|

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र गम्भीर खतरामा रहेको बताएका छन्।

आइतबार काठमाडौंमा आफूद्वारा लिखित हाते पुस्तक ‘कांग्रेसको अबको बाटो (रूपान्तरणका दश सूत्र)’ सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र गम्भीर खतरामा परेको औँल्याएका हुन्।

कांग्रेस संस्थापन पक्षले निर्वाचनका वेला सत्ताको प्रयोग गर्दै आफू अनुकूल गरिरहेको भन्दै उनले आन्तरिक लोकतन्त्रका लागि खतरा महसुस गरेको बताए।

उनले भने, ‘निर्वाचनका क्रममा सत्ताको प्रयोग भइरहेको हामीले भोग्यौँ। प्रहरी, प्रशासनको बल, छल र सल प्रयोग सत्ताको प्रयोग। यो पनि पार्टीभित्र आन्तरिक लोकतन्त्रका लागि गम्भीर खतरा बनेको महसुस भइरहेको छ।’

वरिष्ठ नेता पौडेलले राजनीतिक दलहरूलाई लोकतन्त्रीकरण गर्नुपर्ने आवश्यकता रहेको बताए। राजनीतिक दलका कारण निमुखा जनताको अधिकारमाथि हस्तक्षेप भएको भन्दै उनले राजनीतिक दलहरूलाई निमुखा जनताको पहरेदार बनाउनुपर्ने बताए।

दलका सदस्यलाई विशेष सहुलियत दिने तर निमुखा जनताको अधिकार कुण्ठित गरिने अवस्था रहनु चिन्ताको विषय भएको उनको कथन छ।

उनले भने, ‘अति दलबन्दीबाट निमुखा जनताको न्याय मरेको छ। निमुखा जनताको अधिकारमाथि हस्तक्षेप भएको छ। मुख्य सत्ताको केन्द्रमा रहेकाको नजिक हुनेको बाहेक अरूको अधिकार कुण्ठित भइरहेको अवस्था छ।’

यो पनि चिन्ताको विषय भएको हुनाले दलहरूलाई नै लोकतन्त्रीकरण गरी साँच्चिकै जनताको पक्षमा काम गर्ने संस्थाको रूपमा विकास गर्नुपरेको उनले बताए।  त्यहीभित्र लोकतन्त्र साकार गरी जनताको अधिकारको रक्षा दलहरूलाई बनाउनुपर्ने आवश्यकता रहेको उनको कथन छ।

‘दलहरूलाई निमुखा जनताको अधिकारको पहरेदार बनाउन आन्तरिक लोकतन्त्र आवश्यक छ। दलहरूभित्रै आन्तरिक लोकतन्त्रको लडाइँ लड्न जरुरी मैले देखेको छु’‚ उनले भने।

वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक प्रक्रियाबाटै निर्वाचित भएर सत्तामा पुग्ने व्यक्तिको असीमित महत्त्वाकांक्षाले लोकतन्त्रमाथि संकट पैदा हुने खतरा रहेकाले यस्तो प्रवृत्तिबाट लोकतन्त्र जोगाउने प्रयत्न गर्नुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.