|

बैतडी : लगातारको वर्षका कारण बैतडीका अधिकांश ग्रामिण सडकहरु अवरुद्ध भएका छन्। अधिकांश ठाउँमा पहिरो जाँदा यहाँका ग्रामिण सडकहरु अवरुद्ध भएका हुन्।

वर्षाका कारण सडकहरुमा पहिरो खस्नुका साथै हिलाम्य हुँदा सवारीका साधन चल्न सकेका छैनन्। वर्षाकै कारण शिवनाथ गाउँपालिकाका ग्रामिण सडकहरु अवरुद्ध भएका गाउँपालिकाका उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिइन्। उनले भनिन्,‘सडक अवरुद्ध हुँदा सवारी सञ्चालनमा बाधा पुगेको छ,वडा कार्यालयहरुसँग जोडिएका सडकहरुमा पहिरो र हिलाम्मे छन्।’

वर्षाका कारण जिल्लाको पाटन–पञ्चेश्वर, सतबाँझ–सुर्नया, ढोल्यामोड–सुर्नया, ढोल्यामोड–पुर्चौंडी  देहीमाण्डौं–गिरेगडा, पाटन–सकार–कैलपाल सडक, धर्मघर–सनशेरीमाण्डौं सडक, देहीमाण्डौं–दुर्गाभवानी सडक, देहीमाण्डौं –सुरकाल सडक लगातारको वर्षाका कारण अवरुद्ध भएका हु्न्।

स्तरोन्नतीको काम भइरहेको सतबाँझ–सुर्नया सडकमा जम्मा भएको माटो वर्षाले बगाउँदा उक्त सडकमा सवारी आवागमनमा समस्या भएको अस्थाई ट्राफिक पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए। उनले भने,‘लगातारको वर्षाले सडक हिलाम्य छन्, कुनैकुनै ठाउँमा पहिरो पनि खसेको छ, गाडी चलाउन मिल्ने अवस्था छैन्।’

कच्ची सडकहरुमा वर्षातको समयमा पहिरो खस्ने भएकाले प्रत्येक वर्ष अवरुद्ध हुँदै आएका छन्। सञ्चालनमा रहेका कच्ची सडकहरुमा गाडी चलाउन निकै मुस्किल भएको यातायात व्यवसायीहरुले बताएका छन्।

प्राय सबै ग्रामिण कच्ची सडक अवरुद्ध हुँदा स्थानीयहरुलाई दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ। यसका साथै बिरामी र आकस्मिक कामका लागि जानुपर्नेहरुलाई समेत समस्या भएको छ।

डाङ–कलौना जोड्ने सडक अवरुद्ध हुँदा बोकेरै खाद्यान्न ढुवानी गर्नुपरेको दोगडाकेदार–३ कलौनाका मनीराम गिरीले बताए। उनले भने,‘नयाँ काटिएको सडक थियो, सञ्चालन हुँदा घरसम्मै खाद्यान्न पुग्थ्यो,अवरुद्ध भएपछि बोकेरै लौजानुपरेको छ ।’ बिनास्टमेट र अनावश्यक रुपमा ग्रामिण क्षेत्रमा डोजरले खनिएका सडकहरुले यहाँका गाउँगाउँमा पहिरोको जोखिम समेत बढाएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.