|
फाइल फोटो।

लमजुङ : बेंसीशहर नगरपालिकाले कृषिलाई व्यवसायिकरण र यान्त्रिकरण गर्दै उत्पादन वृद्धिका लागि अनुदानका कार्यक्रमलाई प्रथामिकता दिएको छ।

चालु आर्थिक वर्ष बजेट कार्यान्वयन र आगामी वर्षको योजनामा समेत किसानहरूलाई प्रोत्साहन गर्दै व्यवसायिक कृषि उत्पादनलाई बढावा दिन नगरपालिकाले अनुदान व्यवस्था गरेको हो। 

कृषि अन्तर्गत विभिन्न शीर्षकमा ५० प्रतिशत अनुदानको कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले चालु वर्षमा कृषि यान्त्रिकरणतर्फ खेतबारी जोत्न १३८ थान हातेट्याक्टर वितरण गरेको छ। नगरपालिकास्तरबाट १०१ र वडास्तरबाट ३७ वटा हातेट्याक्टर किसानको ५० प्रतिशत लगानी रहनेगरी पालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरेको हो। 

कृषकको आवश्यकतालाई मध्यनजर गर्दै किसानहरूकै माग अनुसार तरकारी खेती प्रवर्द्धनका लागि ५० प्रतिशत अनुदानमा टनेल तरकारी खेतीका लागि सिलपोलिन वितरण गरेको छ भने वडा नं. २ मा च्वाइस नेपालको सहयोगमा टनेलखेती प्रवर्द्धन कार्यक्रम समेत सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। 

त्यस्तै, मौरी विकास कार्यक्रम अन्तर्गत मौरीपालक कृषकहरूलाई चालु वर्ष २ सय वटा खाली उपलव्ध गराएको छ भने नगरपालिकाले किसानहरूलाई प्रोत्साहन गर्न सम्मान समेत गर्दै आएको छ।

नगरभित्रका उत्कृष्ट कृषक छनौट गरी चालु वर्षमा १० जनालाई बेंसीशहर मेयर कृषि पुरस्कारले सम्मान गरिएको नगरप्रमुख गुमानसिहं अर्यालले बताए। किसानहरूलाई व्यवसायिक रुपमा अघि बढ्न हौसला प्रदान गर्ने अपेक्षाका साथ नगरपालिकाले मेयर कृषि पुरस्कारको व्यवस्था गरेको नगरप्रमुख अर्यालको भनाइ छ।​

हाल ८८ वटा कृषि फर्म र १४३ कृषक समूह रहेको नगरपालिकाले  जनाएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत कोभिड-१९ ले प्रभावित पारेको श्रमशक्तिलाई कृषितर्फ आकर्षण गर्न विभिन्न कार्यक्रमहरू तय गरेको नगरपालिका उपप्रमुख लक्ष्मीदेवी अधिकारी बताइन्। 

बाँझो जमिनलाई उपयोग गर्दै कृषकहरूलाई यान्त्रिकरण र व्यवसायिकरणमा सहयोग, कृषि उत्पादन वृद्धिका लागि सिँचाइ, मल, बीउ, पूँजी र प्रविधिसम्म सहज पहुँचको पुर्‍याउने र कृषि पेशामा रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम तय गरेको छ। 

आयात न्यून गर्दै स्थानीय बजारको मुख्य हिस्सा आन्तरिक उत्पादनलाई बनाउन व्यवसायिक तरकारी खेती प्रवर्द्धन कार्यक्रम, खाद्य सुरक्षा तथा पोषण सुधार कार्यक्रम, सघन बाली विकास, यान्त्रिकरण र पालिकास्तर बीउ आत्मनिर्भर आयोजना, ग्रामिण जीविकोपार्जन सहयोग कार्यक्रम, बेरोजगार युवा लक्षित कृषि प्याकेज जस्ता कार्यक्रमहरू नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको उपप्रमुख अधिकारीले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.