प्रमुख आयुक्त भन्छन् - अव्यवहारिक भएको कारण अघि बढाउन सकिएन

|
फोटो : दीपक केसी

काठमाडौं : काठमाडौं उपत्यकाको विकासको लागि तयार पारिएको गुरु योजना कागजमा सीमित भएको छ। उपत्यकाको भौगोलिक, ऐतिहासिक, वातावरणीय तथा सामाजिक पक्षको विषयमा २ वर्षको अध्ययनपछि काठमाडौं उपत्यका विकास प्राधिकरणले तयार पारेको गुरु योजना अहिले सोही प्राधिकरणको दराजमा थन्किएको  हो।

२०७१ सालमा भावी सहर, बसपार्क, सपिङ मल, कलेज, अस्पताललगायत निर्माणको कल्पना गरिएर बनाइएको प्रतिवेदन व्यवहारिक नभएको भन्दै अघि बढाइएको छैन।

जापानी दातृ निकाय जाइकाको सहयोगमा तयार पारिएको चार सय पेजको गुरु योजना २०७१ पुस ११ गते शहरी विकास मन्त्रालयमा अन्तर्गतको उपत्यका विकास समितिमा छलफलको लागि पठाइएको थियो। त्यसपछि भने योजना अघि बढ्न सकेको छैन।

तत्कालिन प्रमुख विकास आयुक्त योगेश्‍वर पराजुली भन्छन् 'काठमाडौं उपत्यकाको दीर्घकालीन योजना सहित लामो समयको अध्ययन र अनुसन्धानपछि तयार पारीएको योजना हो, तर किन कार्यान्वयनको चरणमा जान सकेन थाहा भएन।' 'उपत्यकालाई राम्रो र व्यवस्थित बनाऔ भनेर ल्याएको योजना हो कार्यन्वयनमा आउँदा राम्रो हुने थियो तर यसमा म धेरै कमेन्ट गर्दिन'  उनले थपे।

सन् २०१५ देखि ०३५ सम्मको २० वर्षीय गुरुयोजना मन्त्रिपरिषदबाट पारित गराउनु पर्ने भएता पनि मन्त्रिपरिषद नै पुग्न नसकेको कारण अघि नबढेको पराजुली बताउँछन्। 'छिटो मन्त्रिपरिषदबाट पारित गराई कार्यन्वनयमा लैजाने चरणमा थियौ, दुई चार महिनामै भूकम्प गयो, त्यसपछि अलपत्र परेको परै भएको छ' पराजुलीले थाहाखबरसँग भने।

के थियो गुरु योजनामा ?

तत्कालिन प्रमुख विकास आयुक्त पराजुलीको नेतृत्वमा तयार पारिएको २० वर्षे गुरु योजनामा उपत्यका विकासको विभिन्न भागलाई समेट्ने प्रयास गरिएको छ। यस्ता थिए ती योजना : 

  • उपत्यकाको उत्तर–पूर्वतर्फको चाँगुनारायण र आसपासका क्षेत्र ‘अर्बान सिटी’का रूपमा विकास गरिने।
  • पूर्वतर्फको सुडोल, ताथली, चितापोल र दक्षिणतर्फको सिरुटार, लुभु, गोदामचौर, थैब, हरिसिद्धि, धापाखेल, झरुवारासी, सुनाकोठी, थेचो, छम्पी, डुकुछाप, बुङमती, खोकना र दक्षिणकाली क्षेत्रमा नयाँ सहर बसाउने।  
  • सहरका १० ठाउँमा शुपथ मूल्य तरकारी बजार स्थापना गर्ने
  • काठमाडौंको सोह्रखुट्टेमा आधुनिक ट्राफिक केन्द्र बनाउने।  प्रत्येक सहरको ट्राफिक व्यवस्थापनको स्तरोन्नति गर्ने।
  • लोकल बसका लागि विभिन्न ठाउँमा बसपार्क निर्माण गर्ने।
  • वैज्ञानिक ढंगले ट्राफिक सिग्नल निर्माण, राजमार्ग र मुख्य सडकबाट चल्ने बस लोकल गाडी चल्ने सडकमा जान नदिने व्यवस्था गर्ने।

यी लगायत थुप्रै योजना बुनेर बनाइएको चार सय पेजको योजना भने अव्यवहारिक भएको भन्दै काठमाडौं उपत्यका विकास प्राधिकरणको दराजमै थन्क्याएको छ। प्राधिकरणका प्रमुख विकास अायुक्त्त भाइकाजी तिवारीले नै त्यो योजना कार्यन्वनमा आउन नसक्ने बताएका छन्। 

'म प्राधिकरणमा रहेको समयमानै योजना बनाइएको हो, तर अहिले प्रमुख आयुक्तको रुपमा म पुन यहाँ आएको छु त्यो योजना व्यवहारिक छैन त्यसैले पनि अघि बढाइएन' प्राधिकरणका प्रमुख विकास आयुक्त भाइकाजी तीवारीले थाहाखबरसँग भने। 'सपना देखाउने र सपना बाँड्ने भन्दा पनि अहिले के गर्न सकिन्छ भन्ने विषयमा मात्रै मेरो ध्यान केन्द्रित भएको छ' तिवारीले थपे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.