|

म्याग्दी : सडक, संचार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै म्याग्दीका दुर्गम ग्रामीण बस्तीहरुमा नयाँ रौनक छाएको छ।

सहजरुपमा आफ्नै गाउँघरमा नै सम्पूर्ण सुविधाहरु प्राप्त हुँदै गएपछि गाउँलेको जीवनस्तरमा समेत परिवर्तन आएको छ। विकासको पहुँचका कारण चेतना विस्तार भएपछि गाउँलेहरुले सरसफाईमा ध्यान दिन थालेका छन्। विकासले केवल सुविधा मात्रै होइन वर्षौंदेखि ओझेलमा परेका गाउँबस्तीहरुलाई उजिल्याइदिएको छ भने जीवन जीउने नयाँ नयाँ आधारहरुसमेत पहिल्याइदिएको स्थानीयले बताएका छन्।

 घर आँगनमै गाडी,नजिकै विद्यालय,वडा कार्यालयसंगै स्वास्थ्यचौकी, घरघरमा झलमल्ल बिजुली,आफन्तको सन्चोविसन्चो बुझ्न र कुराकानी गर्न हातहातमा मोवाइल,खेतवारीबाट अन्नपात र घाँस पराल बोकेर घर गोठमा पुग्ने ट्याक्टर, मोटरसाइकल म्याग्दीका गाउँवस्तीमा अहिले जताततै देख्न पाइन्छ।

चार-पाँच वर्ष अघिसम्म दुर्गम मानिएका गाउँहरुमा पछिल्लो समय विकासको लहर चलेको छ। यातायातको पहुँचसँगै विकासको परिभाषालाई बुझ्न थालेका म्याग्दीका ग्रामीण भेगका वासिन्दाहरु सडक, शिक्षा, स्वास्थ्य र संचारको सुविधा पनि गाउँमा नै पाए पछि दंग परेका छन्। म्याग्देली ग्रामीण जनताको जीवनशैलीमा नै परिवर्तन देखिएको छ।

स्थानीय तह हुनु भन्दाअगाडि दुर्गम क्षेत्र भएकै कारण कसैको नजर नपर्ने म्याग्दीका मुना, कुइने, ठाडाखानी, रुम लगायतका गाउँहरुमा  सडक सञ्जाल जोडिएको छ।

विकासको महत्वपूर्ण आधार मध्यको एक सडक भएका कारण आफुहरुले प्राथमिकताका साथ योजनाछनौट गरेर सबै वडामा सडक पुर्‍याइएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्।

म्याग्दीका ६ वटा स्थनीय तहहरुमध्ये धवलागिरि गाउँपालका ३ गुर्जामा मात्रै सडक संजालको पहुँच पुगेको छैन। गुर्जामा सडक विस्तारकालागि पनि स्थानीय तह र प्रदेश सरकारबाट काम भैरहेको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन्।

स्थानीयतह गठन भइसकेपछि गाउँ–गाउँमा सडकआएकोले जिल्ला सदरमुकाम बेनीबजार पुग्न तीन दिन लाग्ने ठाउँहरुबाट अहिले दिनमा जाउ–आउ गर्न सकिने भएको कुइनेमंगलेका हरि छन्त्यालले जानकारी दिए।

‘सडकले गाउँको स्वरुप नै परिवर्तन गरिदिएको छ,विकासका पूर्वाधारहरुसँगै मानिसहरुको चेतनास्तरमा पनि सुधार आएको छ’ रघुगंगा गाउँपालिका ६ ठाडाखानीका वडासदस्य समेत रहनुभएका टेकजीत छन्त्यालले बताए। शिक्षा क्षेत्रमा पछि परेको ठाडाखानीलाई  प्राथमिकता दिएर चुहिने विद्यालयलाई पक्की विद्यालयको रुपमा स्तर उन्नति गर्दै आएको छन्त्यालको भनाइ छ।

 दिनभर हिँडेर पाखापानी सम्म पुगेर उपभोग्य सामानको जोहो गर्नुपर्थ्यो। गाउँमाकोही बिरामीपर्दा डोकोमाबोकेर भरिया लगाएर गाउँलेले उपचार गर्न बेनी पु¥याउनु पर्ने बाध्यता हुन्थ्यो , तर अहिले वडा–वडामा स्वास्थ्य सेवाको सहज पहुँच पुगेकोले सहज भएको स्थानीय हिमाली छन्त्यालले बताइन्।

विकाससँगै सचेतना मूलक कार्यक्रम मार्फत बालविवाह रोकथाममा पनि सहयोग पुगेको स्थानीयको भनाइ छ।

अहिले जिल्लाका ६ वटै स्थानीय तहका वडामा रहेका विद्यालयहरुको भौतिक संरचना निर्माण तीव्र रुपमा भैरहेको छ। स्वास्थ्यचौकीहरुमा चिकित्सक र औषधीको पहुँच छ। संचारको पहुँच नपुगेको कुनै वडा नै छैन

सामान्य बिरामी पर्दा समेत सदरमुकाम वा काठमाण्डौं पोखरा पुग्नुपर्ने बाध्यता हट्दै गएको स्थानीयले बताएका छन्। गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेको लगानीका कारण त्यहाँका नागरिकलाई निकै सहज भएको छ।

 टोल टोलमा स्वास्थ्य इकाई स्थापना गरिएपछि गर्भवती सुत्केरी, बालबच्चा, ज्येष्ठ नागरिक तथा असहाय, गरिव, विपन्नवर्गले गाउँका स्वास्थ्य सस्थाबाट सेवा लिइरहेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए।

कहिल्यै मोटर गाडी नदेखेका वृद्धवृद्धाहरु पनि गाउँ घरमा सररर गाडी गुड्दा दंग छन्। हप्तौँ लगाएर नुनचामलबोकेर उपभोग गर्ने गरेको बुढापाकाहरु अहिले गाउँमै सबै सुविधा पाउँदा हर्षित बनेका रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

स्थानीय टेकबहादुर छन्त्याल भन्छन् “पहिले हाम्रो जमानामा यस्तो सुविस्ता थिएन, हामी नुन, चामल लिनको लागि खसौली बटौली पुग्नेगर्थ्यौ, अहिले त घर–घरमै दोकान छन्, उतिबेलाको जस्तो दुख छैन अहिले।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.