|

काठमाडौं : काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको बढेको भाडा आजदेखि लागु भएको छ। बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १ देखि  लागु हुने गरी नयाँ भाडादर कायम गरेको थियो।

नयाँ भाडा दरअनुसार काठमाडौं उपत्यकाका सार्वजनिक यातायात चढ्न साथ १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ। उक्त भाडादर पाँच किलोमिटरसम्मका लागि लागु हुने जनाइएको छ। यस्तै‚ १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडा कामय गरिएको छ।

काठमाडौं उपत्यकाबाहेक बागमती प्रदेशका अन्य जिल्लाहरुमा भने २३ प्रतिशतले भाडा वृद्धि गरिएको छ। यो भाडादरमा यात्रुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकिलो पाँच रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन्।

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको २०७८ असार २७ को मन्त्रिस्तरको निर्णयानुसार यातायात व्यवस्था विभागबाट २०७८ असार २९ गते अन्तर प्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानूनी व्यवस्था गरेको थियो। सोहीअनुसार बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गत असोज २० गते काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.