समाज : सुरक्षा/अपराध

ब्रतबन्धले जुरायो पुलिसको जागिरः पूर्व डिआइजी मल्लको ३० वर्षे प्रहरी अनुभव
SHARES

माघ २६, २०७३

    काठमाडौं : अहिलेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालकै ब्याचमा भर्ना भएका हेमन्त मल्ल ठकुरीले ५ वर्ष सेवाअवधिको कारण अवकाश पाइसकेका छन्। नेपाल प्रहरीकै इतिहासमा चर्चित रहेका रानीबारी हत्याकाण्ड होस् या सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याको घटना होस्, दुबै घटनाको सफल अनुसन्धान गरेका थिए मल्लले। 

    ३० वर्षको जागिर अवधिमा मल्लले १७ वर्ष सादा पोशाकमा जागिर खाए। लागूऔषध नियन्त्रण ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखामा बस्दा प्रहरीको पोशाक नलगाई सादा पोशाकमा नै प्रहरी खटिने गरेको छ। उनले यो तीन वटै विभागमा काम गरे। प्रहरी संगठनमा बिताएका ३० वर्षको सम्झना कसरी गर्छन् पूर्व डिआइजी मल्ल? उनकै शब्दमा- 



    म त्यत्तिखेर लागूऔषध नियन्त्रण ब्युरोमा थिएँ। लागूऔषध चरेशसहित तीन जना जापानी नागरिक पक्राउ गरिएको थियो। मैले इन्टरनेटमा जापानको संगठित अपराधिक गिरोहको बारेमा पढेको थिएँ। उनीहरु समातेपछि मैले उनीहरुलाई सोधेँ- के मा छौ? उनीहरुले याकुजाको इनागाभाकाई भने। म त झसंग भएँ। जापानको संगठित समूह नै नेपालको लागूऔषधमा लागेको रहस्य खुलेको थियो। 

    यो समूहका बारेमा अझै विस्तृतमा छानबिन गर्न मैले पासपोर्टको डिटेल जापान पठाएँ तर जापानबाट अर्कै डिटेल आयो, अपराधिक कुनै कुरा नआएपछि मैले फेरि डेन्टल रेकर्ड र फिङ्गरप्रिन्ट मागेँ। उनीहरु त मरेको मान्छेको परिचयमा पो नेपाल आएका रहेछन्। यो थाहा पाएपछि त जापानको प्रहरी नै झस्कियो।

    मिनरल वाटरले नुहाउथे जापानी

    हामीले पक्राउ गरेको मान्छेको नाममा जापानमा नै १० वटा मुद्दा रहेछ, याकुवाको माथिल्लो तहकै मान्छे रहेछ भन्ने त्यसपछि थाहा भयो। हामीले पक्राउ गरेको दुई दिनमा नै उनीहरुको नाममा जापानी दूतावासमा १० लाख रुपैयाँ आयो। हामी सबै छक्क पर्‍यौँ। त्यत्रो रकम उनीहरुको लागि खर्च पठाएको देख्दा।उनीहरुलाई नयाँ बानेश्वरको जेलमा राखिएको थियो। 

    जेलमा रहेका सार्वजनिक मुद्दामा परेकाहरुलाई जापानी नागरीकले नै धरौटी बुझाउँदै छुटाउन थाले, जेलमा त दशैं आएजस्तै भएको थियो। उनीहरु त मिनरल वाटरको बोतलको पानीले नुहाउने गर्दथे। बोतलभन्दा जार सस्तो हुन्छ नि भन्दा खन्याउन बोतलले सजिलो हुन्छ भन्दै मिनिरल वाटरले नुहाउने गर्दथे।

    सामान्यरुपमा लागूऔषध बोकेर हिँडेकालाई पक्राउ गरेको अन्तर्राष्ट्रिय अपराधी पो परेका रहेछन्। उनीहरुलाई नख्खु कारागार पठाइएको थियो। तीन जनामध्ये एक जनाले आफ्नै साथीलाई जेलभित्रै हत्या गरेका थिए। यो घटनाले नेपाल प्रहरीको छवी नै अन्तर्राष्ट्रिय स्तरमा राम्रो बनाएको थियो। जापानका प्रहरी पनि निक्कै खुशी भएका थिए।

