भन्छन्- भ्रष्टाचारीलाई क्लिन चिट दिएर आफ्नो काम गर्छन्

|

काठमाडौं : स्वास्थ्य क्षेत्रका विकृति अन्त्यको माग गर्दै आठौँ अनसन सुरु गरेका त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले ‘व्यक्तिगत फाइदाका लागि धम्क्याउने गरेको’ आरोप लगाएका छन्।

केसीले ‘देशमा सुशासन ल्याउनुपर्ने संवैधानिक निकाय विधि कुल्चेर आफ्ना पदाधिकारीको व्यापारिक स्वार्थ पूरा गर्न लिप्त रहेको’ बताए। चिकित्सा क्षेत्रलाई बदनाम गर्नेहरु पुरस्कृत हुने तर सही काम गर्ने हतोत्साही हुने अवस्था आएको उनले बताए। ‘गुणस्तरिय चिकित्सा जनशक्तिको निर्माणमा गम्भीर लापरबाही भइरहेको’ उनले बताए।

चारबुँदे विज्ञप्ति वाचनका क्रममा अख्तियारका प्रमुख आयुक्तप्रति निकै आक्रमक देखिएका केसीले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिर्जना गरेको भय र प्रतिशोध श्रृंखलाले राज्यको लोकतान्त्रिक प्रणालीप्रति गम्भीर आशंका जन्माएको’ बताए।

अख्तियार प्रमुख कार्कीले ‘आफ्नो र आफन्तको निहित व्यापारिक स्वार्थका लागि समग्र सुधारको प्रकृया अवरोध पारेको, भ्रष्टहरुलाई संरक्षण दिएको र अरुलाई ब्ल्याकमेलिङ गरिरहेको’ केसीले बताए। कार्कीले आफ्नो कार्यक्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको एमबिबिएस प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगाएको आरोप लगाउँदै डा. केसीले उनीमाथि तत्काल संसदले महाअभियोगको प्रकृया अघि बढाउनुपर्ने माग राखेका छन्।

केसीले मेडिकल शिक्षाको अनियमिततामा संलग्न रहेको तथा पारिवारिक स्वार्थका लागि पदीय मर्यादा विपरीतका काममा संलग्न रहेको आरोप लगाउँदै अख्तियारका आयुक्त राजनारायण पाठकमाथि पनि महाअभियोगलगाउन माग गरे। 

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका निवर्तमान डिन राकेश श्रीवास्तवले कार्कीको ब्ल्याकमेलिङका कारण राजीनामा दिनुपरेको बताउँदै कार्कीले संस्थानमा तत्काल वरिष्ठताका आधारमा डिन नियुक्त गर्न माग गरे।

अनियमितता र भ्रष्टाचारमा मुछिएका आयोग र त्रिविका पूर्व पदाधिकारीमाथि तत्काल छानबिन र कारबाही गर्न माग गर्दै केसीले भने- ‘लोकमानले तिनीहरुलाई क्लिन चिट दिएर आफ्नो काम गराइराखेका छन्।’

के भने केसीले?

देशमा शुसासन ल्याउनुपर्ने संवैधानिक निकाय विधि कुल्चेर आफ्ना पदाधिकारीहरुको व्यापारिक स्वार्थ पूरा गर्नमा लिप्त छ। यसले गर्दा स्वास्थ्य र चिकित्साको क्षेत्रलाई बदनाम गर्नेहरु पुरस्कृत बनी सही काम गर्नेहरु हतोत्साही हुने र समग्रमा गुणस्तरीय चिकित्सा जनशक्तिको निर्माणमा गम्भीर लापरबाही भइरहेको छ। पछिल्लो समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिर्जना गरेको भय र प्रतिशोधको श्रृंखलाले हाम्रो राज्यको लोकतान्त्रिक प्रणालीप्रति गम्भीर आशंका जन्माएको छ। यसबीचमा हामीले राखेका मागहरुप्रति सरकारका तर्फबाट चरम बेवास्ता देखाइएको छ।

आफ्नो र आफन्तको निहित व्यापारिक स्वार्थका लागि समग्र सुधारको प्रकृया अवरोध पारेका, भ्रष्टहरुलाई संरक्षण दिएका र अरुलाई ब्ल्याकमेलिङ गरिरहेका तथा कार्यक्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की माथि तत्काल संसदले महाअभियोगको प्रकृया अघि बढाओस्। साथै मेडिकल शिक्षाको अनियमिततामा संलग्न तथा पारिवारिक स्वार्थका लागि पदीय मर्यादा विपरीत काममा प्रमुख आयुक्तसँगै संलग्न आयुक्त राज नारायण पाठकमाथि पनि महाअभियोग प्रकृया अगाडि बढाइयोस्। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा तत्काल वरिष्ठताका आधारमा डिन नियुक्त गरियोस्। लोकमानसिंहको कृपाले राकेश श्रीवास्तवले ले राजीनामा गर्नुभएको हो। कृपा भनेको ब्ल्याकमेलिङले गर्दाखेरी हो।

अनियमितता र भ्रष्टाचारमा मुछिएका आयोग र त्रिविका पूर्व पदाधिकारीमाथि तत्काल छानबिन र कारबाही गरियोस्। लोकमानले तिनीहरुलाई क्लिन चिट दिएर आफ्नो काम गराइराखेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.