|

काठमाडौं : टाइफाइडविरुद्धको खोप अभियान सुरू भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार काठमाडौंको दरबार हाइस्कुलबाट खोपको शुभारम्भ गरेका हुन्।

कार्यक्रममा प्रधानमन्त्री देउवा र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले संयुक्त रुपमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेका थिए। आजै विद्यार्थीहरूलाई खोप लगाइएको छ।

अभियानका रूपमा भने चैत २४ देखि बैशाख १८ गतेसम्म देशैभरका १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइनेछ। यी उमेर समूहको संख्या करिब ७५ लाख रहेको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशभर ५६ हजार बढी खोप केन्द्र र विद्यालयमा खोप लगाइने छ।

यो खोप सुरु गर्ने नेपाल दक्षिण–पूर्वी एशियामै पहिलो देश बनेको छ। महाशाखाका अनुसार यो अभियानपछि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गरिने र १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गरिनेछ।

यसको संक्रमण सबै उमेर समूहमा देखिए पनि १५ वर्षभन्दा मुनिका बालबालिकामा बढी हुने गरेको छ। यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.