    उनीहरु पक्राउ परेपछि जापानबाटै याकुजाको तीन जना मान्छे उनीहरुलाई भेट्न आएका थिए। एयरपोर्टबाट बानेश्वर आउँदा ट्याक्सी चढेर आएका थिए। ट्याक्सी चढेको नै १० हजार रुपैयाँ दिएका थिए। तीन जनामध्ये एक जनाको औँला काटिएको थियो। कुनै गल्ती गर्‍यो भने त्यहाँ औँला काट्ने चलन थियो, अहिलेचाहिँ त्यो चलन हटेको रहेछ।

    सामान्यरुपमा लागूऔषध बोकेर हिँडेकालाई पक्राउ गरेको अन्तर्राष्ट्रिय अपराधी पो परेका रहेछन्। उनीहरुलाई नख्खु कारागार पठाइएको थियो। यो घटनाले नेपाल प्रहरीको छवी अन्तर्राष्ट्रिय स्तरमा राम्रो बनाएको थियो। जापानका प्रहरी पनि निक्कै खुशी भएका थिए।

    लागूऔषधमा काम गर्दा अन्तर्राष्ट्रिय स्तरका काम गर्ने मौका मिलेको थियो। नेपालको विमानस्थलमा लागूऔषध बरामद गर्नु त सामान्य कुरा थियो। त्यसबेला हामीले अमेरिकी प्रहरीसँग संयुक्त रुपमा चरेशको अपरेशन गरेका थियौं। त्यस्तै जापान, मकाउ, थाइल्यान्ड, डेनमार्क, नेदरल्यान्डमा गएर ठूला ठूला लागूऔषधका अपरेशनहरु गरेका थियौँ। 

    ७.६५ ले खोलेको रहस्य

    ६ वर्षदेखि पेस्तोल देखाई डकैती र हत्या गर्दै हिँड्ने समूहका कारण राजधानी आतंकित थियो। बाफलमा व्यापारीलाई खुकुरी देखाई रकम लुट्ने, २०६७ असोजमा भिक्षु निमा लामालाई ठमेलमा गोली प्रहार गरेर १० लाख रुपैयाँ लुटपाट भएको थियो। त्यस्तै ललितपूरका प्रेमकृष्ण महर्जन र पाल्पाको बराम्दीका सुदिप बस्याललाई गोली प्रहार भएको थियो। यही समूहले गणबहालमा ब्यापारी अञ्जनी कुमार चाचनको गोली हानेर हत्या गरेको थियो।

    करिब १० वटा घटना भएपछि प्रहरीलाई तनाव भएको थियो। त्यतिखेर म अपराध महाशाखामा थिएँ। लगातार रुपमा घटना हुन थालेपछि त्यतिखेर काठमाडौं निकै आतंकित बनाएको थियो। अनुसन्धान सुरु भइसकेको थियो, तर भेउ केही पाइएको थिएन। मैले सबै घटनालाई एकै ठाउँमा जोडेर हेरेँ।

    सबै घटनामा ७.६५ एमएमको गोली प्रयोग भएको पाएँ, सबै घटना काठमाडौंको भित्री शहरमा अनि एउटै प्रकृतिको भएको पाएँ। त्यसपछि १० वटै घटना एउटै समूहले गरेको भन्ने निष्कर्षका साथ अनुसन्धान अघि बढाएँ। मेरो कार्यकालमा दुई जनालाई समाउन सकेँ, अन्य दुई जना म पछि आएका पुष्कर कार्कीले पक्राउ गरे। 

    मैले गरेको अनुसन्धानमध्ये सबैभन्दा सन्तुष्ट भएको अनुसन्धान यही घटनामा लागेको छ। राजधानीवासी त्रसित रहेको बेला भएको अनुसन्धान सफल भएपछि राजधानी शान्त बनेको थियो। 

    प्रहरी वरिष्ठ उपरीक्षक हुँदा मल्ल

    प्रहरीमै नौलो अनुसन्धान

    थाइल्यान्डको बैंककमा तीन नेपाली विद्यार्थी अपहरित भएका थिए। पाकिस्तानी नागरिकले चलाएको रेस्टुरेन्टमा काम गर्ने एजम्सन विश्वविद्यालयमा पढिरहेका विद्यार्थीहरु रोनेश श्रेष्ठ, कर्ण हाछेथु र विभुष रिजाल अपहरणमा परेका थिए। यो खबर केन्द्रीय अनुसन्धान ब्युरोमा आयो। विदेशमा नेपाली विद्यार्थी अपहरण भएपछि हामीले खोजी शुरु गर्‍यौँ।  

