|

हेटौंडा : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन्।

चिकित्सा विज्ञान अध्ययन गर्ने विद्यार्थीको पढाइका लागि उपयोगी होस् भन्ने उद्देश्यले प्रदेश प्रमुख शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने निर्णय गरेको जनाएका छन्। शर्मा र उनकी श्रीमती उर्मिला शर्मा चौलागाईँले मृत्यु पछि शरीर दान गर्ने मञ्जुरीपत्रमा हस्ताक्षर गरेका हुन्।

ललितपुरको ग्वार्कोमा बसोबास गर्दै आएका ६६ वर्षीय शर्मा दम्पतीले किष्ट मेडिकल कलेजलाई मृत्युपछि शरीर दान गर्ने निर्णय गरेका हुन्। आठ वर्षदेखि आफ्नो मुटुमा पेसमेकर राखिएकाले सो बारेमा विद्यार्थीलाई अध्ययनका लागि उपयोगी होस् भन्ने अपेक्षाले मृत्युपछि शरीर दान गर्ने निर्णय लिइएको प्रमुख शर्माको भनाइ छ।

मृत्युपछिको शरीर दान गर्नका लागि आवश्यक प्रकृया केही समयअघि देखि थाले पनि शुक्रबार आवश्यक कानुनी प्रकृया पुरा भएको प्रमुख शर्माले बताए।

मृत्युपछि दान गरिएका शव चिकित्सा विज्ञानमा परीक्षणका लागि उपयोगी हुने भएकाले इच्छुक व्यक्तिले शरीर दान गर्न सक्ने किस्ट मेडिकल कलेज प्रशासन शाखाकी सरिता हाडाले जानकारी दिइन्।

नेपालमा मृत्युपछि शरीर दान गर्ने प्रावधान २०७५ साल भदौ १ गतेबाट सुरु भएपछि अहिले विभिन्न क्षेत्रका व्यक्तित्वले मृत्युपछि शरीर दान गर्न इच्छा राखेको आफूहरुकोमा निवेदन दिएको हाडाले बताइन्। प्रधानमन्त्रीसहितका सम्पुर्ण मन्त्रीहरूले पनि अंगदान गर्ने घोषणा गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.