नेकपाका शीर्ष तीन नेतासँग संवाद
नेकपाका शीर्ष तीन नेतासँग संवाद
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलोमा चीनले चासो देखाएको छ। नेकपाको शक्ति संघर्ष उत्कर्षमा पुग्दै गर्दा उत्तरी छिमेकी मुलुककी राजदूत हौ यान्छीले आफ्नो सक्रियता बढाएकी छन्।
नेकपामा शक्ति संघर्ष छताछुल्ल भएका बेला यही सोमबार समकक्षी सी जिन पिङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन गरे। वैशाख ८ मा केपी ओली नेतृत्वको सरकारले दुई अध्यादेश ल्याएपछि नेकपामा देखिएको भुसको आगो डढेलोझैँ सल्किएपछि छिमेकीको सक्रियता बढेको हो।
अध्यादेश ल्याएर फिर्ता गरिसकेको समयमा प्रधानमन्त्री ओलीले दुई पटक राष्ट्रपति भण्डारीलाई शीतल निवास पुगेर भेटेका छन्। यसैबीचमा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितका अधिकारीसँग पनि परामर्श गरेका छन्।
प्रधानमन्त्री र राष्ट्रपतिबीच संवाद भइरहेकै भैंसेपाटीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको ओलीविरोधी मोर्चा बनेको थियो। जुन मोर्चाले ओलीलाई पार्टी अध्यक्ष र सरकारबाटै बिदा गर्नुपर्ने रणनीति तय गरेपछि नेकपामा नयाँ तरंग आएको छ।
तर हालै बसेको सचिवालय बैठकमा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष र उपाध्यक्ष वामदेव गौतमलाई कोरोनापछि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि विवाद केही मत्थर भएको छ। अब यसबारेमा शनिबार आवश्यक निर्णय हुन सक्ने विश्वास नेकपा वृत्तमा गरिएको छ।
यस्तो अवस्थमा उत्तरी र दक्षिणी दुवै राष्ट्रका राजदूतहरु सक्रिय हुन थालेका छन्। भारतीय राजदूत विनयमोहन क्वात्रा मधेसवादी दललाई मिलाउन सक्रिय भएका बेला चिनियाँ राजदूतले नेकपाको विवादलाई लिएर नेताहरुसँग छलफल थालेकी छन्।
बेइजिङबाट सोमबार साँझ आएको त्यो टेलिफोनसँगै नेकपाको विवाद समाधानका लागि राजदूत यान्छीले सक्रियता बढाएकी हुन्। चैत ११ देखि जारी लकडाउनबीच नेकपाको रडाको डढेलोझैँ फैलिरहेको अवस्थामा राजदूत यान्छीले शीर्ष नेताहरुलाई भेटेर परामर्श गरिरहेकी छन्।
चिनियाँ चासो
चिनियाँ राष्ट्रपतिले सोमबार नेपालका राष्ट्रपति भण्डारीलाई टेलिफोन गरेर कोरोना नियन्त्रणबारे चासो राखेका थिए। चीनले नेपाललाई कोरोनोको सामना गर्ने लगायतका क्षेत्रमा सहयोग जारी राख्ने बताएको थियो।
त्यससँगै फोनमा चीनसँग यसअघि भएका सम्झौताहरुलाई कार्यान्वयन गर्नेबारे पनि दुई समकक्षीबीच संवाद भएको थियो। चिनियाँ राष्ट्रपति सीले भण्डारीलाई गरेको फोनमा सम्झौताहरुको कार्यान्वयन गर्नुपर्ने प्रसंगलाई कूटनीतिक वृत्तले विशेष चासोका साथ हेरेका छना।
विश्लेषकहरुले यो टेलिफोन संवादलाई नेकपामा देखिएको किचलोले निम्त्याउन सक्ने सम्भावित राजनीतिक दुर्घटनातर्फ जोडेर पनि हेरिएको छ। त्यहीकारण अहिले राजदूत यान्छीले आफ्नो सक्रियतालाई तीव्र बनाएकी हुन्।
चिनियाँ राष्ट्रपतिले नेपालका समकक्षीलाई गरेको टेलिफोनलाई नेपाली सञ्चारमाध्यमले जति प्राथमिकता दिए, त्यो भन्दा धेरै चीनको प्राथमिकतामा परे।
सरकारी समाचार संस्था सिह्न्वाले दुई राष्ट्राध्यक्षबीच टेलिफोट वार्ता भएको संक्षिप्त सूचना दिएको थियो। तर चिनियाँ सरकारी टेलिभिजन सिजिटिएनले विस्तृत समाचार बनाएर चर्चा गरेको थियो।
परराष्ट्र मन्त्रालयले पनि दुई राष्ट्राध्यक्षको टेलिफोन संवादबारेबारे प्रेस रिलिजमार्फत् जानकारी दिएको छ। कोभिड-१९ ले विश्व मानवीय, स्वास्थ्य, आर्थिक, सामाजिक राजनीतिक संकट बढिरहेका बेला शक्तिशाली छिमेकीका राष्ट्राध्यक्षले नेपाललाई सबै किसिमका सहयोग गर्न तयार रहेको बताएका थिए।
