बुटवल : शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि गरेका कपिलवस्तुका ८ जनामध्ये एकजना निर्वाचित जनप्रतिनिधि रहेको खुलेको छ।
कपिलवस्तुस्थित वाणगंगाका एक जना वडाध्यक्षमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ। वडाध्यक्षलाई स्वास्थ्यकर्मीको निगरानीमा क्वारेण्टाइनमा राखिएको कार्यालयले जानकारी दिएको छ।
शनिबार नै पुष्टि भएका संक्रमितमध्ये अर्का एकजना भने पत्रकार रहेको खुलेको छ। उनीसँगै हाल कपिलवस्तुमा ३ जना पत्रकारहरुमा संक्रमण देखिएको छ। यसअघि शुक्रबार दुई जना पत्रकारमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो।
शनिबार थपिएका संक्रमित ६ जना वाणगंगा नगरपालिका र २ जना बुद्धभूमि नगरपालिकाका रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ जना नै वाणगंगाका भने पनि स्वास्थ्य कार्यालयले नाम पुष्टि गर्दा दुईजना भने बुद्धभूमिका रहेको पाइएको कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।
कपिलवस्तुका १० स्थानीय तहमा संक्रमितको संख्या ७७ पुगेको छ। प्रदेश ५ मा तीव्ररुपमा कोरोना संक्रमण फैलिरहेका जिल्लामध्ये कपिलवस्तु पनि एक हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।