|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सर्वसाधारणले कोभिड–१९ विरुद्धको खोप माग गरेको फारमको थुप्रो लागेको छ। खोप कहिले ? कताबाट आयात हुन्छ ? भन्ने टुङ्गो लागिसकेको छैन।

खोपको माग राख्दै मन्त्रालय धाउनेको संख्या दिनानुदिन बढ्दो छ। कोरोना भाइरसविरुद्ध लड्ने एकमात्र वैज्ञानिक आधार पनि खोप मात्रै भएकाले यसको माग बढेको हो।

सुरुमा कोभिड–१९ विरुद्धको खोप लगाउन आनाकानी गरेका नागरिकहरु अहिले आफूहरुलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग माग गरिरहेका छन्। हालसम्म मन्त्रालयमै पुगेर संस्थागत तथा व्यक्तिगत रुपमा खोपको माग गर्ने पाँच लाख भन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सेवा विभागका अनुसार अहिले सम्म १३ लाख भन्दा बढी नागरिकले अनलाइनमार्फत स्वेच्छिक रुपमा खोपका लागि आवेदन दिइसकेका छन्। सस्थागत रुपमा नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन, नेपाल चेम्बर अफ कमर्स, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, चलचित्र विकास बोर्ड, नेपाल शिक्षक संघ लगायतका विभिन्न संघ संगठनहरुले खोपको माग गरेका छन्।

‘स्कुलको गेट खुल्ने दिनसम्ममा सम्पूर्ण शिक्षकलाई खोप नपाए देशभरका विद्यालय ठप्प पार्छौं, जाँदैनौ हामी’ नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेलले भने ‘ ‘चुनाव गराउन तयार हुने सरकारले खोपको विषयमा हामीलाई  बेवास्ता गर्‍यो, अब हामी सरकारलाई सबक सिकाउछौं।’

उनले विद्यालय सञ्चालन गर्नुभन्दा पहिले सबै शिक्षकले खोप पाउनुपर्ने आफ्नो बटमलाइन भएको बताए। खोप नपाउँदा पनि रिजल्ट, भर्नालगायतका कामहरु नरोकेको भन्दै उनले खोप नपाउँदा सम्म विद्यालय नखोल्ने स्पस्ट पारे।

चलचित्र विकास बोर्डले पनि सम्पूर्ण चलचित्रकर्मीको लागि पाँच हजार डोज खोप मागेको जनाएको छ। ‘हामीले पाँच हजार खोप मागेका छौं, अहिले स्वास्थ्यमन्त्री पनि फेरिए, खोप दिने विषयमा केही जानकारी आएको छैन’ बोर्डका अध्यक्ष दयाराम दाहालले भने ‘केही दिनभित्रै निर्णय आउला। खोप पाउनेमा हामी आशावादी छौं।’

सर्वोच्चले जेष्ठ नागरिकलाई दोस्रो डोजको र अग्रपंक्तिमा रहेका कर्मचारी, पत्रकार लगायतलाई छिट्टै खोप व्यवस्थापन गर्न आदेश दिएको छ। ‘हामीसँग खोप छैन, यस्तो अवस्थामा कसैले आदेश दियो भने पनि खोप दिनसक्ने अवस्था छैन’ परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले भने, ‘मन्त्रालयमा हरेक दिन १५/२० वटा सस्था तथा व्यक्तिहरु खोप माग गर्न आउँछन्। वैदेशिक रोजगारमा जान लागेका, संघसंस्थामा आवद्ध, सरकारी निकाय खोपका लागि मन्त्रालय आउँछन्।’

खोपको माग उच्च भएपछि स्थानीय सरकारले पनि खोपको ताकेता गरिरहेका छन्। केन्द्रीय सरकारले ल्याउन नसकेको खोप स्थानीय निकाय ल्याउन सफल नभएको नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले बताए। उनले भने,‘केही नगरपालिकाले पहल गरिरहेकै छन् तर अहिले सम्म केन्द्रीय सरकार बाहेकले खोप ल्याउन सकेको छैन।’

स्थानीय तहले पनि आफू निकट विदेशी संघसंस्थासँग खोपको लागि पहल गरिरहेका छन्। स्वास्थ्यका सामग्रीहरु सहयोग गरे तत्काल तर खोप सहयोग गर्न उनीहरु पनि असमर्थ नै देखिन्छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले कोरोना विरुद्धको खोप छिट्टै आउने आश्वासन दिए। तर कहाँ बाट ? कहिले ? र कति डोज ? खोप आउने भने एकिन नभएको उनको भनाई छ।

सबैले प्राथमिकताका आधारमा खोप पाउने प्रतिवद्धता जनाएपनि सरकारले खोप भने उपलब्ध गराउन सकेको छैन। जेठ ३० गतेदेखि पेट्रोलियम पदार्थ व्यवसायी र ढुवानीकर्ताले खोपको माग गर्दै सेवा ठप्प पारे। तत्काल खोप नपाए अझैं शसक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए। लगत्तै नेपाल आयल निगम र मजदुरहरु बीचको सहमतिमा निगमले खोप दिने प्रतिवद्धता जनायो।

असार २ गते करिब दुई सय चालक तथा सहचालकले कोभिड १९ विरुद्धको खोप पाए। ‘अब दुई साताभित्रै खोप नेपाल आउने संकेत छ, खोप आए ५५ वर्ष माथिका नागरिक, दोस्रो डोज लगाउन छुटेका व्यक्ति र बाढीपहिरो प्रभावितलाई लगाइने छ’, परिवार कल्याण महाशाखाका निर्देशक डा पोखरेलले भने,‘खोप नपाउँदा सेवा अवरुद्ध गर्ने, आन्दोलन गर्ने प्रवृति गलत छ। जोखिमयुक्त तथा कमजोर उमेर समूहको खोप खोसेर लगाउनु हुँदैन।’

असार १३ गते सम्म २५ लाख ८३ हजार ७ सय ९० जनाले कोभिड १९ विरुद्धको पहिलो मात्रा र सात लाख ५० हजार १ सय ३१ ले दोस्रो डोजको खोप लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.