|

बझाङ : डडेलधुरा अमरगढी नगरपालिका–५ घरभइ बझाङ सदरमुकाम चैनपुरमा होटल ब्यवसाय गर्दैआएका शिवराज पन्त र उनको श्रीमती रीताको संयुक्त खातामा हुलाक बचत बैंकमा १० लाख रुपैयाँ बचत छ। दुई छोराछोरीको गरी पन्त परिवारको ११ लाख सात हजार रुपैयाँ बचत छ। खातामा ११ ला बढी रकम बचत भएर पनि पन्त परिवारले आहेकोबेला एक रुपैयाँ पनि झिक्न पाएका छैनन्। 

पन्त परिवार जस्तै बझाङमा एक हजार सात सय जना बचतकर्ताले बचत गरेको रकम झिक्न पाएका छैनन्। जिल्ला हुलाक कार्यालयका निमित प्रमुख रण बहादुर कठायत र हुलाक बचत बैंक फाँटका कर्मचारी शिवराज उपाध्यायले बचतकर्ताको रकम हिनामिना गरेपछि बचतकर्ता मारमा परेका छन्।

सर्वसाधारणको रकम कठायत र उपाध्यायले हिनामिना गरेको पाइएपछि अख्तियार दुरुपयोग  अनुसन्धान आयोगले दुवै जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि बचतकर्ताले रकम पाउने अनिश्चित बनेको छ।

रकम हिनामिनाबारे अख्तियारले छानविन थालेपछि हुलाक सेवा विभागले गत चैतबाट हुलाक बचत बैंकमा बचतकर्ताले रकम झिक्न र बचत गर्न बन्द गरेको छ। ‘व्यवसायबाट कमाएको सबै रकम हुलाक बचत बैंकमा जम्मा गरियो अहिले चाहिएको बेला झिक्न पाइँदैन’ पन्तले भने,‘कर्मचारीले हिनामिना गरेको भन्छन् खै रकम हात लाग्ने पनि एकिन छैन।’

स्थानीय सीता जोशीले महिलाले दुःख गरेर बचत गरेको रकम चाहिएको बेला झिक्न नपाउँदा निकै तनाव भएको सुनाइन्। पन्त र जोशी जस्ता सयौं बचतकर्ता दिनहुँजसो कार्यालयमा रकमबारे बुझ्न आउने गरेको कर्मचारी यज्ञराज खत्रीले बताए। अख्तियारले अनुसन्धानका क्रममा हुलाक बचत बैंकको दुई करोड ८४ लाख ८९ हजार ९ सय ७१ रुपैयाँ कार्यालय प्रमुख कठायतले र दुई करोड २४ हजार ८ सय ६९ रुपैयाँ उपाध्यायले हिनामिना गरेको भेटिएको जनाएको छ।

खत्रीका अनुसार हुलाक बचत बैंकमा पाँच करोड ६२ लाख ६२ हजार रकम बचत मध्ये अहिले खातामा ७२ लाख मात्र मौज्दात छ। थोरै रकम मात्र हुँदा बचतकर्तालाई दिन नपुग्ने भएकाले विभागले नै तत्कालका लागि खाता रोक्का गरेको उनले जानकारी दिए। 

दुःख गरेर बचत गरेको रकम बैंकबाट झिक्न नपाएपछि बचतकर्ताहरु हुलाकसँगै जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवालाहरुसँग रकम उपलब्ध गरिदिन मागगर्दै धाउने गरेका छन्। सर्वसाधारणको रकम हिनामिनाको आरोप लागेका कठायत र जोशी विशेष अदालतबाट धरौटीमा रिहा भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.