|

प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा अहिले निकै नै बहस चलिरहेको छ। अहिले जसरी विवादहरु छताछुल्ल भएका छन्, ती निश्चय पनि दु:खदायी कुरा हुन्। दलका नेताहरुले उम्मेदवार तानातान गर्नु पनि दु:खद् छ। यसरी राजनीतिकरण गरेर बर्दीधारी संगठनहरुमा पदोन्नति हुन थाल्यो भने निश्चित रुपमा आम नागरिकले पाउनुपर्ने सेवा प्रभावित हुनेछ। कसैको वैशाखी बनेर कोही नेतृत्वमा पुग्यो भने आम नागरिकले शान्ति सुरक्षा पाउन सक्दैनन्।

गैर व्यवसायिक रुपमा हुने राजनैतिक निर्णयले संगठनको मनोबललाई अत्यन्तै प्रतिकुल असर पार्दछ। जसका कारण आम नागरिकले यस्ता संगठनबाट पाउने सेवाबाट विमुख हुनुपर्ने अवस्था अाउँछ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाजस्तो बर्दीधारी संगठनमा वरिष्ठताको आफ्नै महत्व हुन्छ। त्यसको अर्थ यो पनि होइन कि कुनै एक पदमा पदोन्नति हुने अवस्थामा वरिष्ठताको आधारमा मात्रै हुनुपर्छ। तर फौजको परम्परा के छ भने, यदि संगठनभित्रको समान पदमा रहेको वरिष्ठ व्यक्ति वा एक नम्बरको व्यक्तिमा संगठन चलाउन सक्ने क्षमता छ, व्यवसायिक ज्ञान र सीप छ, संगठनभित्रका अधिकांश सदस्यले स्वीकार्न सक्छन् अनि नैतिक आचरण ठीक छ भने एक नम्बरकै व्यक्तिलाई संगठन प्रमुख बनाउनु पर्छ।

नियममा जानु भयो भने पहिलो कुरा नै वरिष्ठता, कर्तव्यनिष्टता, संगठनभित्र परिचालन गर्न सक्ने दक्षता र क्षमतालाई हेरेर पदोन्नति गर्नुपर्छ भन्ने छ। त्यसकारण नियमको आधारमा नेतृत्व छान्नुभयो भने निश्चय पनि नेतृत्वले समग्र रुपमा प्रहरीलाई चलाउन सक्छ। सेवा दिने ठाउँमा उसले राम्ररी परिचालन गर्न सक्छ र उसप्रतिको विश्वास पनि संगठनभित्र हुन्छ।

कसैले नियुक्ति दिएको भरमा पद प्राप्त गर्ने होइन। एउटा प्रहरी प्रमुख हुने मानिस ३० वर्ष आम नागरिकको बीचमा काम गरेर र संगठनभित्र काम गरेर नेतृत्व दिन सक्ने बनेको हुन्छ। जसलाई स्वीकार गर्न सकिन्छ। कसैले उचालेर दिएको पदले प्रहरी संगठन नैतिक रुपमा कमजोर हुन्छ।

विगत केही समयदेखि प्रहरी संगठनमा मात्र होइन, विभिन्न प्रशासनिक संयन्त्रमाथि जुन किसिमका नांगो राजनैतिक हस्तक्षेप भएको छ, त्यसको फलस्वरुप प्रशासन वा प्रहरीले दिने सेवालाई प्रतिकुल असर परेको आम नागरिकले अनुभूत गरेका छन्।

राम्रो मान्छे भन्दा पनि हाम्रो मान्छे भनेर प्रहरी संगठनको नेतृत्व बनाउँछ भने त्यो भन्दा दु:खदायी अरु हुनै सक्दैन। सुरक्षाकर्मी आफ्नो काम र सेवाको आधारमा जनतासँग भिजिसकेका हुन्छन्। राजनीतिकर्मीले मेरो र तेरो भनेको भरमा जनतासँग भिज्न सक्दैन।

संगठनभित्रका आफूभन्दा मुनि काम गर्ने पदाधिकारीले प्रत्येक हिसाबले मूल्यांकन गरिरहेको हुन्छ। त्यो नै सबैभन्दा सही मूल्यांकन हो। संगठन प्रमुखले नीतिमा अडेर बोल्नसक्नु पर्छ, अहिले त्यो कुराको अभाव देख्छु। जसरी घरमा बुबालाई नजिकबाट हेर्ने आमा होला, छोराछोरी होला त्यसपछि छिमेकीले होला प्रहरी संगठनको नेतृत्व पनि त्यस्तै हो।

(विकास लम्सालसँगको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.