|

काठमाडौं : वासु शशी स्मृति परिषदले आज (आइतबार) ४ जना सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८६औं जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार शैलेन्द्र साकारलाई २०७८ सालको वासु शशी सम्मान प्रदान गरिएको छ। 

वरिष्ठ कविहरू राधेश्याम लेकालीलाई २०७७ सालको र मोमिला जोशीलाई २०७८ सालको वासु शशी साहित्य पुरस्कार प्रदान गरियो। दुवै पुरस्कारमा सम्मानपत्र र नगद २४ हजार रहेको छ। कथाकार ध्रुव मधिकर्मीलाई कुमार-सरस्वती साहित्य पुरस्कार प्रदान गरिएको थियो। 

कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले साहित्यकारहरू साकार, लेकाली, मोमिला र मधिकर्मीलाई सम्मान र पुरस्कार प्रदान गरेका थिए। सो अवसरमा साहित्यिक पत्रिका 'शारदा' को वासु शशी स्मृति विशेषाङ्क विमोचन गरिएको थियो।

प्रमुख अतिथि कुलपति कर्माचार्य, परिषदका अध्यक्ष गणेश रसिकसहित सम्मानित साकार, पुरस्कृतहरू लेकाली, मोमिला र ध्रुव मधिकर्मीले आआफ्नो मन्तव्य राखेका थिए। वासु शशी स्मृति परिषद्का संरक्षक श्रीमती जुलुम वैद्य र कुमार-सरस्वती साहित्य पुरस्कारकी संस्थापक श्रीमती सरस्वती जोशीको पनि उपस्थिति थियो। 

सम्मानित व्यक्तित्व साकार ५ दशकदेखि कविता, कथा सम्पादन र लेखनमा सक्रिय छन्, उनका एक दर्जन साहित्यिक पुस्तक प्रकाशित छन्। ४ दशकभन्दा बढी समयदेखि सक्रिय साहित्यकार लेकालीका कविता, मुक्तक र सम्पादनसहित डेढ दर्जन साहित्यिक पुस्तक प्रकाशित छन्। 

साढे ३ दशकदेखि नेपाली भाषा साहित्यमा क्रियाशील निबन्धकार मोमिलाका कविता, निबन्ध सम्पादनसहित एक दर्जन साहित्यिक पुस्तक प्रकाशित छन्। साढे ४ दशकदेखि सक्रिय साहित्यकार मधिकर्मीका कथा,  लघुकथा, कविता, सम्पादनसहित एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन्। 

परिषद्का अध्यक्ष रसिकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा साहित्यकार गोविन्द गिरि प्रेरणाले वरिष्ठ कवि एवं नाटककार वासु शशी र प्राडा कुमारबहादुर जोशीको परिचय राखेका थिए भने प्रतिष्ठानका सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.