कर्णालीमा ११ कोरोना संक्रमित, दैलेखमा कीट अभाव
कर्णालीमा ११ कोरोना संक्रमित, दैलेखमा कीट अभाव
दैलेख : सोमबार दैलेखमा ७ जना कोरोनाका नयाँ संक्रमित फेला परेसँगै जिल्लामा कोरोनाका ८ जना बिरामी पुगेका छन्। त्यस्तै सुर्खेतका ३ जना गरी कर्णालीमा ११ कोरोना संक्रमित पुगेका हुन्। यसअघि कर्णालीका पहिलो संक्रमित पनि भारतबाट आएका थिए।
सोमबार फेला परेका नयाँ संक्रमित ७ जना पनि भारतबाट दैलेख आएका खुलेको छ। नयाँ कोरोना संक्रमण पुष्टि भएका नारायण नगरपालिकाका २ जना पुरुष शुक्रबार जिल्ला भित्रिएका थिए। उनीहरुलाई नगरपालिकाको समन्वयमा भारतबाट दैलेख ल्याइएको थियो।
नारायण नगरपालिकामा फेला परेका नयाँ संक्रमित १५ र १८ वर्षीय पुरुष हुन्। डुंगेश्वर गाउँपालिकामा १ जना महिला गरी ३ जनामा नयाँ संक्रमण फेला परेको हो।
संक्रमण फेला परेका मध्ये २४ र ३५ वर्षीय पुरुष छन्। उनीहरु पनि केही समयअघि मात्र भारतबाट डुंगेश्वर आएका खुलेको छ। सोमबार भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा दैलेखका एक जना महिलासहित ५ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला गरिएको परीक्षणमा दैलेखकै गुराँस गाउँपालिकाका २ जना पुरुष छन्।
चार हजार बढी जिल्ला भित्रिए
लकडाउन अवधिभर अहिलेसम्म चार हजारभन्दा बढी भारतलगायत अन्य मुलुकबाट दैलेख भित्रिएका छन्। उनीहरुलाई स्थानीय सरकारले क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण जारी छ। स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार आइतबारसम्म जिल्ला भर १ हजार ७ सय ३७ जनामा कारोना परीक्षण गरिएको छ।
अहिले जिल्ला भित्रिनेको संख्या वृद्धि हुन थालेपछि स्थानीय सरकारलाई कसरी व्यवस्थापन गर्ने भन्ने परिस्थति सिर्जना भएको छ। बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका पनि राति नै भाग्ने गरेकाले स्थानीय सरकारलाई झनै समस्या बढेको छ।
परीक्षण कीट अभाव
जिल्ला भित्रिनेको संख्या बढेसँगै अहिले दैलेखमा कोरोना परीक्षण गरिने आरडिटी कीट अभाव भएको छ। परीक्षणलाई तीव्रता दिनुपर्ने बेलामा कीट नहुँदा समस्या हुन थालेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निराजन पन्त बताउँछन्।
कर्णालीमा बढी संक्रमित दैलेखका
नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ। तर कर्णाली प्रदेश सबैभन्दा कम संक्रमित भेटिएको प्रदेश हो। जेठ ५ गते दैलेख आठबिस नगरपालिका १ का ३५ वर्षीय युवामा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो। सोमबारसम्म दैलेखका ७ जनामा कोरोनाको पुष्टि भइसकेको छ। जसअन्तर्गत सुर्खेतमा कोरोनाका ३ जना बिरामी छन् भने दैलेखमा ८ जना।
तपाईंको ईमेल गोप्य राखिनेछ ।