायम गर्ने र छिटो कार्यान्वयनमा लैजाने मेरो चिन्ता हो। त्यसरी मात्र विकास र समृद्धिको मेरो सपना पूरा हुन्छ। संविधान कार्यान्वयन ढिलो भयो भने विकास र समृद्धि पनि ढिलो हुन्छ। त्यसैले सबैलाई विश्वासमा लिएर न्यूनतम सहमति कहाँ हुन्छ? कायम गरेर संविधान संशोधन गरौं। सबैलाई संविधानको प्रक्रियामा ल्याऔं। त्यसपछि तीनैवटा तहको निर्वाचन गरेर स्थिरता दिँदै अगाडि बढौं भन्ने मेरो चाहना छ।

के गर्दा हुन्छ ?

कांग्रेस एमाले माओवादीको नेताहरुको मुख्य झगडा भनेको कसको नेतृत्वमा चुनाव गराउने भन्ने हो। लोकतान्त्रिक प्रक्रिया र स्वतन्त्र, निष्पक्ष निर्वाचनप्रति उहाँहरुलाई विश्वास छैन। आफ्नो नेतृत्वमा चुनाव गर्ने, राज्य श्रोतको दुरुपयोग गरेर कार्यकर्ता पोस्ने र चुनाव जित्ने सोच नेपालमा बनेको छ। त्यसैको प्रतिस्पर्धा चलिरहेको छ। स्वच्छ, निष्पक्ष चुनाव गर्ने भन्दा पनि कसको नेतृत्वमा गर्ने भन्ने प्रतिस्पर्धा भइरहेको छ। त्यसैले गतिरोध आएको छ। मेरो स्पष्ट धारणा के हो भने असन्तुष्टलाई विश्वासमा लिएर सबै प्रमुख दलको सहमतिमा संविधान संशोधन गरौं। संशोधन गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रणाली पनि राख्न सकिन्छ भने राखौं। तर उहाँहरु कत्तिको तयार हुनुहुन्छ? त्यसलाई नमान्ने हो भने अरु विषयमा संविधान संशोधन गरेर सबैलाई विश्वासमा लिएर निर्वाचनमा जाऔं। तर उहाँहरु यो बाटोमा देखिनुहुँदैन। उहाँहरुको चिन्ता छ कसको नेतृत्वमा चुनाव गर्ने? प्रचण्डको नेतृत्वमा गर्ने कि शेरबहादुर देउवाको नेतृत्वमा गर्ने कि केपी शर्मा ओलीकोमा गर्ने? यसमा सर्प भ्यागुता र बिच्छीको खेल जस्तो भइरहेको छ। त्यसमा देश अल्झिएको छ। 

भनेपछि सबै कुरा सत्ताको लागि भइरहेको छ भन्ने तपाईंको बुझाइ हो?

हो। अहिले उहाँहरुले त्यही गर्नुभएको छ। हामीले यत्रो संघर्ष गरेर वलिदान गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायौं। यसलाई संस्थागत गरेर जानुको साटो यी पुराना नेताहरु सत्ताकै खेलमा अल्झिनुभयो। पुराना नेताहरु थाक्नुभयो। म त आफ्नो यात्रामा हिँडे, नयाँ यात्रामा हिँडे। उहाँहरु थाक्नुभयो र त्यही पुरानो राज्यसत्ताको दोहन कसरी गर्ने भन्नेमा लाग्नुभयो। समस्याको चुरो त्यहीँ छ। 

एमालेले राष्ट्रियताको मुद्दालाई सत्तासँग साट्न सकिन्न भनिरहेको छ, तपाईं भने एमाले पनि त्यही खेलमा छ भन्नुहुन्छ कसरी पत्याउने?

एमालेले बाध्य भएर छोड्नुपरेको हो। इच्छाले छोडेको त होइन नि। अहिले प्रचण्ड जी र शेरबहादुर जीको बीचमा भित्र अन्डरस्याण्डिङ छ कि ९/९ महिना सरकार चलाउने। प्रचण्डजीको पनि छ महिना नाघिसकेको छ। दुई तीन महिना मात्र बाँकी छ। प्रचण्डजीलाई आफ्नो लम्बियोस् भन्ने स्वत: चाहना हुने भयो। शेरबहादुर देउवालाई प्रचण्डले ९ महिनापछि नछोड्ने हो कि भन्ने डर छ। केपी ओलीको यी दुईवटाको झगडा अलि चर्काएर त्यसभित्र आफू छिर्न पाए हुन्थ्यो भन्ने दाउ छ। सतहमा सबै कुरा देखिँदैन। तर भित्री रुपमा भएको यही हो। 

यो चलखेल कहिलेसम्म चल्ला? यो धकेलिएर अगाडि जाला केही दिनमै सतहमा आउला?

