|

दमक (झापा) : लकडाउनले विपन्न वर्गको जीविकोपार्जनमा कठिनाइ भएपछि झापाको दमक नगरपालिकामा एक परिवार, एक रोजगारी कार्यक्रम सुरु भएको छ।
 

दमक नगरपालिकाको वडा नम्बर ३ मा करिब ६०० परिवारलाई लक्षित गरी उक्त कार्यक्रम सुरु भएको हो। कार्यक्रमको पहिलो दिन शनिबार ८५ जना रोजगारीमा संलग्न भएको वडा कार्यालयले जनाएको छ। उनीहरुलाई सोही वडाको हम्सेदुम्से सामुदायिक वनसँगको सहकार्यमा रोजगारी प्रदान गरिएको छ।

दैनिक ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई लक्षित गरिएको कार्यक्रमअनुसार उक्त सामुदायिक वन क्षेत्रमा संलग्न गराइएको हो। वन क्षेत्रमा अहिले वृक्षारोपण गर्ने समय भएकाले वन क्षेत्रमा रहेको झाडी फाँड्ने, आँप बगान गोड्ने, खाल्डो खन्ने कार्य सुरू गरिएको छ। यस कार्यक्रमअनुसार पहिलो चरणमा करिब ६०० परिवारलाई रोजगारी दिइने वडाध्यक्ष नवीन बरालले बताए। सुरक्षाका सावधानी सबै अपनाएर सामाजिक दूरी कायम हुने गरी काम सुरू गरीएको हो।

दैनिक ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आएका एक परिवारलाई दुई दिन रोजगारी दिइने छ। श्रम गर्नेहरुलाई नेपाल सरकारले तोकेको दैनिक ज्याला वा खाद्यान्न दिइने वडासचिव सन्दिप सुवेदीले बताए। श्रम गर्न नसक्ने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा असक्तहरुलाई भने खाद्यान्न राहतनै प्रदान गरिने छ।

सामुदायिक वनका अध्यक्ष हिमालय दाहालका अनुसार श्रमिकलाई सामाजिक दूरी कायम गराउन वन समिति र वडा कार्यालयले निगरानी गर्न हरेक टोलीमा एक जना स्वयंसेवक समेत खटाइएको छ।
 
नगरपालिकाले आगामी वर्षदेखि यही मोडलको कार्यक्रमलाई योजना बनाएर सबै वडामा विस्तार गर्ने जनाएको छ। नगरपालिकाकी प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले वडा नम्बर ३ को कार्यक्रमको नतिजाले अन्य वडामा पनि यो कार्यक्रम विस्तारमा सहयोग पुग्ने बताएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.