दैनिक संक्रमित बढ्दा किन संक्रमणमुक्त हुने कम भए

|

काठमाडौं : कोरोनाको तेस्रो लहर सुरु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेको छ।

पछिल्लो समय नेपालमा कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोन समुदायमा पुगेसँगै संक्रमण तीव्र फैलिएको छ।

कोरोनाको पहिलो र दोस्रो लहरमा भन्दा हाल धेरै संक्रमित भएका छन्। पछिल्ला केही दिनयता त परीक्षण गरिएकामध्ये आधा जतिमा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ रहेको छ।

उपत्यकामा मात्रै कोभिड १९ का ४७ हजार २४ जना सक्रिय संक्रमित छन् तर जसरी संक्रमितको संख्या बढेको संक्रमणमुक्त हुने संख्या एकदमै कम छ।

दैनिक १० हजारको दरले संक्रमित थपिँदा दैनिक सातआठ सयको हाराहारीमा संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार शनिबार १० हजारभन्दा बढी संक्रमित थपिँदा ७०८ जना संक्रमणमुक्त भएका थिए।

किन संक्रमणमुक्त हुने कम भए

हाल नेपालमा संक्रमणमुक्त हुने दर ९१ प्रतिशत रहेको छ। पुसको अन्तिम हप्तासम्म संक्रमणमुक्त हुने दर ९७ प्रतिशत थियो।

पछिल्लो केही दिनयता संक्रमित बढे पनि संक्रमणमुक्त हुने दर कम हुनुका मुख्य कारण एकैपटक संक्रमण बढ्दा ती संक्रमितको संक्रमणमुक्त हुने समय नपुग्नु रहेको बताउँछन् टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन।

‘अहिले संक्रमणमुक्त हुनेहरू पुसको अन्तिम हप्तातिरका हुन्‚ त्यस वेला संक्रमित हुने संख्या अहिलेको भन्दा कम थियो, जसले गर्दा अहिले संक्रमणमुक्त हुने संख्या कम छ। अबको एक हप्तापछि संक्रमणमुक्त हुन्छन्। त्यसपछि भने संक्रमणमुक्त हुने संख्या बढ्छ’‚ उनले भने।

अहिले संक्रमित अस्पतालमा हैन समुदायमा छन्

यसअघि कोरोनाको लहरमा र दोस्रो लहरमा ‘डेल्टा’ भेरियन्टका कारण धेरै जना अस्पताल भर्ना हुनुपर्ने अवस्था भएको हुँदा त्यस वेला धेरै संक्रमित अस्पताल र थोरै घर भए पनि अहिले थोरै संक्रमित अस्पताल र धेरै समुदायमा रहेको समेत उनले बताए।

‘दोस्रो लहरमा डेल्टा भेरियन्ट व्यापक थियो, जसले फोक्सोमा धेरै असर गर्थ्यो  र धेरै जना अस्पताल भर्ना हुनुपर्ने अवस्था थियो। अहिले ओमिक्रोन भेरियन्ट छ जुन डेल्टाभन्दा कम असर गर्ने खालको पाइएको छ,जसले गर्दा पनि अहिले संक्रमित अस्पतालभन्दा घरमा छन्’‚ उनले भने।

यस्तै अहिले धेरै संक्रमितहरू अस्पताल आउनुभन्दा पनि फोनबाट परामर्श लिनेहरू धेरै रहेको समेत उनले बताए।

किन बढेको छ मृत्यु हुने संख्या

हाल हाम्रो समुदायमा डेल्टा भेरियन्ट पनि रहेको र सबैले कोरोनाविरुद्धको खोप नलाए हुनाले पनि मृत्युको संख्या बढेको समेत डा. पुनले बताए।

उनले भने‚ ‘अहिले पनि हाम्रोमा डेल्टा भेरियन्ट‚ सबैले खोप लगाएको अवस्था पनि छैन जसले गर्दा अहिले मृत्यु भएकाहरू कुन ओमिक्रोनले मृत्यु भएका हुन् कि डेल्टाले हो भनेर यकिन भन्न सकिँदैन।‘

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.