जग्गा अधिग्रहण पनि हुन सकेन

|

काठमाडौ :  काठमाडौंलाई तराई–मधेशसँग जोड्ने राष्ट्रिय गौरवको बहुचर्चित आयोजना द्रुत मार्ग (फास्ट ट्र्याक) को काम ४ वर्षमा १६ प्रतिशत निर्माण सम्पन्न भएको छ।

२१ वैशाख २०७४ को नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको मन्त्रिपरिषद् बैठकले फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सोहीअनुसार नेपाली सेनाले काम थालेको हो।

त्यसबेला नै चार वर्षमा काम सक्ने भनिएको भए २०७६ साल भदौमा डिपिआर भनिने विस्तृत आयोजना प्रतिवेदन अनुमोदन भएपछि मात्रै वास्तविक रूपमा परियोजना अघि बढेको थियो। यसको कुल अनुमानित लागत १ सय ७५ अर्ब रुपैयाँ रहेको भनिएको थियो। 

नेपाली सेनाले काम सुरु गरेको चार वर्षमा १६ दशमलव १० प्रतिशत काम सम्पन्न भएको छ। कुल कामको १६.२१ प्रतिशत सम्पन्न गर्ने लक्ष्य लिएकोमा दशमलव ११ प्रतिशत भौतिक प्रगति भएको सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए। आयोजनाले सोचेअनुसार प्रगति गर्न नसकेको पौडेलले जानकारी दिए। 

आयोजनाका लागि चालु आर्थिक वर्षमा सरकारले ८ अर्ब ८४ करोड रुपैयाँ छुट्याएको छ। गत आर्थिक वर्षको बजेट ८ अर्ब ९६ करोड ८८ लाख रुपैयाँ थियो। यसमध्ये ९७.३४ प्रतिशत खर्च भएको  प्रवक्ता पौडेलले जानकारी दिए। 

ललितपुरको खोकनाबाट मकवानपुर हुँदै बारा जिल्लाको निजगढसम्म निर्माणाधीन साढे ७२ किलोमिटर सडक द्रुत मार्ग हो। नेपाली सेनाले यसलाई ‘एक्सप्रेस वे’ भनेको छ।

२०७४ सालमा सुरु गरिएको यस आयोजनाको काम आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। बाँकी ८४ प्रतिशत काम तीन वर्षमा पूरा गर्नु पर्नेछ। यसअघि अन्तर्राष्ट्रिय परामर्शदाता छनोट प्रक्रिया, सुरुङ मार्गको ठेक्का सम्झौतामा केही ढिलाइ भएको पौडेलले जानकारी दिए। 

'आगामी तीन वर्षमा आयोजनाको सम्पुर्ण काम सम्पन्न गर्न सकिनेछ,' प्रवक्ता पौडेलले भने, ‘जग्गा विवाद, ठेक्का सम्झौतालगायत कारणले सम्पन्न गर्न नसकिएको हो।’ सबै समस्या समाधान भइसकेकाले आगामी दिनमा तोकिएकै समयमा सम्पन्न हुने उनले विश्वास दिलाए। 

सडकको कुल लम्बाइको ६ दशमलव ४१ प्रतिशत सुरुङ बनाउनु पर्नेछ। सुरुङ मार्गको पहिलो प्याकेज चाइना स्टेट र दोस्रो प्याकेज पोली चाङ्दाले पाएको छ। सुरङ्ग मार्ग इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलमा निर्माण हुँदै छ।

अन्तर्राष्ट्रिय बोलपत्र आह्वानबाट यी कम्पनी छनोट भएका हुन्। जग्गा अधिग्रहण तथा मुआब्जा वितरणसम्बन्धी काम पनि सकिने क्रममा छ। हालसम्म ९१.५ काम सकिएको जनाइएको छ।

खोकना–बुङमती क्षेत्रमा ४ सय २७ रोपनी जग्गा अधिग्रहण हुन सकेको छैन। सैनिक प्रवक्ता पौडेलका अनुसार आयोजनाका लागि कुल ५ हजार १ सय ७२ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा ४ सय २७ रोपनीमा काम सुरु हुन सकेको छैन।

रूख कटान र व्यवस्थापनसम्बन्धी काम सकिएको छ। काटिएको एउटा रूखको साटो २५ वटा नयाँ विरुवा रोप्ने नीतिगत व्यवस्थाअनुसार हालसम्म २ लाख ४९ हजार १ सय ६६ वटा रूख रोपिएको जनाइएको छ।

जंगी अड्डाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार आयोजनामा १४ वटा बेलिब्रिज जडान गर्नुपर्नेमा हालसम्म ८ वटा जडान भई सञ्चालनमा आएका छन्। सुरुङ र पुल निर्माणका लागि आवश्यक पर्ने पहुँच मार्ग निर्माण कार्य जारी छ। 

सो आयोजनामा ४ वर्षमा २५ अर्ब ३९ करोड खर्च भएको छ। जग्गा विवाद समाधान, बजेटको सुनिश्चिततालगायत समस्या समाधान भएको खण्डमा समयमै काम सम्पन्न हुने प्रवक्ता पौडेलले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.