|

जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमितको संख्या दिनानु दिन बढ्दै गइरहेको छ। मंगलबारसम्म सक्रिय संक्रमितको संख्या एक हजार ४१७ पुगेको छ।

संक्रमितमध्ये धेरैजसोलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था रहे पनि भेन्टिलेटरको अभाव रहेको चिकित्सकहरूले बताएका छन्। भेन्टिलेटर रहेको अस्पतालमा दक्ष जनशक्तिको अभावका कारण सञ्चालनमा आएको छैन।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले प्रदेशमा कोरोना संक्रमितको संख्या दिनानु दिन तीव्र रुपमा बढ्दै गए र संक्रमितमध्ये कतिपयलाई आइसियुमा राख्नुपर्ने र केहीलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था रहेको बताए। प्रदेश २ का अधिकांश सरकारी अस्पतालमा भेन्टिलेटर भए पनि तिनलाई सञ्चालन गर्ने दक्ष जनशक्तिको अभाव रहेको उनको भनाइ छ।

सामाजिक विकास मन्त्रालय मातहत रहेको स्वास्थ्य महाशाखा प्रमुख नवल झाले प्रदेश २ मा ४५ वटा भेन्टिलेटर रहेको जानकारी दिए। उनले पनि भेन्टिलेटर सञ्चालन गर्ने दक्ष जनशक्ति अभाव रहेको बताए। वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजमा मात्रै भेन्टिलेटर सञ्चालन गर्ने दक्ष जनशक्ति रहेको झाले बताए। उनले प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको भेन्टिलेटर पनि जेनतेन सञ्चालन हुने गरेको बताए।

स्वास्थ्य महाशाखाका प्रमुख झाले भने, ‘कतिपय अस्पतालमा आइसियु तथा हाइ डिपेन्डेन्सी युनिट (एचडियु) को व्यवस्था रहे पनि जनशक्ति अभावमा सञ्चालन गर्न कठिनाइ छ।’ उनका अनुसार नारायणी उपक्षेत्रीय अस्पतालमा १०, नेशनल मेडिकल कलेजमा १० र प्रादेशिक अस्पताल जनकपुरधाममा ७ वटा भेन्टिलेटर छन्। त्यस्तै‚ महोत्तरीको जलेश्वर अस्पतालमा ५, सप्तरीको राजविराज स्थित अस्पतालमा ४, बाराको कलैया स्थित अस्पतालमा २, रौतहटको गौरस्थित अस्पतालमा ४, सिरहा अस्पतालमा २ र लहान स्थित अस्पतालमा १ थान भेन्टिलेटर छन्।

यस प्रदेशमा ७१ शैय्या आइसियुको व्यवस्था रहेको स्वास्थ्य महाशाखा प्रमुख झाले बताए। प्रादेशिक अस्पताल जनकपुरधाममा १०, नारायणी उपक्षेत्रीय अस्पतालमा १५, वीरगञ्जको नेशनल मेडिकल कलेजमा २६, रौतहटको गौर अस्पतालमा १०, जलेश्वरमा ५ र सिरहामा ५ शैय्याको आइसियस रहेको उनले जानकारी दिए। यस्तै‚ १८१ शैय्याको एचडियुको व्यवस्था छ। प्रमुख झाका अनुसार वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा सबैभन्दा बढी ३१ शैय्याको एचडियु छ। त्यस्तै‚ नारायणी उपक्षेत्रीय अस्पताल, प्रादेशिक अस्पताल जनकपुरधाम र राजविराजस्थित अस्पतालमा २५/२५ शैय्याको एचडियु छ। झाले अन्य जिल्लास्थित अस्पतालमा १५/१५ शैय्याको एचडियुको व्यवस्था गरिएको बताए।

खुला सिमानाको कारण खतरा

प्रदेशका सबै जिल्ला भारतसँग सीमा जोडिएको र सीमा क्षेत्रमा कडाइ नगरिएका कारण दुई साता यता प्रदेशमा संक्रमण दरमा वृद्धि भएको स्वास्थ्यकर्मीहरुको भनाइ छ।

प्रदेश २ का ८ वटै जिल्ला भारतसँग सीमा जोडिएको खुला सिमानाका भएको कारण जुनसुकै बेला मानिसको आवतजावत हुने गर्दछ। वैदेशिक रोजगारीमा जानेको संख्या समेत सबैभन्दा बढी रहेकाले यो प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ। प्रदेश २ सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पूर्णरुपले तयारी अवस्थामा रहेको बताए पनि चिकित्सक भने अझै प्राविधिक रुपले तयार हुन नसकिरहेको बताउँछन्।

प्रदेशभित्र कोरोनाले भयावह रुप लिँदै गएको छ तर प्रदेश सरकारले आइसोलेशन, क्वारेन्टिन र कोभिड अस्पताल बनाउने निर्णय गरे पनि हालसम्म कार्यन्वयनको अवस्था देखिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.