    अपहरणपछि भोलिपल्ट अपहरणकारीले नेपालमा रहेका विद्यार्थीका अभिभावकलाई फोन गरेर एक करोड माग गरेका थिए। हामीले त्यहीँबाट अनुसन्धान अघि बढायौं। फिरौती बुझ्ने मान्छे नेपालमा नै रहेको पत्ता लगायौं। सर्लाही छतिवनका सुजन यादव भनिने श्रीचन रायलाई पक्राउ गर्न सफल पनि भयौं। 

    उनलाई पक्राउ गरेपछि एसपी पिताम्बर अधिकारीलाई हामीले बैंकक पठाएर त्यहाँको प्रहरीसँग समन्वय गरेर विद्यार्थीहरुलाई तीन दिनपछि अपहरणमुक्त गराएका थियौं। अपहरणमा भारतीय, पाकिस्तानी, थाइल्यान्डका नागरिकसहित ८ जना संलग्न थिए। हामीले तीन जनालाई समात्न सफल भयौं। 

    विदेशमा भएको घटनालाई नेपाल प्रहरीले अनुसन्धान गर्दै विदेशबाटै विद्यार्थीहरुलाई अपहरणमुक्त गराई अपहरणकारी समाएको सायद त्यो नै पहिलो घटना होला। त्यसअगाडि तेस्रो मुलुकमा गएर नेपाल प्रहरी त्यसरी काम गरेकै थिएन। त्योबाहेकका मुलुकमा हाम्रै प्रहरी गएर अनुसन्धान गर्ने र सफल भएर फर्किने कुरा नौलो थियो। यो पनि मेरो जीवनको अविस्मरणीय घटनाहरु मध्ये पर्दछ।

    सिआइबीमा रहँदा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम र रानीबारी हत्याकाण्डको सफल अनुसन्धान पनि सम्झना योग्य नै रहे मेरा लागि। मैले लागुऔषध र अपराध महाशाखामा जति काम गरेको थिएँ, सिआइबीमा रहँदा त्यसको १० प्रतिशत पनि गरिनँ।

    अनुभवको प्रयोग नै अनुसन्धान

    कुनै पनि घटनाको बारेमा जानकारी पाएपछि त्यहाँ प्रहरी तुरुन्त परिचालन गर्नुपर्दछ। थुप्रै जिल्लाहरुमा काम गरेको आधारमा पनि मैले सबैभन्दा पहिला टोली पठाएर अनुसन्धान शुरु गर्न लगाउँथे। आलटाल गर्‍यो भने अपराधी उम्किन्छ भन्ने मेरो मान्यता थियो, त्यसैले नकुरिकन टोली पठाइहाल्ने गर्दथेँ। 

    परिचालन र इच्छाशक्ति नै मुख्य कुरा हो जस्तो लाग्छ। सफल हुने कि नहुने भन्ने कुरा कस्तो टिमसँग काम गरिरहेको छु भन्नेमा भर पर्छ। कुनै कुनै कुरा अकस्मात् भइरहेका हुन्छन् त कतिपय कुरा जतिसुकै गर्न चाहेर पनि सफल नहुन सक्छ।

    काम व्यक्तिले भन्दा पनि टिमले गर्ने हो। टिमका फरक फरक व्यक्तिको फरक फरक अनुभवलाई प्रयोग गर्दा पनि त्यसले सफलता दिने गरेको मेरो अनुभव छ।

    ब्रतबन्धमा आउँदा पुलिस भइयो

     प्रहरी प्रमुख बनाउने काम सरकारको हो, यसमा लुछाचुडी किन भैरहेको छ म पनि अचम्ममा परिरहेको छु। माथिल्लो तहका नेतृत्व दिने वर्गले यस्तो गर्दा तल्लो तहका प्रहरी कर्मचारीले के सोच्छन् भन्ने पनि बुझिरहेका छैनन्।तल्लो तहका प्रहरीले कस्तो नजरले हेर्छन् भन्ने हेक्का नराखी आरोप प्रत्यारोपमा लाग्नु चाँही सरासर गलत काम भइरहेको छ।

