|

जुम्ला : खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्ला डिपोले चामल खरिदमा स्थानीयलाई १० प्रतिशत छुट दिन थालेको छ। लकडाउन अवधिमा प्रभावित स्थानीयलाई सरकारले नै चामल खरिदमा छुट दिने निर्णय गरेअनुसार खाद्यले साविकभन्दा १० प्रतिशत सस्तोमा जुम्लाबासीलाई चामल उपलब्ध गराउन थालेको हो।

कम्पनीले चामलमा १० प्रतिशत छुट दिँदा विपन्न समुदायले राहत पाएको तिलक प्रमुख सुनारले बताए। उनले भने, 'विगतको मूल्यभन्दा १० प्रतिशत रकम कम लिएर चामल बिक्री भइरहेको छ, खाद्य संस्थान शाखा जुम्लाबाट बिक्री गरिने ६ प्रकारको चामलको मूल्यमा १० प्रतिशत घटेसँगै स्थानीयले राहत पाएका हुन्।' जुम्लामा आफ्नै खेतीपाती हुनेहरूलाई तत्काल आवश्यक नरहेको भन्दै यहाँका केही स्थानीय तहले अझै राहत वितरण गरेका छैनन्। 

लकडाउनका कारण समस्यामा पर्नसक्ने नागरिकलाई वितरण गर्न जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिकाले खाद्य संस्थान जुम्लाबाट मात्रै डेढ करोड रुपैयाँको चामल खरिद गरेका छन्। सबैभन्दा बढी सिँजा गाउँपालिकाले राहत वितरणका लागि ३९ लाख ९९ हजार रुपैयाँमा ७९९ क्विन्टल चामल खरिद गरेको छ। हिमा गाउँपालिकाले ३६ लाख ६६ हजारको लागतमा ६२६ क्विन्टल चामल खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बताएको छ।

त्यस्तै चन्दननाथ नगरपालिकाले १८ लाख १७ हजार २०० रुपैयाँमा तीन सय ६५ क्विन्टल, गुठीचौर गाउँपालिकाले, १० लाख २६ हजार सात सय रुपैयाँमा २०२ क्विन्टल, पातारासीले आठ लाख ९५ हजार पाँच सय रुपैयाँमा १११ क्विन्टल, तातोपानीले १० लाख २० हजार रुपैयाँमा २०० क्विन्टल र कनकासुन्दरी गाउँपालिकाले दुई लाख एक हजार रुपैयाँमा ३३ क्विन्टल चामल खरिद गरेको छ।

हाल संस्थानको जुम्ला डिपोमा १८ सय २० क्विन्टल मात्रै चामल मौज्दात रहेको छ। अहिलेकै रफ्तारमा चामल बिक्री भए एक महिनामात्रै धान्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.