|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ। पार्टी एकताको पहल गर्न भन्दै शनिबार केहीबेर बसेर स्थगित भएको बैठक तुलसीलाल स्मृति प्रतिष्ठानमा आज दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ।

बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे बैठकमा छलफल हुनेछ।

त्यस्तै‚ केही समयभित्र गर्ने भनिएको पार्टीको विधान अधिवेशनको तयारीबारे पनि स्थायी कमिटी बैठकमा छलफल गरिने उनले बताए। बैठकमा सबै स्थायी कमिटी सदस्यहरुलाई खबर गरिएको भन्दै तामाङले अब बैठक जसरी पनि अघि बढ्ने बताए।

‘दुवैतर्फका सदस्यहरु सम्मिलित कार्यदलले तयार गरेको १० बुँदे सहमति पार्टीले अनुमोदन गरिसकेको छ,’ तामाङले भने, ‘अब सोही सहमतिअनुसार पार्टीका विभागलाई पूर्णता, प्रदेश तथा अन्य कमिटी गठन र अनुमोदनको काम अगाडि बढ्छ।’

शनिबार बोलाइएको स्थायी कमिटी बैठकमा पनि पार्टीको माधव नेपाल पक्ष सहभागी भएको थिएन। बैठकमा अध्यक्ष केपी ओलीले विघटित कार्यदलका सदस्यहरुसँग सामान्य छलफल गरेर निस्किएका थिए। ओली पक्षले बोलाएको स्थायी कमिटी बैठकमा नजाने नेपाल पक्षले बताएको छ। विवाद समाधान नभएसम्म बैठकमा बोलाउनु र नबोलाउनुको कुनै अर्थ नरहेको नेपाल समूहका स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.