वार्तामा बस्‍न तयार रहेको संकेत

|

काठमाडौं : भारतले नेपालसँग देखिएको सीमा विवादबारे गम्भीर रहेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवको तर्फबाट बिहीबार जारी गरिएको एक वक्तव्यमा नेपालसँग पछिल्लो समय देखिएको सीमा समस्याबारे भारतले गम्भीरतापूर्वक अनुगमन गरिरहेको उल्लेख गरेका छन्।

'नेपालसँग पछिल्लो समय देखिएको सीमा समस्या र विवादबारे भारत गम्भीर छ। सीमा मुद्दामा हालैका घटनाक्रमलाई लिएर हामी नेपालमा स्थितिको निगरानी गरिरहेका छौं', उनले वक्तव्यमा भनेका छन्।

भारतीय विदेश मन्त्रालयले नेपालले पनि यस विषयलाई गम्भीरताको साथ लिइरहेको छ भन्‍ने विश्‍वास व्यक्त गरेको छ। 'हामीले पनि यस मामिलामा नेपालमा गम्भीरतापूर्वक से विचार विमर्श भइरहेको कुरामा ध्यान दिइरहेका छौं', उनले भनेका छन्।

भारतसँग नेपालको मित्रताको गहिरो सम्बन्ध रहेको जनाउँदै विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले नेपालसँगको सम्बन्ध सदियौँदेखिको रहेको उल्लेख गरेका छन्। नेपालसँगको ऐतिहासिक, सांस्कृतिक र मैत्रीपूर्ण सम्बन्धलाई भारतले ठूलो महत्त्व दिएको चर्चा पनि उनले गरेका छन्। 

'केही वर्षयता हाम्रा सम्बन्धहरुमा विविधिता आएको छ। दुई देशबीचको सम्बन्धमा नयाँ आयामहरु थपिएका छन्', विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, 'हामीबीचका विविधतायुक्त सम्बन्धले हाम्रो मित्रता झन् प्रगाढ भएको छ। द्विपक्षीय सहयोगका क्रममा कयौँ संख्यामा ठूला परियोजनाहरु भारतको सहयोगमा अहिले कार्यान्वयन भइरहेका छन्।'

भारतले नेपालसँग सधैं विश्‍वासको वातावरण बनाउन चाहेको पनि उल्लेख गरेको छ। 'भारत आफ्ना छिमेकीसँग आपसी सहमतिका साथ विश्‍वासको वातावरण बनाएर अघि बढ्न चहान्छ, यसका लागि हामी सदैव खुला छौं', वक्तव्यमा भनिएको छ, 'यो एउटा  निरन्तर चलिरहने प्रक्रिया हो। यसका लागि रचनात्मक र सकारात्मक प्रयासको आवश्यकता छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.