के छ सहमतीय सरकारको संभावना?

|

विनासकारी भूकम्प गएको वर्ष नाघिसक्यो। तर पीडा हाम्रो साक्षी बनेको छ। भत्किएका घर ठडिएका छैनन्। सरकारबिहीन जस्तो स्थिति छ। गएको जोडामा खुला आकास मुनी हजारौं भूकम्पपीडितको रात बित्यो। यो वर्षातले धेरैलाई भिजाएको छ। पीडितको घाउमा  सरकारको कछुवा गति नुनचुक दलेझै भएको छ। मानवीय संवेदना पटक्कै देखिएन सरकारमा।

दैनिक उपभोग्य बस्तुको भाउ बढेको छ। राजधानीका पेट्रोलपम्पहरुमा अझै उपभोक्त्ता लाइन छ। यत्रतत्र सास्ती छ।

व्यवस्थापिका संसदको शनिबारको बैठकमा सम्बोधन गरिरहँदा प्रधामन्त्रीले ताली बजाउन माग गरे। उनले कतिपय सांसदहरुका प्रश्नलाई मजाकमा उडाइ दिए। हावाबाट विजुली, लोडसेडिङको अन्त्य, रेल गुडाउने सपना, घरघरमा ग्यास पाइप पुर्‍याउने घोषणाबीच ओलीको मजाक अब धेरैलाई सामान्य बन्न थालिसकेको हुनसक्छ।

शासन सत्ता मजाकको विषय बन्न सक्दैन। हावाबाट विजुलीको सपनाले हावा खाइसक्यो। घरघरमा ग्यास पाइप लाइन पुर्‍याउने भाषण घोषणा मात्र बनिसक्यो। लोडसेडिङ अन्त्यमा पनि ठोस प्रगति देखिएन। सिंहदरबारभित्र बेथिति हावी छ। मन्त्रीहरुको अभिव्यक्त्ति मनोमानीपूर्ण छ। तर प्रधानमन्त्री मुकदर्शक बनेका छन्।

राजनीतिक समस्या र संविधान कार्यान्वयन

संविधान जारी भएयता मधेसी मोर्चा आन्दोलनमा छ। उनीहरुको आन्दोलन मत्थर छ। संसद वहिस्कार जारी छ। आन्दोलन शिथिल हुँदैमा उनीहरुले उठाएका मुद्दा समाप्त भएको ठानेका छन् प्रधानमन्त्रीले। मोर्चाका माग सम्बोधन गर्नतर्फ सरकारको ध्यान गएको देखिदैन। बरु सभा-सम्मेलनहरुमा कसरी उनीहरुलाई तेजोबध गर्ने भन्नेमा शक्त्ति खर्चिएका छन् प्रधानमन्त्रीले।

प्रमुख प्रतिपक्ष कांग्रेस आक्रामक बन्दै गएको छ। सरकारमा बसेका मन्त्रीहरु संविधान विरोधी गतिविधिमा लिप्त छन्। यो परिवेशमा यो सरकारले संविधान कार्यान्वयन असंभव देखिएको छ।

सुपरम्यान ठाने प्रधानमन्त्रीले आफूलाई

प्रधानमन्त्री ओलीले आफूलाई सुपरम्यान ठानेका छन्। प्रमुख प्रतपक्षीमात्र होइन सत्तासीन माओवादी केन्द्रले नै यस्तो महसुस गरेको छ यतिबेला। जे गरे मैले गरेँ, यो देशमा मभन्दा अघि कोही थिएन र थिए भने उनीहरुले केही गरेनन्, मैलेमात्र हो यो मुलुक बनाउने भन्ने भाव उनमा देखिन्छ। सत्ता साझेदार दलहरुलाई उनले सहयात्री ठानेनन्।

