|
फोटो : रासस

काठमाडौं : झन्डै टाट पल्टिसकेको दुग्ध विकास संस्थानले ४८ औँ वार्षिकोत्सवको अवसर पारेर शनिबार दुई प्रकारको नयाँ उत्पादन सार्वजनिक गरेको छ। ‘दूध चिया’ र गाई भैँसीलाई खुवाइने ‘डिडिसी पशुआहार’ दाना सार्वजनिक गरेको हो। 

किसानलाई गुणस्तरीय दाना उपलब्ध गराई दुधको उत्पादन वृद्धि गर्न र चियाका पारखीलाई लक्षित गरी सन्तुष्टि दिन उक्त वस्तुको उत्पादन तथा बिक्री वितरण सुरु गरिएको संस्थाका अध्यक्ष खिमबहादुर थापाले बताए। ‘दूध चिया’ को मूल्य प्रतिलिटर ६० र दानाको मूल्य प्रतिकिलो ३३ रुपैयाँ निर्धारण गरिएको छ। दाना कारखाना मकवानपुर, हेटौँडा नगरपालिका १० मा स्थापना गरिएको छ। 

सरकारको पूर्ण स्वामित्व भएको दुग्ध विकास संस्थाले उत्पादन गरेको सो दाना मकैको पिठो, चामलको ढुटो, तोरीको पिना, नुन र डिओसी केमिकलको मिश्रणबाट तयार पारिएको छ।

वार्षिक आठ करोड लिटर दूध बिक्री गर्दै आएको डिडिसीले ४४ जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ। दैनिक दुई लाख ५० हजार लिटर दुध किसानबाट सङ्कलन गरी प्रतिदिन एक करोड रुपैयाँ भुक्तानी गर्दे आएको संस्थाका महाप्रबन्धक गङ्गा तिम्सिनाले बताए।  

कार्यक्रममा पशुपक्षी विकास मन्त्री शान्ता मानवीले आगामी तीन वर्षभित्र नेपाललाई दूधमा आत्मनिर्भर बनाइने दाबी गरिन्। सरकारले आर्थिक वर्ष २०७३/०७४ को बजेटमा पशुपंक्षी क्षेत्रबाट उत्पादन लिन आठ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिइन्।

पशुपक्षीको नश्ल सुधार, पौष्टिक दाना तथा आहाराको व्यवस्था, पशुपक्षी स्वास्थ्य सेवा एवम् उत्पादित पशुजन्य पदार्थको बजारीकरण कार्य समानान्तर रुपमा अगाडि बढाउन सरकारले सो रकम विनियोजन गरेको हो। 

मन्त्रालयले घोषणा गरेको ४० बुँदे प्रतिबद्धता पत्रमा आगामी एक वर्षभित्र ‘डेरी डेभलपमेन्ट प्लान’ तयार गरी कार्यान्वयनमा ल्याइने, राष्ट्रिय दुग्ध विकास बोर्डलाई नीति निर्माण, समस्या र सम्भाव्यताको पहिचान, व्यावसायिक योजना, निर्माण र नमुना उत्पादन प्रदर्शन गर्ने समेत उल्लेख छ। 

नेपाली समाजमा प्रतिव्यक्ति प्रतिवर्ष दूध ६४ लि उपभोग भएको पाइन्छ। विश्व खाद्य सङ्गठनका अनुसार प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दूधको आवश्यकता पर्छ । 

सो अवसरमा पशुपक्षी विकास राज्यमन्त्री नरदेवी पुनले पशुपालनबाट मुलुकको गरिबी हट्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.