खोप नलगाएका र डेल्टा भेरिएन्टले मृत्युदर बढ्ने !

|

काठमाडौं : कोभिड–१९ को तेस्रो लहरमा लकडाउन बिना नै कोरोना संक्रमणदर ओरालो लाग्न थालेको देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको विवरणले कोरोना संक्रमणमा कमी आएको देखिएपनि जोखिम कायमै रहेको चिकित्सकहरु बताउँछन्। 
मन्त्रालयले माघ दोस्रो सातामा दैनिक संक्रमितको संख्या २० हजार पुग्ने प्रक्षेपण गरेको थियो।

तर, मन्त्रालयले नै सार्वजनिक गरेको तथ्यांक अनुसार भने तेस्रो लहरमा माघ ६ मा एकै दिन सर्वाधिक १२ हजार ३३८ पुगेको थियो। 

परीक्षण व्यापक नबनाउँदा दैनिक २० हजार संक्रमित नदेखिएको चिकित्सकहरु बताउँछन्। अहिले पनि संक्रमण घटेको देखिए पनि उत्तिकै जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पूर्व प्रमुख डा. बाबुराम मरासिनीको तर्क छ।

‘काठमाण्डौं उपत्यकामा घटेकै हो, तर गाउँ–गाउँमा परीक्षण गर्ने हो भने कोरोना संक्रमित निकै थपिन्छन्।’ डा.मरासिनीले भने ‘चाँडै संक्रमण हुने चाँडै निको हुने खालको रहेछ यो ओमिक्रोन, त्यसैले गर्दा पनि संक्रमण ओरालो लोग्नेतिर देखिन्छ।’

काठमाडौं उपत्यकामा संक्रमण ओरालो लागेको स्वीकार्दै मरासिनीले भने ‘साना शहर र गाउँहरुमा कसरी जान्छ भन्ने यसले सुइँको दिएको छैन। संक्रमण घट्यो भनेर अहिले नै विश्वस्त हुन सक्ने अवस्था आएको छैन।’ 

संक्रमणको ग्राफ ओरालोतर्फ

नेपालमा कोरोना संक्रमणदर विस्तारै ओरालो लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सार्वजनिक विवरण अनुसार गत तीन दिनदेखि संक्रमणको ग्राफ ओरालो लागेको हो।

गत बुधबार २० हजार ३ सयमा परीक्षण गरिएकोमा ८ हजार ४ सय ५४ जनामा संक्रमण देखिँदा संक्रमण दर ४१ दशमलव ५ प्रतिशत थियो।

संक्रमण दर घट्दै बिहीबार ३७ प्रतिशतमा झर्दा ८ हजार १७ जनामा संक्रमण देखिएको थियो। मन्त्रालयका अनुसार शुक्रबार संक्रमण दर ३४ दशमलव ९ प्रतिशतमा झर्दा ६ हजार ८ सय २७ जनामा संक्रमण पुष्टि भयो। 

संक्रमितको मृत्युदर बढ्न सक्ने

ओमिक्रोन भेरियन्टको उच्च संक्रमणको समयमा समेत २/३ जनामा सीमित रहेको मृत्युदर अहिले बढेको छ।

गत तीन दिनकै तथ्यांक हेर्दा पनि गत बुधबार ५ जनाले कोराना संक्रमणकै कारण ज्यान गुमाएका थिए। त्यसकै भोलिपल्ट बिहीबार त्यो संख्या तेब्बरले बढेर १५ जनाको मृत्यु भयो। यस्तै शुक्रबार पनि कोरोनाकै कारण १० जनाको मृत्यु भयो। 

कोरोनाकै कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने स्वास्थ्यविद्हरुको आँकलन छ। टेकुस्थित राष्ट्रिय प्रयोगशालाले संक्रमितमध्ये ८८ प्रतिशतमा कोरोना भाईरसको ओमिक्रोन भेरियन्ट देखिए पनि १२ प्रतिशतमा डेल्टा भेरियन्ट नै पाईएको जनाएको छ। 