राष्ट्रपति सीले नेपाललाई जुनसुकै सहयोका लागि तयार रहेको बताउनुलाई अर्थपूर्ण मानिएको छ। चीनले कोरोनाविरुद्ध लड्नका लागि नेपाललाई एक महिनाबीचमा विभिन्न स्वास्थ्य सामग्री पठाइसकेको छ।
कोरोना महामारीसँग विश्व जुधिरहेका बेला चीनले निकट छिमेकीदेखि युरोप अमेरिकासम्म औषधि र स्वास्थ्य सामग्री पठाइरहेको छ। तर नेपालमा कोरोनाको भन्दा नेकपाको विवादले तरंग ल्याएपछि चीनले फरकखालको सक्रियता देखाएर नेता भेटघाटलाई तीव्र बनाएको हो।
पहिले प्रधानमन्त्रीसँग
राजदूत यान्छीले आफ्नो सक्रियता बढाउने क्रममा बिहीबार राति प्रधानमन्त्री ओलीलाई सरकारी निवास बालुवाटारमा पुगेर भेटेकी छन्।
स्रोतका अनुसार यान्छीले बिहीबार राति ८ बजेदेखि १० बजेसम्म प्रधानमन्त्री ओलीसँग परामर्श गरेकी छन्। बालुवाटार स्रोतले यसलाई पुष्टि गरेको छैन। तर दुईजनाबीचको भेटमा समसामयिक राजनीति, कोरोनाविरुद्ध चिनियाँ सहयोग र दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको प्रधानमन्त्रीका एकजना सहयोगी बताउँछन्।
प्रधामन्त्रीको सचिवालयबाट यसबारेमा विस्तृत नबताइए पनि दुईजनाबीचको भेटको प्रमुख एजेण्डा नेकपा भित्रकै रडाको थियो। संकटको अवस्थामा नेकपामा देखिएको विवादलाई मिलाएर अघि बढ्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई राजदूत यान्छीले दिएको स्रोतले बताएको छ।
नेकपाको एउटा समूहले प्रधानमन्त्री मात्रै नभइ परिआएमा राष्ट्रपति नै परिवर्तन गर्ने अभियान चलाइरहेका बेला चीनबाट आएको फोनका बाछिटाहरु देखिन थालिसकेका छन्। त्यसकै एउटा बाछिटा राजदूत यान्छीको सक्रियता हो। जसले ओलीबाट सुरु गरेको भेटघाटलाई शुक्रबारसम्म तीव्र पारिसकेकी छन्।
प्रचण्डलाई भेटिन्
बालुवाटारमा प्रधानमन्त्री ओलीसँग बिहीबार राति दुई घण्टा सम्वाद गरेकी यान्छी शुक्रबार बिहानै खुमलटार पुगिन्। जहाँ उनले नेकपाका एकजना कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गरेकी छन्।
उक्त भेटमा पनि प्रधानमन्त्री ओलीसँग जस्तै समसामयिक राजनीतिक परिस्थिति, कोरोना नियन्त्रण अभियान र दुई देशको सम्बन्धबारेमा कुराकानी भएको स्रोत बताउँछन। प्रचण्डसँगको भेटमा नेपालमा विकसित राजनैतिक परिस्थितिबारे पनि यान्छीले जिज्ञासा राखेकी थिइन्।
स्रोतका अनुसार यान्छीले नेकपा एकताबद्ध रहने आशा ब्यक्त गरेकी थिइन्। नेकपामा प्रचण्ड समूह र माधवकुमार नेपाल समूह परिआएमा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट बिदा गर्ने रणनीतिमा जुटेपछि यान्छीले पार्टी एकतामा कुनै असर नपुग्ने विश्वास लिएकी हुन्।
अनि नेपालकहाँ
खुमलटारमा प्रचण्डलाई भेटेपछि राजदूत यान्छी नेकपाभित्र अर्का शक्तिशाली नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेकी छन्। केही दिनअघि मात्रै पार्टीको विवाद निरुपणका लागि ओली-नेपाल समूहबीच वार्ता भएको थियो। तर दुई पक्षबीचको वार्तामा सहमति जुट्न सकेको थिएन।
प्रचण्डलाई भेटेर राजदूत सीधै अर्का वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगेकी छन्। यही बुधबार मात्रै नेकपाका विदेश विभाग प्रमुख नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख सङ ताओसँग भिडियो कन्फरेन्स गरेका थिए।
उक्त भिडियो कन्फरेन्समा कोरोना रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उप प्रधानमन्त्री ईश्वर पोखरेल र ६ प्रदेशका पार्टी इन्चार्ज सहभागी थिए। चिनियाँ पक्षबाट प्राध्यापक झोङ नान सान तथा चिकित्सक र वैज्ञानिकहरु सहभागी रहेका थिए।
भिडियो कन्फरेन्सका क्रममा चीनको कोरोना नियन्त्रण उच्चस्तरीय समिति संयोजक प्राध्यापक झोङ नान सानले त्यहाँको अनुभव सुनाएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।