अन्तिम निर्णय लिँदै

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सरकारको चाबी माग्ने भएका छन्।

‘जसको नेतृत्वमा सहमति जुट्छ, उसैको नेतृत्वमा सरकार बनाउनुपर्ने’ प्रस्ताव राख्दै आएका प्रचण्डले एमाले–माओवादीबीच भएको ती बुँदे भद्र सहमति अनुरुप सरकारको चाबी माग्ने भएका हुन्।

आइतबार प्रचण्ड निवास लाजिम्पाटमा बसेको कार्यालय समिति बैठकमा एमाले–माओवादीबीच भएको तीन बुँदे भद्र सहमति कार्यान्वयनका लागि अधिकतम पहल गर्ने विषयमा छलफल भएको कार्यालय समिति सदस्य मणि थापाले जानकारी दिए।

‘नौँ बुँदेसँगै एमाले–माओवादीबीच भएको ३ बुँदे भद्र सहमतिको जगमा टेकेर राष्ट्रिय सरकार निर्माणको लागि हाम्रो पार्टीले शीर्षस्तरमा छलफल गर्ने सल्लाह भएको छ’, नेता थापाले थाहाखबरसँग भने।

तीन बुँदे भद्र सहमतिको जगमा टेकेर प्रचण्डले ओलीसँग सत्ता हस्तान्तरणको प्रस्ताव गर्ने तयारी गरेको स्रोत बताउँछ। सो प्रस्तावप्रति एमालेले अनिच्छा जाहेर गरेको खण्डमा तत्कालै सरकारको विकल्प खोज्ने प्रचण्डको तयारी छ।

‘एमालेसँगको गठबन्धन हामीले सोचेजस्तो भएन, विगतमा भएको सहमति कार्यान्वयनको सवालमा एमाले गम्भीर देखिएन’, बैठकमा प्रचण्डले राखेको भनाई स्रोतले उद्धृत गर्‍यो, ‘अब म ओलीसँग गम्भीर छलफल गर्छु।’

आइतबारको बैठकमा सरकार परिवर्तन र एमालेसँगको पछिल्लो सम्वादबारे छलफल भए पनि निष्कर्षमा पुगेन। नयाँ सरकारबारे अन्तिम निर्णय लिन सोमबार बिहान ८ बजेका लागि बैठक बोलाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.