धनकुटा : जिल्ला प्रशासन कार्यालय धनकुटाले धनकुटा बजार क्षेत्रमा लगाइएको सिल हटाएको छ। शुक्रबार बसेको धनकुटा कोभिड १९ कमान्ड फोर्सको बैठकले आइतबारदेखि धनकुटा अस्पताल सञ्चालनमा ल्याइने निर्णय गरेको छ।
गत आइतबार धनकुटा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण भेटिएपछि अस्पतालसहित धनकुटा ७ को त्रिवेणी गेटबाट, बसपार्क, जिरो प्वाइन्ट, परिचय मोड, यलम्बर चोक, सिनेमा हल हुँदै त्रिवेणी चोकसम्मको क्षेत्रलाई जिल्ला प्रशासन कार्यालयले सिल गरेको थियो।
धनकुटा कोभिड १९ कमान्ड फोर्सको बैठकले अनिश्चित कालका लागि बन्द भएको धनकुटा अस्पतालमा शुक्रबार र शनिबार सेनेटराइज गरेर आइतबारदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
यस्तै बैठकले भारत तथा तेस्रो मुलुकबाट आएका मानिसको आकलन गरेर क्वारेन्टाइन स्थल निर्माण गर्ने र धनकुटा अस्पतालभित्र क्वाटरमा बसेकालाई यथास्थानमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ।
धनकुटामा हालसम्म ४ जना स्वास्थ्यकर्मी, २ जना सुरक्षाकर्मी र १ जना स्वास्थ्यकर्मीका परिवार गरी ७ जनामा कोरोना संक्रमण देखिएको छ। कोसी अस्पताल विराटनगरमा उनीहरुको उपचार भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।