|

म्याग्दी : नेपाली कांग्रेस म्याग्दीले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका छ वटै स्थानीय तहको प्रमुख पदका उम्मेदवार सर्वसम्मत चयन गरेको छ।
बेनी स्थित पार्टी कार्यालयमा बिहीबार साँझ बसेको जिल्ला कार्यसमितिको बैठकले अन्नपूर्ण, धवलागिरि र रघु गंगा गाउँपालिकाको अध्यक्ष तथा अन्नपूर्णको उपाध्यक्षको उमेदवार छनौट गरेको हो।

कांग्रेसले मंगला, मालिका गाउँपालिका र बेनी नगरपालिकामा यस अघि नै उम्मेदवार छनोट गरिसकेको थियो। जिल्लाका उम्मेदवार छनोटमा नेपाली कांग्रेस पहिलो भएको छ।

चारै जनाको नाम सर्वसम्मत छनौट भएको कांग्रेस म्याग्दीका सचिव हिरा पुनले जानकारी दिए। रघुगंगा गाउँपालिकामा बहालवाला गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीलाई दोहोर्‍याएर उमेदवार बनाइने भएको छ।

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पालिका सभापति क्याप्टेन बलबहादुर तिलिजा र धवलागिरि गाउँपालिकाको अध्यक्षमा पालिका सभापति प्रेम पुनलाई उमेदवार बनाउने निर्णय गरिएको सचिव पुनले बताए।

उनका अनुसार अन्नपूर्णको उपाध्यक्षमा नागीकी ललिता तिलिजा पुनलाई उमेदवार छनौट गरिएको छ। रघुगंगाको उपाध्यक्ष शुक्रबारसम्म छनौट गरिने सचिव पुनले जानकारी दिए।

धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको उपप्रमुखको उमेदवार सत्ता साझेदार पाँच दलीय गठबन्धनसँग छलफल गरेपछि टुङ्गो लगाइने सचिव पुनले बताए।

यसअघि बेनी नगरपालिकाको मेयरमा चिरञ्जिवी शर्मा, मालिकाको अध्यक्षमा श्रीप्रसाद रोका र मंगलको अध्यक्षमा बिरेन्द्र बुढाथोकीलाई उमेदवार बनाउने निर्णय भइसकेको थियो।

कांग्रेसले विहीबारसम्म जिल्लाका ४५ वटा वडा मध्ये ३० भन्दा बढीमा वडामा अध्यक्षका उमेदवार छनौट र सार्वजनिक गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.