|
फाइल फोटो

काठमाडौं : आज अपरान्ह ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ। कोरोना भाइरसको जोखिम रहेकै बेला संघीय संसदको बजेट अधिवेशन सुरु हुन लागेको हो।

सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन्। सांसदहरू बस्ने कुर्सीहरुबीच अन्तर राख्ने, मास्क अनिवार्य लगाउनुपर्ने, संसद भवन प्रवेश गर्नुअघि ज्वरो नाप्ने, साबुन पानीले हात धुने, बोल्ने बेला माइकलाई स्यानिटाइज गर्ने लगायतका उपाय अपनाइएको छ। 

सभामुख सापकोटाले आज शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै उच्च सतर्कता अपनई बैठक सञ्चालन गर्न लागिएको बताए।उनले बैठक कक्षभित्र दूरी कायम गर्ने सवालमा विश्व स्वास्थ्य संगठनको दिशा निर्देश, नेपाल सरकारको निर्णय र स्वास्थ्य टीमको मापदण्ड अनुसार नै बैठक बस्न लागेको जानकारी दिए।

सांसदहरु बस्ने कुर्सीको दूरी कायम गर्न दायाँ र बायाँ एक मिटर ५० सेन्टिमिटर कायम गरिएको र अगाडि र पछाडि १ मिटर ३० सेन्टिमिटर कायम गरिएको सभामुख सापकोटाले जानकारी दिए।

सभामुख सापकोटाले आजको बैठक नियमित एजेण्डाहरुको अतिरिक्त दलका नेताहरूले शुभकामना दिएपछि समाप्त हुने बताए। उनले वैशाख २८ गते ११ बजे प्रतिनिधिसभाको र १ बजे राष्ट्रियसभाको बैठक बस्नेसमेत जानकारी दिए। २८ गतेको बैठकमा नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धी (प्रिबजेट) प्रस्तुत गर्ने कार्यतालिका छ।

त्यसपछि केही समय स्थागित भएर पुनः बैठक बस्नेछ र प्रिबजेट माथि छलफल सुरु हुनेछ। २९ र ३० गते सम्म छलफल चल्ने सभामुख सापकोटाले बताए। जेठ २ गते राष्ट्रपति विद्यादेवि भण्डारीबाट नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको छ।

जेठ ४ गतेदेखि नीति तथा कार्यक्रम माथि छलफल सुरु हुने छ। छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनेछन्। जेठ १३ गते अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने संवैधानिक व्यवस्था अनुसार नै जेठ १५ गते आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत हुनेछ।

सभामुख सापकोटाले बजेट अधिवेशनमा सांसदहरुको उपस्थिति अधिकतम बनाउने विषयमा आफुले अधिकतम पहल गर्नेसमेत बताए। यस अघिको हिउँदे अधिवेशनका केही बैठकमा गणपुरक संख्या नपुग्दा बैठक स्थागित हुँदै आएकोले कतिपय विधेयक माथिको छलफल नै सम्पन्न हुन सकेको थिएन्।

सोही कुरालाई मध्यनजर गर्दै सभामुख सापकोटाले यसपटक आफ्नो तर्फबाट सकेसम्म भाग लिनको लागि अधिकतम उत्प्रेरीत गर्ने बताए। उनले भने, ‘जनताबाट निर्वाचित, जननिर्वाचित माननिय सदस्यहरुले त्यसमा भाग लिनुपर्छ। त्यसमा भाग लिएर जनताका आवाजहरु वहाँहरुले राख्नुभयो भने २ गते आउने नीति तथा कार्यक्रमलाई धेरै राम्रो सहयोग पुग्छ।

 किनभने के रैछ त जनताको आवाज करोडौं जनताले के चाहेका छन् भन्‍ने कुरा हुन्छ र त्यसमा मलाई लाग्छ वहाँहरुले भाग लिनुहुन्छ भाग लिनका लागि मेरो तर्फबाट सकेजति उत्प्रेरित गर्ने पहल कदमी हुन्छ तर त्यसमा निर्णय गरिरहन पर्दैन।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.