यो त सतहमा आउनुपर्छ। नेपाली जनता सचेत भइसकेका छन्। देश र जनतालाई घात गरेर आफ्नो दल र निजी स्वार्थमा लागेको कुरा जनताले ढिलो छिटो थाहा पाउँछन् र जनताले आवाज उठाउँछन्। देशले अर्को ठूलो द्वन्द्व सहन गर्न सक्दैन। त्यता लान पनि हुँदैन। वार्ता र संवादबाटै सबै पक्ष मिलेर समस्याको निकास खोज्नुपर्छ। म नयाँ शक्ति र व्यक्तिगत रुपमा पूर्व प्रधानमन्त्रीको हैसियतले सहजीकरण गरेर उहाँहरुसँग वार्ता संवाद गरेर छिटो संविधान संशोधन गरेर निर्वाचनमा जाने सुल्टो बाटो अपनाउन प्रयत्न गरिरहेको छु। 

तपाईंले मधेसी मोर्चाका नेताहरुसँग पनि कुरा गर्नुभएको छ र प्रधानमन्त्रीसँग पनि कुरा गर्नुभएको छ। उहाँहरुको मनोविज्ञान के छ?

भित्री इच्छा सत्ता नछोड्ने भएपछि बाहिर धेरै गर्छु भनेपनि गर्न सक्दैन। निःस्वार्थ ढंगले देश र जनताको हितलाई ध्यानमा राखेर म जुनसुकै त्याग र बलिदान गर्न सक्छु भन्यो भने निकास निस्कन्छ। तर म आफ्नो कुर्सी छोड्दिन सहमति सम्झौता गर्दा मेरो स्थान के हुन्छ भन्यो भने निकास निस्कदैन। 

मधेसी मोर्चाले जुन मुद्दा उठाए कतिपय संवोधन भइसकेको छ। केही कुराहरु बाँकी हुन् त्यसलाई सामान्य वार्ता गरेर हल गर्न नसकिने विषय होइन। तर त्यो पनि नगरिदिँदा उनीहरुले प्रतिष्ठाको विषय बनाएका छन्। आन्दोलन भइरहेको छ केही पनि नपाइ कसरी जनतामा जाने भन्ने मनोवैज्ञानिक संकट मधेसी मोर्चामा छ। यसलाई ध्यान दिएर सत्तामा भएका दलले उनीहरुको न्युनतम कुरा संवोधन गरेर संवैधानिक प्रक्रियामा लिएर जानुपर्थ्यो। म त्यो असम्भव देख्दिन। तर त्यसो गर्न ओलीजीले दिइरहनुभएको छैन। यो विषय समाधान भएर गयो भने सत्तामा प्रचण्ड र देउवा बस्छन् आफ्नो पालो आउँदैन भनेर हलो अड्काइदिनुभएको छ। नभए उहाँलाई थाहा नभएको होइन। नेतृत्वमा भएँ भने म गरिदिन्छु भनेर विभिन्न सूत्रहरुमार्फत खबर पठाएको भन्ने कुरा पनि आउँछ। त्यसैले ओलीजीले पनि कुनै सैद्धान्तिक अडानका कारण होइन गाँठो पारेर समस्या चर्काइदिएर संकट सिर्जना गर्ने र आफू अगाडि आउने ध्याउन्नमा लाग्नुभएको छ।

मधेसी मोर्चाले पनि नकारात्मक कुरा गरिरहेको छ भन्ने आरोप छ। उनीहरुले छोड्नुपर्ने कुरा के छ ?

अहिले हिमाल, पहाड, मधेसको राष्ट्रिय एकता कायम गरेर जानुपर्ने जटिल संवेदनशील अवस्था छ। तर उनीहरुले (सबैले होइन केही नेताले) संवेदनशील नभइ आवेगात्मक ढंगले पृथकतावादी कुरा पनि गरिदिने कारणले मान्छेहरुलाई साँच्चै झस्काएको छ। म पनि बेलाबखतमा जिम्मेवार नेताबाट त्यस्तो अभिव्यक्ति सुन्दा चिन्तित हुन्छु। यस्तो कुरा उनीहरुले गर्नु हुँदैन। नेपाली राष्ट्रको अखण्डातप्रति प्रतिवद्ध हुनुपर्छ। कतिपय नेताले जानेर हो या नजानेर नेपालको राष्ट्रिय अखण्डता नै आँच आउने अभिब्यक्ति दिँदा उहाँहरुको सद्भाव घटेको छ। खासगरी पहाडी समुदायले उहाँहरुको देशभक्तिमाथि शंका गरेको अवस्था छ। नेपालको राष्ट्रिय अखण्डता नेपाली जनताले लडेर रक्षा गरेको यसलाई कम्प्रमाइज गर्न दिन सक्दैनौं। भौगोलिक अण्डतामा निशर्त ढंगले प्रतिवद्ध हुनुपर्छ। त्यसभित्र रहेर बहस गर्दा उहाँहरुलाई सहानुभूति प्राप्त हुन सक्छ। तर केही नेताले बेलाबखतमा भौगोलिक अखण्डता पनि जेसुकै होस् भन्ने गैरजिम्मेवार अभिब्यक्ति दिँदा अप्ठेरो पारेको छ। एउटा प्रवृत्ति त खुलेरै मुलुकको अखण्डता विरुद्ध आएको देखिन्छ ।

