|

बुटवल :  हालसम्म कोरोना संक्रमण पुष्टि भएका रुपन्देही र कपिलवस्तुका २२ जना लकडाउनकै क्रममा लुकिछिपी भारतबाट नेपाल छिरेको पत्ता लागेको छ। 
संक्रमित मध्ये सोमबार पुष्टि भएका रुपन्देही र कपिलवस्तुका १२ जना सबै यहीँ हप्ता भारतबाट स्वदेश फर्केका थिए। 

कपिलवस्तुमा संक्रमण पुष्टि भएका सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेको जिल्लाका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए। यसैगरी रुपन्देहीमा अहिलेसम्म कोरोना पोजेटिभ देखिएका सबै ७ जना भारतबाट आएकाहरु रहेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए। 

रुपन्देहीमा सोमबार ६ जनामा कोरोना पुष्टि भएको छ। समरीमाई गाउँपालिकामा ४ जना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जनामा कोरोना पुष्टि भएको हो।  समरीमाई गाउँपालिका वडा नम्बर ७ बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ जनामध्ये वडा नम्बर १ का एकजना र वडा नम्बर ४ का ३ जनामा कोरोना पुष्टि भएको समरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मुन्सीप्रसाद माझीले बताए। 

भैसागाहन स्थित क्वारेन्टाइनमा रहेका मध्ये वडा नम्बर १ का ४६ वर्षका पुरुष मुम्बईबाट वैशाख २५ गते आएका थिए। उनी लुकिछिपी सीमा पार गरेर आइरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरी क्वारेन्टाइनमा लगिएको थियो। 

यसैगरी सोही क्वारेन्टाइनमा रहेका अन्य तीन जना २६ गते मुम्बईबाट आएका थिए। ४५ वर्ष, २६ वर्ष र ३० वर्ष उमेरका तीनैजना पुरुष वडा नम्बर ४ का हुन् । उनीहरु पनि लुकिछिपी सीमावारी आएका हुन्।  कपिलवस्तु र रुपन्देहीको अधिकांश भूगोल भारतसँग खुल्ला सीमाना छ। उक्त भारतीय पक्षहरुले नेपाल छिर्न दबाब दिइरहेको तर नेपाली पक्षले छिर्न नदिइरहेको अवस्थामा अहिले पनि सयौं मान्छेहरु स्वदेश फर्किने पर्खाइमा कपिलवस्तु र रुपन्देहीका सीमा क्षेत्रमा अलपत्र छन्। यसरी अलपत्रपर्नेहरु नै रातिको समयमा लुकिछिपी नेपाल प्रवेश गरिरहेको बुझिएको छ। 

भैसागाहनस्थित क्वारेन्टाइनमा अहिले ती चार जनासहित ४७ जना रहेका छन्। मर्चवारमा यसअघि कोटहीमाईका एक २५ वर्षिय युवामा कोरोना देखिएको थियो। उनको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ। 

लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासमा रहेको क्वारेन्टाइनमा रहेका ४३ जनामध्ये २ जनामा सोमबार कोरोना पोजेटिभ देखिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.