सुर्खेत : कर्णाली प्रदेशमा थप दुई जनाको स्वाब परीक्षणमा पिसिआर पोजेटिभ देखिएपछि पुन: परीक्षणका लागि नेपालगञ्जको भेरी अस्पताल पठाइएको छ। भारतबाट कर्णाली भित्रिएकामध्ये २ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो।
बबई नाका भएर कर्णाली भित्रने करिब ८ सय भन्दा बढी नागरिकको र्यापिट टेष्ट गरिएको थियो। र्यापिट टेष्टबाट १५ जनाको पोजेटिभ रिपोर्ट आएपछि उनीहरुको पिसिआर गरिएको थियो। पिसिआर गरिएका मध्ये २ जनाको रिपोर्टमा पोजेटिभ देखिएको हो।
शुक्रबार साँझ नै पठाइएको पिसिआरको अन्तिम रिपोर्ट शनिबार दिउँसोसम्म सार्वजनिक हुने स्रोतले जानकारी दिएको छ। सुर्खेतको परीक्षणबाट पिसिआर पोजेटिभ देखिएका एक महिला र एक पुरुषलाई शुक्रबारदेखि नै आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएको छ।
बिहीबार मात्रै दुई हजारभन्दा बढी नागरिक कर्णालीमा भित्रिएका छन्। भारतमा रेल सेवा सुरु भएसँगै त्यहाँबाट कर्णालीवासी आउनेक्रम सुरु भएको छ। रोजगारीका लागि भारतमा रहेका र लकडाउनका कारण समस्या उत्पन्न भएपछि ठूलो संख्यामा कर्णालीबासी स्वदेश फर्कन थालेका छन्। लकडाउन थपिँदै गएका कारण भारतबाट मात्रै कर्णालीमा करिब २७ हजार नागरिक गाउँ फर्कने अनुमान प्रदेश सरकारले गरेको छ।
भारतबाट ठूलो संख्यामा मानिसहरु आउने तयारी गरिरहँदा कर्णालीमा भने तयारी सुस्त देखिएको छ। हालसम्म दश हजार आठसय ८० वटा मात्रै क्वारेन्टाइन निर्माण गरिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्याङ्क अनुसार बिहीबारसम्म प्रदेशभर १० हजार आठसय ८० बेड मात्रै क्वारेन्टाइन तयारी अवस्थामा छन्। यसअघि कर्णालीमा एक जनामा कोरोना पुष्टि भइसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।