सीके राउतले मधेस अलग बनाउनुपर्छ मुलुक फुटाउनुपर्छ भनेका छन्। मधेसकेन्द्रित दलका नेताहरुले पनि बेलाबेलामा दिने त्यस्ता अभिव्यक्तिको सीमापार सम्बन्ध हुन सक्छ कि सक्दैन

अनुमानतिर नजाऔं। जसले जेसुकै भनेपनि जुन राष्ट्र र राज्यहरु बनेका छन्, पृथकतावादलाई कुनै पनि देशको सरकार र जनताले सहन गर्दैन। अमेरिकामा पनि कसैले अमेरिका टुक्र्याउँछु भनेर भन्यो भने जतिसुकै डेमोक्रेसी भएपनि त्यसलाई स्थान दिइँदैन। चीनमा पनि रुसमा युरोपमा भारतमा कहीँ पनि दिँदैन। त्यसैले नेपालजस्तो अत्यन्त संवेदनशील भूराजनीतिमा भएको ठाउँ छ। यो देशको कुनैपनि भूभागलाई टुक्र्याउँछु कसैले भन्छ भने त्यसलाई सहन गर्न सकिँदैन। त्यसलाई दृढतापूर्व नियन्त्रण गर्नुपर्छ। संघीयता भनेको त अखण्ड नेपालभित्र शक्ति बाँडफाँड हो। नेपालको अखण्डतालाई नै प्रश्न उठाउन थालियो भने त संघीयता मन नपराउने मान्छेलाई बल पुग्न जान्छ।

अहिले केही मान्छे खासगरी केपी ओलीहरुले यसबाट लाभ लिन खोजिरहनुभएको छ। वास्तवमा उहाँ त संघीयताविरोधी हो। उहाँले सुरुदेखि नै यो संघीयता मेरो एजेण्डा नै होइन तपाईंले भनेको भएर मानिदिएको हो भन्नुहुन्छ हाकाहाकी। त्यसैले यो पृथकतावादी सोच राख्ने मान्छेहरुले केपी ओलीको एकात्मकतावादी सोचलाई बल पुर्‍याइरहेका छन्। त्यसकारण पृथकतावाद र एकात्मकवाद एक अर्काका परिपूरक हुन्छन् भनेको अर्थ पनि त्यही हो।

हामी सच्चा देशभक्त नेपालीले देशको भौगोलिक अखण्डताभित्र रहेर देशको जातीय भाषिक क्षेत्रीय विविधतालाई संघीय ढाँचामा प्रवर्द्धन गर्ने दिशामा हामी जानुपर्छ। त्यो नै निकासको बाटो हो। 

तपाईंहरुले प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि अभियान चलाउनुभएको छ। निर्वाचन प्रणालीमा थ्रेसहोल्डको कुरा पनि आएको छ। यसमा तपाईंको धारणा के छ ?

अस्थिरता र भ्रष्टाचारको अन्त्य नभएसम्म नेपालमा समृद्धि आउँदैन। समृद्धि बिना शान्ति र स्थिरता आउँदैन। त्यसैले राजनीतिक स्थिरता प्राप्त गर्नका लगि अहिलेको शासकीय स्वरुपलाई परित्याग गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र पूर्ण समानुपातिक संसदीय निर्वाचन हुनुपर्छ। किनभने प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीले ५ वा ६ वर्ष राजनीतिक स्थायित्व दिन्छ। देशको विविधतालाई संवोधन गर्न निम्ति संसदमा सबैको समानुपातिक सहभागीता हुन्छ। यस्तो प्रणाली देशको भौगोलिक विशिष्टता अनुकुल सुहाउँछ। हामी त्यसमा जानुपर्छ भनेर अभियान चलाएका छौं। अहिलेको व्यवस्थालाई जतिसुकै टालटुल गरेपनि समाधान निस्किदैन। 

थ्रेसहोल्डको व्यवस्था राख्नैपर्छ। अहिलेको मिश्रित निर्वाचन प्रणालीमा थ्रेसहोल्ड राखिएन भने त झन् भद्रगोल हुन्छ। कति राख्ने भन्नेमा सहमति गर्न सकिन्छ। थ्रेसहोल्ड राख्नेमा कुनै विवाद हुन सक्दैन। तर थ्रेसहोल्ड राखेर पनि राजनीतिक स्थिरता आउँदैन। जुन शासकीय स्वरुप र निर्वाचन प्रणाली छ त्यसले नै राजनीतिक अस्थिरता निम्त्याउँछ। स्थायी समाधान भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद नै हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • के भनेको यो ? अरु देशलाइ घृणा गर्नू कसरी राष्ट्रवाद हुन्छ ? डासाप देशभक्ति देशको परिधिभित्र रहेर गरिने देशप्रतिको समर्पण हो भने राष्ट्रवाद अन्तराष्ट्रिय परिधिमा गरिने देशप्रतिको समर्पण हो ।