    अरु पुलिसमा जागिर खानलाई फर्म खुल्यो भनेर आएका थिए, तर मेरो फरक छ। कैलालीको साढेपानीमा जन्मिएको म, हाम्रो त्यतिखेर नैनीतालमा पढ्न जाने चलन थियो। त्यसैले म पनि नैनीतालमा पढिरेहको थिए। मेरो कान्छा बुबाको सालोको ब्रतबन्ध थियो, त्यसको लागि काठमाडौं आएको थिएँ, ब्रतबन्धको भोजमा मेरो कान्छो फुपा गोपालजी जंग शाहले 'पढ्ने मात्र हो? जागिर खाने होइन? भन्नुभयो। 

    जागिर कहाँ पाइन्छ र? भनेर मैले सोधेँ। उहाँले पुलिसमा खुलेको छ भर्ने हो? भन्नुभयो। अनि उहाँले लगेर फर्म भराइदिनु भयो। नागरिकता र शैक्षिक प्रमाणपत्रहरु थिएन, त्यो सबै बनाएर फर्म भरियो। नेपालको बारेमा मलाई त केही थाहा थिएन। सानै देखि उता पढेकोले अनि नेपाल परिचय भन्ने किताब किनेर नेपालको बारेमा पढियो। पछि नाम निस्कियो अनि जागिर शुरु भयो। 

    हाम्रो समयमा प्रहरी महानिरीक्षक भन्ने नै थाहा थिएन। जागिर खाने पेन्सन पकाउने भन्ने मात्र ध्याउन्न हुन्थ्यो हामीलाई। त्यत्तिखेर त प्रहरीको हाकिम बन्नुपर्छ भन्ने सपनामा सोचेको पनि थिएनौं। खाली हाम्रो ध्याउन्न जागिर राम्रोसँग खाएर पेन्सन पकाउने भन्ने मात्र थियो। 

    पछि समयक्रमसँगै थाहा भयो, आइजीपी भनेको, हिसाब गर्दै जाँदा आफू त डिआइजी भन्दा माथी नपुग्ने पनि थाहा भयो। त्यसपछि चित्त बुझाएर बसियो। मेरो समय नै त्यस्तै परेको थियो र त म डिआइजीसम्म हुन पाएँ। आइजी नै हुनुपर्छ भन्ने सोचाई कहिले पनि आएन। अहिले साथीहरु आफू हुन पाइनँ वा विभागले दिएन भनेर गाली गर्दै हिँडेको देख्छु, त्यो सरासर गलत हो। आफूले पाउने भाग पाउने हो नि। किन त्यसो गरेका होलान् जस्तो लाग्छ। 

    पेशा राम्रो, संस्कार गलत

    नेपालमा पुलिस जस्तो पेशा राम्रो अरु कुनै छैन, डाइनामिक प्रोफेसन हो पुलिस। १० ठाँउमा चहारेर हिँड्नुभन्दा प्रहरीमा बसेर आफ्नो क्षमता बढाउनुपर्छ। इन्सपेक्टरमा छिर्नासाथ आइजीको सपना पाल्ने गरेको कारण संगठनको साख बिग्रँदै गएको जस्तो लाग्छ मलाई। 

    पछिल्लो समय प्रहरी प्रमुख बन्नको लागि एकले अर्कोलाई नङ्ग्याउने काम भइरहेको छ, त्यो अत्यन्त नराम्रो हो। यो संस्कारले संगठनलाई नै असर गरिरहेको छ। प्रहरी प्रमुख बनाउने काम सरकारको हो, यसमा लुछाचुडी किन भैरहेको छ म पनि अचम्ममा परिरहेको छु।

    माथिल्लो तहका नेतृत्व दिने वर्गले यस्तो गर्दा तल्लो तहका प्रहरी कर्मचारीले के सोच्छन् भन्ने पनि बुझिरहेका छैनन्। तल्लो तहका प्रहरीले कस्तो नजरले हेर्छन् भन्ने हेक्का नराखी आरोप प्रत्यारोपमा लाग्नु सरासर गलत छ।

विकास लम्साल

सुरक्षा मामिलामा रिपोटिङ गर्ने पत्रकार लम्सालले २०७३ मा थाहाखबरमा संवाददाता थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]