१० प्रतिशतमा मात्रै डेल्टा भेरियन्ट भए पनि त्यसको गम्भीरतालाई हेर्दा मृत्य हुनेको संख्या बढ्ने अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पूर्वप्रमुख डा. बाबुराम मरासिनीले गरे। 

‘खोप नलगाएका र डेल्टा भेरिएन्टकै कारणले पनि मृत्युदर बढ्ने देखिन्छ’,उनले भने ‘ डेल्टा भेरिएन्ट बढ्ने घट्नेमा मृत्युदर निर्भर रहन्छ।’

अहिलेको मौसम परिवर्तनले फ्लुको संक्रमण पनि देखिएकाले यसले संक्रमित बिरामीलाई गम्भीर असर पार्ने डा मरासिनीको भनाई छ। 

उनले थपे ‘जाडोबाट गर्मी लाग्ने बेला फ्लु को भाईरस सक्रिय हुन्छ। फ्लु र ओमिक्रोन वा फ्लु र डेल्टा भेरियन्टको संयुक्त संक्रमण भयो भने बिरामीको अवस्था निकै गम्भीर बन्छ।’

खोप अभियान तीव्र नबनाए लक्ष्य पूरा नहुने 

सरकारले लक्षित वर्ग अर्थात् १८ वर्षमाथिका झण्डै २ करोड नागरिकलाई आगामी चैतसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ। तर, लक्षित वर्गकै ३० प्रतिशत मानिसले एक मात्रा पनि खोप लगाउन पाएका छैनन्। 

लक्ष्य पूरा गर्न सरकारलाई अझै साढे २ महिनाको समय छ। तर गत एक वर्षको खोप अभियानको गति हेर्दा तोकिएको समयमा लक्ष्य पूरा गर्न नसकिने देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पनि यहि गतिमा लक्ष्य पूरा नहुने स्वीकार गरे।

‘खोप उपलब्धताको हिसाबले खोप पर्याप्त छ’ सहप्रवक्ता डा. अधिकारीले भने ‘ लक्ष्य पूरा गर्न खोप लगाउने गति बढाउनुपर्छ।’

नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्षमा जम्मा जनसंख्याको ४५ दशमलव ५ प्रतिशतले मात्रै पूर्णमात्राको खोप पाएका छन्।
५४ दशमलव २ प्रतिशतले कम्तीमा एक मात्रा खोप पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

लक्षित वर्गमध्ये अझै ६० लाख ८८ हजार जनाले दुवै मात्राको खोप पाएका छैनन्। पहिलो मात्रा लगाएका २ लाख ६४ हजार ८८५ जनाले दोस्रो मात्राको खोप लगाएका छैनन्। 

नेपालमा हालसम्म ४ करोड २० लाख ४९ हजार ८ सय ४० मात्रा खोप उपलब्ध भएकामध्ये ३ करोड ६ लाख ४ हजार १ सय ५२ मात्रा प्रयोग भइसकेको मन्त्रालयले जनाएको छ। 

शुक्रबार सम्ममा १ करोड ३८ लाख ३३ हजार ६२९ जनाले पूर्ण मात्रा, १ करोड ६४ लाख ७४ हजार ५१४ जनाले कम्तीमा एक मात्रा र २ लाख ९६ हजार ९ जनाले अतिरिक्त मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन्। 

१२ वर्षदेखि १७ वर्ष सम्मका १८ लाख ७२ हजार ६ सय ७० जना बालबालिकाले पहिलो मात्रा र ३ लाख ५८ हजार २ सय ९८ जना बालबालिकाले पुर्ण मात्रा खोप लगाएका छन्।

१२ वर्ष मुनिका बालबालिकालाई दिने खोपका लागि प्रयास भईरहेको सहप्रवक्ता डा. अधिकारीले बताए।  नेपालमा कोभिसिल्ड, अस्ट्राजेनिका, भेरोसेल, जोन्सन एण्ड जोन्सन, मोर्डना र फाइजर खोप प्रयोगमा ल्याइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.