|

काठमाडाैं : नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको भन्दै आन्दोलनरत कर्मचारीका ट्रेड युनियनहरूलाई अन्य विभिन्न संस्था तथा निकायका कर्मचारी संघ संगठनहरूले ऐक्यबद्धता जनाएका छन्।

नेपाल वायु सेवा निगमलाई निजीकरण गर्नका लागि कम्पनीको प्रबन्ध-पत्र र नियमावली समेत बनाइसकेको र निगमलाई बेच्न लागिएको भन्दै कर्मचारीहरू निरन्तर आन्दोलित छन्।

निजीकरण गर्ने निर्णय फिर्ता लिनुपर्ने र निगमको सञ्चालक समिति सदस्यहरू र महाप्रबन्धकको राजीनामा माग गर्दै वायु सेवा निगममा क्रियाशील ट्रेड युनियनहरू आन्दोलित छन्।

आन्दोलनरत ट्रेड युनियनहरूलाई अन्य विभिन्न संघ, संस्था तथा निकायका कर्मचारी संघ, संगठनले ऐक्यबद्धता जनाउँदै माग पूरा नहुञ्जेलसम्म आन्दोलन नरोक्न आग्रह गरेका छन्।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष जनार्दन शर्माले नेपाल वायु सेवा निगम राष्ट्रिय गौरवको संस्था भएको उल्लेख गर्दै राज्यले यसलाई नाफा, घाटासँग हेर्नु नहुने बताए। वायु सेवा निगमका कर्मचारीहरूको आन्दोलनमा आफूहरूको ऐक्यबद्धता रहेको उनले बताए। 

त्यस्तै आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नेपाल आयल निगम कर्मचारी संघका अध्यक्ष मधुमाश पन्तले भ्रष्ट महाप्रबन्धक नियुक्त गर्ने पार्टी संयन्त्रविरुद्ध धावा बोल्नुपर्ने आवश्यकता रहेको औल्याए। अँध्यारो कोठामा बसेर दिइने नियुक्ति लिएका मानिसहरूले देश र जनताप्रति जिम्मेवार नहुने पनि उनले बताए।

निगमलाई निजीकरणमा लाने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन नरोकिने निगमका आन्दोलनरत कर्मचारीहरूले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.