माओवादी केन्द्रको भोगाइ

सत्तामा रहेको अनुभूति नभएको माओवादी केन्द्रको ठहर छ। बजेट निर्माणजस्ता महत्वपूर्ण काम कारवाहीमा एमाले र प्रधानमन्त्रीले एकलौटी गरेको उसको गुनासो छ। माओवादी मन्त्री रहेको मन्त्रालयमा पनि प्रधानमन्त्रीले हस्तक्षेप गरेको अध्यक्ष प्रचण्डकै गुनासो छ। कार्यकर्तामा सरकारको 'परफरमेन्स' प्रति सन्तुष्टि छैन। द्वन्दकालका मुद्दालाई कानुन बनाएर व्यवस्थापन गर्न सरकारले सकेको छैन। एमाले नै यो विषय मिलाउनभन्दा बल्झाउन उद्दत छ भन्ने ठम्याइ माओवादी केन्द्रको छ। यस अवस्थामा सके आफैं सत्ताको नेतृत्वमा पुग्ने वा नयाँ समीकरण बनाउने योजनामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छन्।

एमाले राजनीति

एमालेको आन्तरिक जीवनमा वरिष्ठ नेता माधवकुमार नेपाल हावी हुँदै गएका छन्। खासगरी जिल्ला अधिवेशनहरुमा उनको समूहको उपस्थिति बलियो हुँदै गएको छ। पार्टी अध्यक्ष बनाउन महत्वपूर्ण योगदान पुर्‍याएका उपाध्यक्ष बामदेव गौतम ओलीसँग टाढिएका छन्। नेपाल समूहले जतिसक्दो छिटो यो सरकार विस्थापित गर्न चाहेको छ। त्यसमा गौतम समूहको साथ छ।

बजेट पारित गरेर एमाओवादीलाई सहमतीय सरकारको नेतृत्व सुम्पने भद्र सहमति भएको एमाले नेता गौतमले सार्वजनिक रुपमै भनिसकेका छन्।

कांग्रेसको चाहना

कांग्रेसले जहिले पनि आफ्नो प्रतिद्वन्द्वी ठानेको छ एमालेलाई। लामो समयसम्म एमालेले सत्ताको बागडोर सम्हालेको उसले देख्न चाहन्न। यो समीकरण लामो समयसम्म जानु र यही सरकारले जुनसुकै प्रकार चुनाव गराउनुमा जोखिम देखेको छ कांग्रेसले। कांग्रेसका नेता तथा कार्यकर्तालाई सरकारको कार्यशैली मन परेको छैन। त्यसैले कांग्रेस सभापति देउवा यो सरकार ढाल्न सहमत छन्। तर कांग्रेसको अहिलेको दाउपेच भनेको ओलीको ठाउँमा शेरबहादुर देउवालाई कसरी आसिन गराउने भन्ने नै हो।

बन्ला त सहमतीय सरकार?

मुलुक फेरि एकपटक सहमतीय सरकारतर्फ उन्मखु हुँदैछ। जुनसुकैबेला माओवादी केन्द्र सरकारबाट बाहिरिनेछ। 'यो स्थिति आउन अब धेरै दिन लाग्ने छैन', स्रोतको दाबी छ। यसका लागि पटकपटक कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको छ। उता प्रधानमन्त्री र प्रचण्डबीचको छलफल र सम्वादमा सौहाद्रता घटदै गएको आम मिडियामा सार्वजनिक भइसकेको छ। 

ओली र प्रचण्डबीचको चर्काचर्कीको स्थितिले नाटकीय मोड नलिएमा केही दिनभित्रै ओली सरकार पतन हुनेछ। तर नयाँ समीकरण के कस्तो बन्छ र सहमतीय सरकार नै होला कि नहोला? भन्नेमा भने अझै स्पष्ट छैन। ओलीले प्रधानमन्त्रीबाट हट्नु परेपछि तत्काल उनले नयाँ सरकारलाई सहयोग गर्ने छैनन्। त्यो ओलीको स्वभाव पनि होइन। तर सहमतीय सरकारको बाधक नबन्ने एमाले नेताहरुको अभिव्यक्त्तिले कांग्रेस र माओवादी केन्द्रसहितका दलहरु एक ठाउँमा उभिए एमालेलाई दबाब भने पर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.